काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत तथा चीनसँगको सम्बन्ध र आपसी हितका विषयमा नेपालको धारणा स्पष्ट पारेका छन् ।

भारतीय टेलिभिजन जीन्युजका पत्रकार सुधीर चौधरीलाई अन्तवार्ता दिंदै प्रधानमन्त्री ओलीले भारतसँगको नेपालको सीमा विवाद खासगरि लिम्पियाधुरा, लिपुलेक र कालापानीको क्षेत्र समेटेर जारी गरिएको नयाँ नक्सा, त्यो भूमिमा नेपालको दाबी सम्बन्धि ‘विवाद’को समाधान, चीनसँगको नेपालको सम्बन्ध र चीन तथा भारतको विवादमा नेपालको भूमिका वा चाहना के हो भन्नेबारेमा पनि नेपालको धारणा सार्वजनिक गरेका हुन् ।

अन्तवार्तामा नेपाल पछिल्लो समय चीनतर्फ नजिकिएको र भारतसँग निहुँ खोजिरहेको भन्ने धेरै भारतीय नागरिक र सञ्चारमाध्यमको समेत बुझाइप्रति कुटनीतिक जवाफसहित ओलीले नेपाल के चाहन्छ भन्ने प्रष्ट्याएका हुन् । अन्तर्बार्तामा प्रधानमन्त्री ओलीले जनसँख्या, आकार वा विकाशमा नेपाल भारत वा चीनभन्दा सानो वा पछि हुनसक्ने भएपनि देशका रुपमा समान रहेकाले सवैले नेपालसँग त्यसै आधारमा सम्बन्ध राख्नुपर्ने जवाफ दिएका छन् । उनले कालापानी लिपुलेक र लिम्पियाधुरालगायत विवादित क्षेत्र आफ्नो नक्सामा समेट्दादेखि नै नेपालले आपत्ति जनाएर कुटनीतिक नोट लेखेको, वार्तामार्फत विवाद टुँग्याउन भनेको तर भारतले सुनुवाई गर्नुको साटो त्यहि क्षेत्रबाट सडक निर्माण र उद्घाटन गरेपछि समस्या बढेको बताएका छन् । नेपाल विवादलाई तथ्य र प्रमाणका आधारमा हल गरेर जान तयार रहेको र भारतपनि यसमा तयार हुनुपर्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई पत्रकार चौधरीले घरि फुक्र्याएर, घरि घुमाएर त घरि ब्यँग्य गरेर नेपाल भारतको पक्षमा खुलेर लाग्नुपर्ने, चीनसंग नजिकिनु खतरनाक हुने लगायतका विषयमा प्रश्न गरेपनि प्रधानमन्त्री ओलीले ती सबैमा तार्किक जवाफ दिएका छन् ।
प्रधानमन्त्री ओलीले पत्रकार चौधरीलाई हिन्दी भाषामा दिएको अन्तबार्ताको सम्पादनसहित नेपाली अनुबाद ‌–

प्रश्नः भारत र नेपाल राम लक्ष्मण जस्तै सम्बन्धमा रहे । तपाईँ त रामायणको कुरा पनि बारम्बार गर्नुहुन्छ, अहिले लक्ष्मण रामसँग अब मलाई पनि बराबरीको दर्जा चाहियो भन्न थालेको छ । र यो अचानक भएको हो । अचानक नेपालको मनमा किन यस्तो धारणा आयो ? परिवारमा केही नराम्रो लागेर भाइले दाइसँग म पनि बराबर हुँ भनेजस्तो देखिन्छ । यस्तो अचानक किन भयो ?

