सुनसरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

Enepal Patra Pvt. Ltd. , ५१०  पटक हेरिएको

बिराटनगर ४ माघ । सुनसरीका अलगअलग स्थानमा भएका सवारी दुर्घटनामा परेर शनिबारराति दुई जनाको मृत्यु भएको छ ।
इटहरी उपमहानगपालिका–२ आँपगाछीस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट जाँदै गरेको को २५ प ६७१६ नम्बरको मोटरसाइकल गलत साइडमा पुगेर ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–१० का ३० वर्षीय विक्रम चेम्जोङको ज्यान गएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ८ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीय साहिल तुलाधर गम्भीर घाइते भएका छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ट्रक र चालक धरान–५ का ४३ वर्षीय अम्बरबहादुर राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका– १ रानीखोलास्थित पकली–रुपनी सडक खण्डमा प्रदेश १–०२–०४१ प ४९७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मोटरसाइकल आफै अनियन्त्रित भएर सडकबाट सय मिटर तल खसेको थियो ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङको कानेपोखरी गाउँपालिका–१ बिहीबारेका अन्दाजी २५ वर्षीय सनम याक्खाको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल रेफर गरिएको थियो । उनको उपचारका क्रममा राति १२ बजेतिर विराटनगरमा ज्यान गएको हो ।
उक्त मोटरसाइकल कानेपोखरी गाउँपालिका–१ घर भई इलाका प्रहरी कार्यालय रंगेली मोरङमा कार्यरत प्रहरी जवान प्रदीप राईले चलाएका थिए । उनको दरबन्दी दंगा नियन्त्रण गण दुहवी सुनसरी हो । दुर्घटनामा परेर प्रहरी जवान राई पनि घाइते भएका छन् । उनको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२१-०१-१७ , समय : १२:०९:५९ , ३ वर्ष अगाडि