घर देखि घाटसम्म निशुल्क शव पु¥याउने दायित्व गाउँपालिकाले लिनेछ –ताराबहादुर काफ्ले

Enepal Patra Pvt. Ltd. , ७१७  पटक हेरिएको

ताराबहादुर काफ्ले ,मध्य मोरङको कानेपोखरी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । २०४९ को स्थानीय निर्वाचनमा तत्कालिन बयरवन गाविसबाट अध्यक्षमा निर्वाचित हुनु भएका ६४ वर्षीय काफ्लेले झण्डै दुई दशक प्राध्यापन समेत गर्नुभयो । गाविस अध्यक्ष हुनु भन्दा अघि गाउँ पञ्चायतको सचिव भएर काम गर्नु भएका काफ्ले नेपालका थोरै सहकारी अभियन्ता भित्र पर्नुहुन्छ । हाल गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं.१ को अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नु भएका बहुआयामिक ब्यक्ति ताराबहादुर काफ्लेसँगको कुराकानी
–निर्वाचित भएर आउनु भएपछिका पछिल्ला साढे ३ वर्षमा भएका प्रमुख कामहरू के के हुन् ?
० विकास निर्माण निरन्तर हुने विषय हुन् । कानेपोखरीमा निर्वाचित भएर आउँदा नेपाल सरकारले गरेको साढे ६ कि.मी. सडक मात्रै कालेपत्रे थियो । हामी आएपछिका साढे ३ वर्षको अवधिमा साढे १८ कि.मि सडक कालोपत्रे भएको छ । ३६ वटा पुल÷कल्भर्ट निर्माण भएका छन् । धेरै सडकहरू ग्राभेल,भएका छन् । मुख्य बजारमा नाला निर्माण गरिएको छ । ८४ परिवारको घरको फुसको छानो हटाएर जस्ता लगाउने व्यवस्था मिलाइएको छ ।
–गाउँबासीले जनप्रतिनिधि आएको अनुभुति हुने गरी के–के काम भए ?
० प्रशासनमा पहुँच नपुगेरै वंसजको नागरिकताबाट बञ्चित भएका नागरिकता विहीन ज्येष्ठ, अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालयको टोली ल्याएर नागरिकता वितरण गरेका छौँ । जटिल खाले रोग लागेका विरामीलाई एक पटकका लागि रोग हेरेर बढीमा ५० हजार रुपियाँसम्म दिने व्यवस्था मिलाएका छौँ । सरकारले चालु आर्थिक वर्षबाट प्राथमिक र पूर्व प्राथमिक तहका विद्यार्थीलाई खाजाको ब्यवस्था गर्ने निर्णय ग¥यो । हामीले २०७४÷०७५ देखि नै बाल कक्षा देखि ३ कक्षा सम्मका विद्यार्थीलाई खाजाको ब्यवस्था गरेका छौं । जसले गर्दा अतिविपन्न र सिमान्तकृत वर्गका विद्यार्थीहरू पनि विद्यालय जान आकर्षित भएका छन् । त्यस्तै छात्रासँग उपमेयर कार्यक्रम सञ्चालित छ । जसले १३–१६ वर्षका किशोरीहरुलाई आफ्ना समस्या आफै राख्न सक्ने बनाएको छ ।
कानेपोखरी जनता आवास कार्यक्रम अन्तरगत साहारा नेपाल र हेल्भीटासको सहकार्यमा २५ वटा घर निर्माण गरी अति विपन्न परिवारलाई आवासको बन्दोवस्त मिलाइएको छ । लक्षित वर्गका उनीहरू नयाँ घरमा बस्न थालिसकेका छन् । वार्ड नं २ थानटोलीबाट शुरु भएको यो कार्यक्रम अरु वडामा पनि बिस्तार गर्दै जाने कार्यक्रम छ । सबै वडाका मधुमेह, उच्च रक्तचाप, थाइराइड, मुटुरोगका रोगीका लागि निःशुल्क औषधिको प्रवन्ध मिलाइने भएको छ । प्रयोगका रुपमा चालु आर्थिक वर्ष देखि २ नं.वडामा यो कार्यक्रम लागु भएको छ ।
–गाउँपालिकालाई समृद्ध बनाउने आधारहरु के के हुन ?