जवाफः तपाईँको प्रश्नले पनि बताउँछ कि भारत ठुल्दाजु अर्थात ‘बडा भाइ’ हो । तर भारत बडा भाइ वा राम वा भगवान होइन । भूगोलमा, जनसंख्यामा ठुलो सानो हुन सक्छ तर सार्वभौमिकताका आधारमा सवै देश समान हुन् । हामी (भारत र नेपाल) समान हौं । ‘ठुल्दाजु, सानो भाइ’को अवधारणा वा बुझाइ (सेन्टिमेण्ट) मा केही समस्या छ । हामी सार्वभौमसत्ता सम्पन्न दुई छिमेकी देशका रुपमा आपसि सम्बन्ध चाहन्छौँ । हाम्रो सम्बन्ध यहि तरिकाले जान आवश्यक छ ।

यो उहिल्यैकाे समय होइन । त्यो पूरानो युग सकियो । औपनिवेशिक समय अब छैन । यो पारस्परिक सम्मानको यूग हो । कुनै पनि विषयमा वहश त चल्छ । याे जरुरी पनि छ । किनकी बहशले नै सत्य बाहिर ल्याउँछ । बहश नगरि सत्य पत्ता लगाउन कठीन हुन्छ । सारा विश्व अन्धकारमै रहेकाे बेला, त्रेता युगमा जनकपुरमा यज्ञबल्क, अष्टबक्र, गार्गी लगायत धेरै ऋषी र विदुषी शास्त्रार्थ गर्थे । जीवन जगतको बारेमा छलफल गर्थे । यहीँबाट दर्शन शुरु भयो । अरस्तु भन्दा पनि पहिले दर्शनको शुरुवात यहाँबाट भएको हो । हाम्रो अवस्था यस्तो हो । सत्य पत्ता लगाउन स्वस्थ बहश आवश्यक छ ।

प्रश्नः मतलब, नेपाल भारतलाई बोश मान्न तयार छैन र यसैको वहश भइरहेको हो ?

जवाफः हाँस्दै (केहिबेर रोकिएर) भारत हिजो यस्तो सोच्दो हो, तर आज भारतपनि शायद आफुलाई बोश ठान्दैन होला ।

प्रश्न (बिचैमा): बोश सोच्दैन होला तर भारत नेपाललाई ठुल्दाजु (बडे भाइ) त सम्झन्छ । हाम्रो संस्कारमा पनि ठुलो र सानो भाइको सम्बन्ध र प्रेम छ । तपाइँ ६८ बर्षको हुनुभयो, मोदीजी ७० बर्षको हुनुभयो । उहाँले आफुलाई ठुल्दाजु सम्झनु जायजै होइन ? तपाईँले कुनै पनि बेला उहाँसँग फोनमा कुराकानी गर्न सक्नुहुन्छ होइन र ?

जवाफः हेर्नुस, मोदीजी उमेरले मेरो दाजु हुने कुरा म मान्छु । तर प्रधानमन्त्रीको हैसियतमा चाहिँ यसो होइन । हामी दुई सार्वभौमसत्ता सम्पन्न देशका प्रधानमन्त्री हौं । हाम्रो बराबरी हैसियत हो । ठुलो प्रधानमन्त्री र सानो प्रधानमन्त्री भन्ने हुँदैन । कतिपय देशका प्रधानमन्त्री वा राष्ट्रपती त हामीभन्दा एकदमै सानो उमेरका छन् । हामी राजनीतिमा लाग्दा उनीहरु जन्मेका पनि थिएनन् । तर प्रधानमन्त्री वा राष्ट्रपतिका रुपमा उनीहरुको पनि हैसियत समान हो नि । यसमा मोदीजी पनि असहमत हुनुहन्न । बराबरीको हैसियतमा सम्बन्ध बनाउन मोदीजीलाई कुनै समस्या छैन । तर म मोदीजीको बराबरी हुँ भन्ने कुरालाई लिएर धेरैलाई नराम्रो लाग्छ भने म के गर्न सक्छु र ? म ब्यक्तिको होइन देशको कुरा गरिरहेको छु ।

प्रश्नः अहिले धेरै मानिसलाई नेपाल भारत र चीनको बिचमा फसेको छ, दुबैलाई खुशी राख्नु छ भन्ने लागेको छ । अहिले दुवै देश छलफल गरिरहेका छैनन् । दुवैलाई नेपाल आफुतिर रहिदेओस वा आफ्नो साथ समिकरण बनाएर अघि बढोस भन्ने त पक्कै लाग्दो हो । बेलाबेला त नेपाललाई कुटनीतिक अप्ठ्यारो ‘डिप्लोम्याटिक डिस्कम्फर्ट’ हुँदो हो नि ?

