रौतहटमा नेपाली कम्युनिष्ट पार्टीको प्रशिक्षण, माधव नेपालले सम्हाले कमान्ड

ईनेपालपत्र संबाददाता , ३  पटक हेरिएको

सञ्जय मिश्रा
रौतहट, ४ भदौ । नेपाली कम्युनिष्ट पार्टीले रौतहटमा संगठन पुनर्संरचना र नेता–कार्यकर्ताको राजनीतिक प्रशिक्षणलाई तीव्रता दिएको छ।

चन्द्रनिगाहपुरस्थित गोल्डेन ब्याङ्क्वेटमा बिहीबार आयोजित जिल्ला समायोजन तथा प्रशिक्षण कार्यक्रम जारी छ।

कार्यक्रमको उद्घाटन पार्टीका केन्द्रीय सह–संयोजक माधवकुमार नेपालले गरेका छन्। जिल्ला तहमा संगठनलाई थप व्यवस्थित बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ।

रामानन्द महतोको अध्यक्षतामा भइरहेको कार्यक्रममा मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादव विशिष्ट अतिथिका रूपमा सहभागी छन्। कार्यक्रममा रौतहट जिल्लाको पार्टी संगठन समायोजन, सांगठनिक संरचना निर्माण, आगामी राजनीतिक कार्यदिशा तथा पार्टी गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ।

त्यसैगरी, नेता तथा कार्यकर्तालाई पार्टीको नीति, विचार, संगठन सञ्चालन र राजनीतिक गतिविधिबारे प्रशिक्षण दिइँदैछ। प्रशिक्षणमार्फत पार्टीको सांगठनिक आधारलाई स्थानीय तहसम्म थप मजबुत बनाउने लक्ष्य लिइएको नेताहरूले बताएका छन्।

रौतहटमा संगठन विस्तारसँगै जनतासँग पार्टीको सम्बन्ध थप सुदृढ गर्ने, स्थानीय मुद्दालाई प्राथमिकतामा राख्ने तथा पार्टी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत कार्यक्रममा छलफल भइरहेको छ।

जिल्ला समायोजन र प्रशिक्षणलाई पार्टीको आगामी राजनीतिक गतिविधिको आधार तयार गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा लिइएको छ। कार्यक्रमले जिल्लामा नेता–कार्यकर्ताबीच समन्वय र एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०८-२० , समय : १८:१७:४३ , ५८ मिनेटutes अगाडि