०कानेपोखरी गाउँपालिकाले मूख्यगरी कृषि र पशुउत्पानबाटै समृद्धि प्राप्त गर्न सक्ने देखिएको छ । खासगरी वडा नं १,२ र ३ धानखेतीका लागि उपयुक्त भूगोल भएको ठाउँ हुन् । त्यहाँको जमीनसँग सिंचाई र आधुनिक कृषि प्रविधि जोड्न सकियो भने अझ बढी कृषि उत्पादन लिन सकिन्छ । त्यसतर्फ हामीले केही काम गरिसकेका छौँ । १ नं वडा तोरी उत्पादनका लागि उपयुक्त क्षेत्र मानिन्छ । उत्तरतर्फका वडाहरुलाई तरकारी खेती र पशुपालनसँगै जोडेका छौँ ।उत्तर तर्फ ठूलो बन छ , त्यसकारण त्यहाँ दुग्ध उत्पादनका गाईपालन , मासु उत्पादनका लागि बाख्रापालन, बंगुर र कुखुरा हाँस पालन गर्न सकिने अवस्था छ । माछा र मौरीपालन पनि यस क्षेत्रमा सम्भावना बोकेका कुषि ब्यवसाय हुन् । हामीले माछा, धान खेती, तोरी, पशुपालन र मासु उत्पादनका लागि बेग्लाबेग्लै पकेट क्षेत्र निर्धारण गरेका छौं । र सोही अनुसार कार्यक्रम र बजेट पनि तयार गरेका छौं । यहाँको उत्पादन जति बढी निर्यात गर्न सकियो उति नै आर्थिक रुपमा सबल हुने हौँ । त्यसैले कृषि उत्पादन र पशुपालनका लागि हामीले १ करोड ५० लाख रुपियाँ बजेट छुट्याएका छौँ । तर यो वर्ष कोभिडका कारण अपेक्षा अनुसार काम गर्न सकेका छैनौँ ।
–कोभिड १९ ले कानेपोखरी गाउँपालिकालाई कस्तो असर पार्यो ?
०कोभिडका कारण विश्वनै प्रभावित हुँदा हामीलाई असर नपार्ने कुरै भएन । कोभिड शुरु भएपछि नियमित विकास बजेट कटौति गरेर क्वारेन्टिन निर्माण गर्नुपर्ने अवस्था आयो । जसमा ६५ लाख रुपैयाँ खर्च भयो । ठिक्क उपभोक्ता समितिसँग सम्झौता गर्ने समयमा देशमा बन्दावन्दी शुरु भयो । जसले गर्दा विकास निर्माणका काम समयमा सम्पन्न हुन सकेनन् । ठेक्का लागेका सडक निर्माणका लागि म्याद थपियो, तर बजेट कटौति भयो । संघीय सांसद डाक्टर मीनेन्द्रप्रसाद रिजालबाट प्राप्त बजेट अन्तरगत २ किलोमिटर ७ सय मिटरको जयनेपाल चौक–हरकपुर सम्मको कालोपत्रे सडक २ करोड १८ लाखमा ठेक्का लाग्यो । तर सम्झौता अनुसार काम सम्पन्न हुन सकेन । म्याद त थपियो, समयमा काम सम्पन्न नभएको भन्दै ३७ लाख रुपैयाँ फिर्ता गयो । त्यस्तै संघीय सांसद एवम पर्यटन भानुभक्त ढकाल मार्फत आएको बजेट पनि ११ लाख फिर्ता गयो । गाउँपालिकाले ठेक्का लगाएका सडक निर्माणमा भुक्तानीको दायित्व हाम्रो भएकाले हामीलाई ६८ लाख रुपियाँको दायित्व थपियो । जसले गर्दा हामी दोहोरो मारमा प¥यौं ।
एकातिर कोभिडले गर्दा विकास खर्च कटौति भयो । अर्कोतर्फ समयमा काम सम्पन्न गर्न नसक्दा बजेट फिर्ता गयो । तराई मधेश समृद्धिको बजेट २ करोड रुपियाँ पनि फिर्ता गयो । क्वारेन्टिनमा ३१३ जना राख्यौँ । हालसम्म गाउँपालिकामा ९२ जना पोजेटिभ देखिएका छन् । भने ४ जनाको मृत्यु भएको छ ।
–गाउँपालिकाको विकाशमा देखिएका चुनौतिहरु के के हुन् ?
० खासगरी हामीले नागरिकलाई लोकतान्त्रिक गणतन्त्रमा सपना ठूलो देखायौँ भन्ने लाग्छ । गाउँ–गाउँमा सिंहदरवार भन्ने वित्तिकै नागरिकले सबैथोक सरकारले गरिदिन्छ , जनताले बसेर खानेमात्र हो भन्ने बुझे । तर वास्तविकता त्यो होइन र थिएन । सरकार र नागरिकबीच समन्वय जरुरी छ । कर तिर्नुपर्दछ, यो हाम्रो लागि हो भन्ने चेतना विकास भएन । सकारात्मक सोच नै स्थापित नभएको हो कि भन्ने लागेको छ । गाउँपालिकाको आन्तरिक स्रोत डेढ करोड रुपियाँ हुन्छ । संघीय र प्रदेश सरकारले पठाएको बजेटले मात्र हाम्रो समस्याका चाङलाई एकैपटक सम्वोधन गर्न गाह्रो छ ।
–२०४९ सालमा गाविस अध्यक्ष भएर काम गर्नुभयो, हाल गाउँपालिका अध्यक्ष भएर काम गरिरहनु भएको छ, के भिन्नता पाउनु भएको छ ?