उत्तर: दुवै (भारत र चीन) हाम्रा छिमेकी हुन् । र, छिमेकी बदल्न सकिंदैन । विकाशमा भूगोलमा जनसंख्यामा दुवै देश ठुला हुन्, हामीभन्दा अघि छन् । हाम्रा लागि यो खुशीको कुरा हो । हामीले उत्पादन गर्न सके यी ठुलो देश हाम्रा लागि बजार हुन् । नसके हामीले उनीहरुका सामान उपभोग गर्नुपर्छ । हामीबिच ब्यापारमा असमानता छ । इकोनोमिक र सोसल सिस्टम फरक छन् । हामी सन्तुलन कायम गरेर अघि बढ्छौं । हामी (नेपाल) कुनै कार्ड प्रयोग गर्दैनौं । यसले कसैलाई फाइदा हुँदैन । कसैकाबिरुद्ध हामीले कार्ड खेलेमा तत्कालै यो थाहा पनि भइहाल्छ । त्यसैले पनि यो काम गर्न हुँदैन ।

प्रश्नः म तपाईँलाई भारतीय नागरिकको सेन्टिमेन्ट सुनाउँछु । भारत र चीनबिच गलवान, लद्दाख लगायत ठाउँमा सीमा बिबाद छ । केही समयदेखि बार्ता हुन सकेको छैन । भारत र चीनको सीमारेखा (एलओसी)मा विवाद बढेका बेला अमेरिका, फ्रान्स लगायत धेरै देशले भारतको पक्षमा बोले । तर नेपालले केही बोलेन । यो बेला नेपालले भारतको पक्षमा बोलिदेला भन्ने धेरैजसो भारतीयलाई लागेको थियो । तर उल्टै नेपालले त यहि समयमा मेरो भूमि मलाई चाहियो पो भन्यो त ?

जवाफः तपाईँको कुरा भड्काउने खालको छ । नराम्रो नमान्नु होला । गलवानको विषयमा नेपालको कुनै लिनुदिनु छैन । तपाईलाई सम्झाउँ, कि भारतले आठौं सँस्करणको आफ्नो नक्सा छाप्दा काश्मिर वा लद्दाखको क्षेत्र मात्र सामेल गरेको भए हुन्थ्यो नि । त्यो कुरा त्यहिँ सकिन्थ्यो । नेपालको भूमी त्यहाँ समावेश गर्नुपर्ने केही कारणै थिएन । तर तपाईहरुले त्यो नक्सामा नेपाली भूमि पनि समेट्नुभयो । हामीले त्यसको विरोधमा कुटनीतिक नोट लेखेर आपत्ति जनायौँ । बार्ताका प्रस्ताव राख्दै बार्ताबाट यसको समाधान गरौँ भन्यौं । यसको कुनै सकारात्मक जवाफ भारतबाट आएन । गलवानसँग हाम्रो के लेनादेना ? फेरि तपाईहरुले कालापानी लिपुलेक क्षेत्रमा सडक बनाउनुभयो । त्यसको उद्घाटन गर्नुभयो । हामीले फेरि विरोध गर्यौँ। यो ठीक भएन भनेर कुटनतिक नोट लेख्यौँ । अनुरोध गर्यौँ तर कुनै जवाफ आएन । (हाँस्दै) तपाईँ गलवानसँग हामीलाई किन जोड्नुहुन्छ ?

