नाम्जेमा सम्पन्न पर्यटन पत्रकारिता तालिमले गन्तव्य केन्द्रित रिपोर्टिङमा जोड

मिनाक्क्षी राई , ३७  पटक हेरिएको

मोरङ, ३० चैत । धनकुटाको नाम्जेमा सञ्चालन भएको पर्यटन पत्रकारिता तालिम हिजो सम्पन्न भएको छ । ‘कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित उक्त तालिममा प्रदेशभरिका पत्रकारहरू सहभागी भई पर्यटनसम्बन्धी समाचार तथा फिचर लेखनका विविध आयामबारे प्रशिक्षण लिएका थिए ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय धरान र कोशी प्रदेश सरकारको सहकार्यमा सम्पन्न तालिममा सहभागीहरूबीच कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको पहिचान, संरक्षण र प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिकाबारे गहन छलफल भएको थियो । विशेषगरी स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र सम्भावनालाई उजागर गर्ने ढङ्गले प्रभावकारी रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा व्यावहारिक अभ्याससमेत गराइएको थियो ।

तालिमले पत्रकारहरूलाई गन्तव्य केन्द्रित रिपोर्टिङ, तथ्यपरक सामग्री प्रस्तुति र पर्यटनमैत्री समाचार लेखनमा थप सक्षम बनाएको सहभागीहरूले बताएका छन् । प्रदेशका विभिन्न जिल्लाबाट आएका सञ्चारकर्मीहरूले यस्तो तालिमले स्थानीय पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०२६-०४-१३ , समय : ०८:०७:३८ , २ घन्टा अगाडि