० धेरै फरक छ । विगतमा सिमित अधिकार, सिमित बजेट , सानो क्षेत्र थियो । अहिले अधिकार, क्षेत्र, बजेट र भूगोल पनि बढेको छ । विगतमा एउटा ऐनले मात्र गाविसलाई निर्देशन गर्दैन थियो । हाल गाउँपालिका स्थानीय सासन ऐनद्वारा मात्र निर्देशन छ । अहिले गाउँपालिका संवैधानिक छ, विगतमा स्थानीय विकास मन्त्रालय जिविसबाट सञ्चालित थियो । न्यायिक क्षेत्रमा कुनै अधिकार थिएन । अहिले काम गर्छु भन्दा रोकिनुपर्ने अवस्था छैन ।
–तपाईले कल्पना गर्नुभएको कानेपोखरी गाउँपालिकाको स्वरुप बताइदिनुस ?
० पहिलो कुरा कानेपोखरीमा कृषि र पशुपालनबाट नै समृद्धिको यात्रा तय गर्ने हो । त्यसका लागि भए गरेका काम बताइसकेँ । पर्यटनका लागि संभावित क्षेत्रलाई विकसित गरी त्यहाँबाट आर्थिक लाभ लिन सकिन्छ । त्यसका लागि कालीकोसी, कानेपोखरी जस्ता पर्यटन प्रवद्र्धन गर्न सकिने ठाउँको विकासका लागि ति क्षेत्रको डिपीआ तयार भइरहेको छ । हरेक नागरिकले कुनै न कुनै पेशा ब्यवसाय गरुन । विद्यालय शिक्षा सैद्धान्तिक मात्र भयो । यसले रोजगार सिर्जना गर्न सक्दैन । त्यसैले प्राविधिक शिक्षामा जोड दिनुपर्छ । गाउँपालिकामा प्राविधिक शिक्षा अध्ययन पनि शुरु भएको छ ।गाउँ तीव्र शहरीकरण भइरहँदा सुरक्षा चुनौति बढेको थियो । त्यसका लागि प्रहरीलाई भ्यानको व्यवस्था मिलाइएको छ । गाउँमा आगलागी हुँदै पिच्छे सामाजिक सञ्जालमा गाउँपालिका र अध्यक्षको आलोचना हुने गरेको थियो । यसै वर्ष हामीले वारुणयन्त्र पनि ल्याएका छौँ । चैत सम्ममा एम्वुलेन्स ल्याउने तयारीमा छौँ । गाउँवासीको मृत्युपछि शवबाहन निशुल्क उपलध गराउने तयारीमा छौँ ।घर देखि घाटसम्म निशुल्क शव पु¥याउने दायित्व गाउँपालिकाले लिनेछ । गाउँवासीको साँच्ची कै अभिभावक गाउँपालिका नै हो भन्ने देखिने छ । यसैवर्ष १५ शैयाको अस्पताल १६ करोड ६ लाख ८२ हजार रुपियाँको लागतमा निर्माण थालनी भएको छ । यो पुरा भएपछि कानेपोखरी गाउँपालिका जिल्लाको नमूना गाउँपालिका बन्ने छ ।
–गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नं १ को अध्यक्ष समेत हुनुहुन्छ । महासंघले के काम गरिरहेको छ ?
० महासंघलाई पनि काम गर्ने विषयमा कोभिडले धेरै बाधा पु¥यायो । हामीले गाउँपालिकालाई आवश्यक पर्ने धेरै कानुन ऐन कार्यविधिको नमूना तयार गरेको छौँ । गाउँसभा सञ्चालन गर्ने सिकाई विधि तयार गरेका छौँ । खासगरी प्रदेश नं १ का ८८ वटै गाउँपालिकामा पुगेर नीति निर्माण कार्यविधि तयार, विकासको ढाँचामा एकरुपता गराउने उदेश्य हो । तर कोभिडका कारण हामीले उदयपुर, धनकुटा र मोरङका २३ वटा गाउँपालिकामा मात्र काम गर्न सक्यौँ ।
–सुकुम्वासी भुमिहीन र अव्यवस्थित बसोवासका लागि भइरहेको कामको प्रगती सुनाइदिनु न ?
अहिले हामी प्रारम्भिक चरणको काम गरिरहेका छौं । भूमि सम्वन्धी समस्या समाधान आयोगले पठाएको निर्देशिका अनुसार गाउँ र वडा स्तरीय सहजीकरण समिति गठन भएका छन् । मङसीर २२ गते प्रदेश १ का २८ पालिकाले कामका लागि सम्झौता गरेका छन् । त्यसमा हाम्रो पालिका पनि पर्छ । लगत संकलन कर्मचारी नियुक्ति, पहिचान लगायत काम भएका छन् । हाम्रो पालिकामा जम्मा ५ हजार ८ परिवार भूमिहिन,दलित,भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवास गर्ने परिवार छन् ।जसमा भूमिहीन दलित २२६ परिवार,भूमिहीन सुकुम्वासी ९६८ परिवार र अब्यवस्थित परिवार २ हजार ९८० र लालबावु पण्डित आयोगले जग्गा धनीपूर्जा वितरण गरेर पनि मालपोतमा मोठ कायम नभएका ८३४ परिवार रहेका छन् । यो समस्या समाधानका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति: २०२१-०२-०९ , समय : २०:२६:४१ , ३ वर्ष अगाडि