प्रशान्त निराैला , ९ पटक हेरिएको
लेटाङ, ३० चैत । मोरङको लेटाङ नगरपालिका–१ राजारानीस्थित धिमाल समुदायको उद्गमस्थलमा आगामी वैशाख २ गतेदेखि परम्परागत जात्री पर्व सुरु हुने भएको छ। झापा, मोरङ र सुनसरीका साथै विश्वका विभिन्न स्थानबाट धिमाल समुदायका मानिसहरू आफ्नो पुर्ख्यौली थलोमा भेला भई यो पर्व मनाउने तयारीमा जुटेका छन्। हरेक वर्ष वैशाख २ गते महाराजस्थानमा पूजा गरेपछि सुरु हुने यो पर्व असार सङ्क्रान्तिसम्म विभिन्न टोलटोलमा मनाइने गरिन्छ।
परम्परागत रूपमा युवायुवतीबीच जीवनसाथी रोज्ने सांस्कृतिक अभ्याससँग जोडिएको जात्री पर्व आधुनिकतासँगै केही परिवर्तन हुँदै गएको छ। पहिले पान, सुपारी र छोकडा आदानप्रदान गरी प्रेम प्रस्ताव राख्ने चलन रहे पनि अहिले मिठाई, जेरी तथा आधुनिक खानाका परिकारको प्रयोग बढेको छ। साथै, मेला स्थलमा मम, चाउमिन, थुक्पा र पिज्जाजस्ता परिकारको व्यापार फस्टाउँदा चिचिरीभात, गेन्द्रो, बगिया, गोरा जस्ता परम्परागत खानाको माग घट्दै गएको स्थानीयले बताएका छन्। परम्परागत पोसाकमा पुरुषको सहभागिता घट्दै जाँदा महिलाहरू पनि पेटानी लगाउने संख्या कम हुँदै गएको देखिन्छ।
प्रकृतिपूजक धिमाल समुदायले रोगव्याधी नलागोस्, बाली राम्रो होस् र प्राकृतिक विपत्ति नआओस् भन्ने कामनासहित महाराजस्थानमा हाँस, कुखुरा, सुँगुरलगायतको बलि दिएर सामूहिक पूजा गर्ने गर्छन्। सालीआमाई, जला आमाई, लक्ष्मीआमाई, सरस्वतीआमाई, टुकुनीआमाई र डिङडिङआमाईलगायत देवीदेवताका साथै चौमाझी देवताको पूजा गर्ने परम्परा रहेको छ। खोलानाला, रुखबिरुवा र माटोको पूजा गर्दै ग्रामपूजाका रूपमा मनाइने यो पर्व धिमाल समुदायको सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा मानिन्छ।
प्रकाशित मिति: २०२६-०४-१३ , समय : १९:१२:२९ , १ घन्टा अगाडि