दोश्रो कुरा, नेपालकाे तटस्थताको नीति छ । दुवै छिमेकीसँग हामी तटस्थ रहँदै आएका छौँ । रहन्छौं नै । भारत र चीनबिच बार्ता नभइनसकेको अवस्थामा हामी बार्ता गर्ने पहल गर्न सक्छौ । चीनका राष्ट्रपति सी जीनपिङ प्रधानमन्त्री ली खछ्याङ्ग वा भारतका प्रम मोदीजीसँग कुराकानी गर्न सक्छौं । मध्यस्थता गर्न सक्छौँ । किनकी दुवै हाम्रा मित्र हुन् । आपसि असमझदारी हटाउँ भनेर हामी पहल गर्न सक्छौ नि । आखिर, सम्बन्धको सबैभन्दा बलियो शक्ति त नै मित्रता हो ।

प्रश्नः तपाईँलाई यो मामिलामा भारत र चीनबिच मध्यस्थता गर्न सक्छु भन्ने लाग्छ ? स्वतन्त्र अम्पायरको भूमिका नेपाललाई मिल्छ जस्तो लाग्छ ?

जवाफः पक्कै पनि ।

प्रश्नः यो कसरि सम्भव छ त ?

जवाफ: हामी तपाईहरु आपसी बार्तामा बस्नुस् भनेर पहल गर्न सक्छौं । हामीबिच उमेरमा एक दुई बर्ष तलमाथि होला तर हामी लामो समयदेखि राजनीतिमा छौँ । हामी साथी नै हौं । यो त सम्भव छ नि ।

प्रश्नः तर यो त तपाईँ सत्तामा रहिरहनुभयो भने त सम्भव छ नि । अब नेपालमा नयाँ चुनाव हुँदैछ । फेरि सत्तामा तपाई नै आउनुहुन्छ भन्ने के ग्यारेन्टी छ र ?

जवाफः योे प्रश्न एकदम राम्रो छ… चुनाबपछि पनि हाम्रो पार्टीले बहुमत ल्याउँछ भन्नेमा म विश्वस्त छु । मूख्य र ठुलो पार्टी हामी नै हुन्छौं । चुनाबपछि पनि शायद सरकारको नेतृत्व मैले नै गर्नुपर्नेछ । म सवैलाई आश्वस्त गर्न चाहन्छु कि चुनाबपछि मैले नेपाल भारतको सम्बन्ध अझ उचाइमा पुर्याउन अझ योगदान गर्न पाउनेछु ।

प्रश्नः अघि म अनुभुतिको कुरा गर्दै थिएँ, भारत र चीन कुनै खेल खेलिरहेका छन् नेपाल अम्पायर छ तर नेपाल भारतीय खेलाडीलाई पटकपटक आउट गराइरहेको छ, छिटो औँला उठारहेको छ । तर चीनीयाँ खेलाडीप्रति नरम छ भन्ने बुझाइ भारतमा छ नि ।

जवाफः यस्तो होइन

प्रश्नः यस्तो इम्प्रेसन छ (भारतमा) ।

जवाफः यो गलत हो । किनभने हामी छिमेकीका बिचमा समान र समस्यारहित सम्बन्ध चाहन्छौँ । भनाइ नै छ नि, हात्ती मिले पनि मैदानमा क्षति हुन्छ नमिले पनि मैदानमै क्षति हुन्छ । दुई देश लड्न लागे भने यसको नकारात्मक असर त हामीलाई पर्छ नै । अबकाे समय एशियाको समय हो । अब आफुले स्वयमकाे विकाश गर्न आवश्यक छ । कुनै अर्को देशको श्रोत साधनको प्रयोग गरेर वा लुटेर विकशित हुने मोडल पूरानो मोडल थियो । यो जमाना अब बदलियो । अब आफै विकाश गर्नुपर्यो । यसका लागि शान्ति, मित्रता र तनाबरहित वातावरण चाहिन्छ । तब मात्र विकाशलाई तिब्र गति दिन सकिन्छ । देशभित्र वा छिमेकमा शान्ति नभए हामो ध्यान र श्राेत त्यता खर्च गर्नुपर्छ । यसले नोक्सान पुर्याउँछ । अतः हामी छिमेकमा राम्रो सम्बन्ध, विश्वासको वातावरण र भरोसायोग्य मित्रता चाहन्छौँ ।

आपसमा सन्देह गरेर हुँदैन । हामी साथी हौँ । सँगै सुतेका छौं तर सन्देह छ भने निद्रा लाग्दैन । उसले केही गर्ला कि भन्ने त्रास हुन्छ नि……

प्रश्नः तपाइलाई अहिले कोसँंग राम्रो निद्रा लागिरहेको छ ? चीन कि भारतसँग ?

