भारतीय सङ्गीतकी महान् स्वरसम्राट आशा भोसलेको ९२ वर्षको उमेरमा निधन, मुम्बई शोकमा डुब्यो

निरोज ढकाल , ८  पटक हेरिएको

 

भारतीय चलचित्र सङ्गीतकी दिग्गज गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। आठ दशकभन्दा लामो समयसम्म चलेको उनको सांगीतिक यात्राले भारतीय सङ्गीतलाई विश्वस्तरमा चिनाएको थियो। उनको निधनपछि भारतीय कला र सङ्गीत क्षेत्र शोकमा डुबेको छ।

 

शनिबार साँझ अचानक हृदयाघात भएपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकका अनुसार उपचारका क्रममा शरीरका बहु-अङ्गले काम गर्न छोडेपछि आइतबार उनको निधन भएको हो। अस्पताल स्रोतले बताए अनुसार उनको स्वास्थ्य अवस्था उपचारकै क्रममा अत्यन्त जटिल बनेको थियो।

 

परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको अन्तिम समय निकै कठिन रह्यो। उनका छोरा आनन्द भोसलेले आमाको निधनको पुष्टि गर्दै सोमबार बिहान ११ बजे उनको निवासमा श्रद्धाञ्जलीका लागि अन्तिम दर्शनको व्यवस्था गरिने जानकारी दिएका छन्। दिउँसो ४ बजे अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।

 

सन् १९४३ मा सांगीतिक यात्रा सुरु गरेकी आशा भोसलेले भारतीय चलचित्र उद्योगमा हजारौं गीत गाएकी थिइन्। उनले विभिन्न भाषामा गीत गाएर आफ्नो बहुमुखी प्रतिभा प्रदर्शन गरेकी थिइन्। रोमान्टिक गीतदेखि लिएर आधुनिक शैलीका गीतसम्म उनले आफ्नो स्वरले फरक पहिचान बनाएकी थिइन्।

 

उनको स्वर भारतीय चलचित्र सङ्गीतको एक महत्वपूर्ण पहिचान बनेको थियो। समयसँगै उनी केवल गायिका मात्र नभई सङ्गीतको एक युगका रूपमा चिनिन थालिन्। विश्वका विभिन्न देशमा भएका सांगीतिक कार्यक्रममार्फत उनले लाखौं श्रोतामाझ आफ्नो प्रभाव फैलाएकी थिइन्।

 

उनको योगदानका लागि उनलाई भारत सरकारले पद्म विभूषण तथा दादासाहेब फाल्के पुरस्कार जस्ता उच्च सम्मान प्रदान गरेको थियो। सन् २०११ मा गिनिज वर्ल्ड रेकर्ड्सले उनलाई इतिहासकै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारका रूपमा सूचीकृत गरेको थियो।

 

उनको निधनसँगै भारतीय सङ्गीतले एक युग समाप्त भएको अनुभूति गरिएको छ। उनका गीत, स्वर र सिर्जनाले आगामी पुस्तालाई समेत निरन्तर प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: २०२६-०४-१२ , समय : १४:२२:५२ , २ घन्टा अगाडि