अन्तर्राष्ट्रिय युवा दिवसमा अपाङ्गता भएका युवाका लागि जलन सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम

निरोज ढकाल , २९  पटक हेरिएको

 

विराटनगर, २८ साउन। अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा विराटनगरमा अपाङ्गता भएका युवाहरूलाई लक्षित गर्दै जलन सचेतना तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

‘असम्भव भन्ने केही छैन’ भन्ने मूल भावनाका साथ लायन्स क्लब अफ विराटनगर रेन्बो, लायन्स क्लब अफ विराटनगर मिड सिटी, लायन्स क्लब अफ विराटनगर गोग्राह र लायन्स क्लब अफ विराटनगर नेक्स्ट जेनेरेसनको संयुक्त आयोजनामा तथा सहारा नेपाल (थ्री जिरो क्लब) को प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।

‘समावेशी समाजको परिकल्पना’ तथा ‘कोही पनि पछाडि नपरून्’ भन्ने भावनाका साथ आयोजित कार्यक्रममा अपाङ्गता भएका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा विराटनगर महानगरपालिकाअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको संस्था सामर्थ्य समाज, अपाङ्गता पुनर्स्थापनाको क्षेत्रमा कार्यरत सामुदायिक पुनर्स्थापना केन्द्र विराटनगर, विभिन्न वडाका मिली-जुली समितिका युवा सदस्यहरू, लायन्स जिल्ला प्रथम उपाध्यक्ष लायन रमेश खत्री, जोन २६ का जोन चेयरपर्सन शिवशंकर मण्डल, नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. विजय साहलगायत विभिन्न लायन्स क्लबका अध्यक्ष तथा पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा जलन विज्ञ तथा स्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले जलनसम्बन्धी सचेतना सत्र सञ्चालन गर्नुभएको थियो। उहाँले जलनबाट बच्ने उपाय, जलन भइहालेमा अपनाउनुपर्ने प्राथमिक सावधानी तथा उपचार सम्बन्धी आवश्यक जानकारी प्रदान गर्नुभएको थियो।

त्यसैगरी जेसीआई तालिम प्रशिक्षक सबिन अधिकारी र सहारा नेपालकी बिमला गुरुङले वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण प्रदान गर्नुभएको थियो। सत्रमार्फत सहभागी युवाहरूलाई आम्दानी–खर्च व्यवस्थापन, बचत, आर्थिक योजना तथा आत्मनिर्भरताका लागि आवश्यक वित्तीय ज्ञानबारे जानकारी दिइएको थियो।

कार्यक्रमका लागि स्थान उपलब्ध गराउनुका साथै आवश्यक सहकार्य, समन्वय र सहयोग प्रदान गरेकोमा नोबेल अस्पताल विराटनगर परिवारप्रति आयोजकहरूले विशेष आभार व्यक्त गरेका छन्।

कार्यक्रमले अपाङ्गता भएका युवाहरूमा जलनसम्बन्धी सचेतना, वित्तीय ज्ञान, आत्मनिर्भरता तथा समावेशी सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकहरूको विश्वास छ।

लायन्स क्लब अफ विराटनगर रेन्बोकी अध्यक्ष लियो लायन आकृति रानी फुयलले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अपाङ्गता भएका युवाहरूलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गर्नुको उद्देश्य उनीहरूलाई आवश्यक ज्ञान, सीप र अवसरसँग जोड्दै समावेशी समाज निर्माणमा योगदान पुर्‍याउनु रहेको बताउनुभयो।

उहाँले ‘समावेशी युवा, समावेशी समाज’ निर्माणका लागि अपाङ्गता भएका युवाहरूको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिनुपर्ने बताउँदै कुनै पनि युवा पछाडि नपर्ने वातावरण निर्माण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा आयोजित कार्यक्रमले ‘असम्भव भन्ने केही छैन’ र ‘कोही पनि पछाडि नपरून्’ भन्ने सन्देशलाई स्थानीय स्तरमा थप सशक्त बनाएको आयोजकहरूको भनाइ छ।

प्रकाशित मिति: २०२६-०८-१३ , समय : ०८:१३:५९ , १ घन्टा अगाडि