जवाफः यो अहिलेको कुरा होइन । नेपाल पहिल्यैदेखि तटस्थताको नीतिका साथ रहँदै आएको छ । कसैको पक्ष लिँदैन । अहिले हाम्रो पक्ष किन नलिएको ? हाम्रो पक्षमा किन नबोलेको ? हाम्रो पक्षमा हुटिङ किन नगरेको ? भन्ने कसैलाई लाग्न सक्छ तर दीर्घकालको नतिजा हेर्ने हो भने हामीले कुनैपनि छिमेकीविरुद्ध हाम्रो आकाश वा भूमि प्रयोग गर्न दिएका छैनौं । हामी सबैको प्रतिरक्षा पर्खालका रुपमा उभिएका छौँ । त्यहि भएर हामी दुवै छिमेकी आ आफ्नो विकास उन्नती प्रगती र बैज्ञानिक विकाश र आपसि सहयोगमा लागुन् भन्ने चाहन्छौँ ।

अब एशियाको जमाना हो । यहाँबाट सभ्यता शुरु भयो । हाम्रो दुवै छिमेकीको इतिहास भूगोल जनसँख्या सबै गौरबपूर्ण छ । यहाँका शासकको कमी खासमा विज्ञान र प्रविधीको विकाशलाई एशियाकोविरुद्ध प्रयोग गरिएकाले समस्या भएको हो । स्टिमर, इन्जिन, हतियारलगायत सबै एशियाको विरुद्ध भयो । यी विश्वका नागरिकका लागि हुनुपर्ने थियो । तर त्यो हुन सकेन।

भारतमा के कमी थियो र गरिब भयो ? हिमालदेखि हिन्द महासागसम्म थियो ? काम गर्ने युवा जनसँख्या थियो । तर, जनसाँख्यिक लाभ लिन सकेन । नेपाल उपनिवेश कहिल्यै बनेन तर गरिबी मै रहनुपर्यो । तर, अब यो जमाना गयो ।

प्रश्नः म जब काठमाडौमा घुम्दै थिए, संस्कृति, भाषालगायत कुराले भारत बाहिर छु जस्तो लागेन । भारतमा त नेपालसँग रोटी बेटीको सम्बन्ध छ भन्ने मान्यता छ । नेपालको सम्बन्ध चीनसँग पनि यस्तो हुन सक्छ ? नेपाली नागरिक सजिलै चीन गएर काम गर्न वा चिनीयासँग विहेवारी गर्न सम्भव छ ? चीन लगानीको राम्रो साथी हुन सक्ला उसँग पैसा हुन सक्छ ? तर भारतसँग जस्तो भावनात्मक सम्बन्ध चीनसँग पनि सम्भव छ र ?

जवाफः हेर्नुस्, मैले यसअघिको अन्तर्बार्तामा पनि यो कुरा भनेको थिएँ कि म नेपालको बारेमा मात्र बोलिरहेको छैन । म हाम्रो सभ्यता, संस्कृति ऋषी, पुर्वज, सन्तलगायतका बारेमा, हिमवत खण्डको बारेमा कुरा गरिरहेकाे । यो विश्वको यस्तो ठाउँ हो जहाँ विश्वकै सुन्दरतम प्रकृति मात्र होइन खानीको प्रचुरता छ । हावापानी यस्तो छ कि यहाँका नागरिक ऋषी, महर्षी विद्वान बन्छन् । यो यस्तो क्षेत्र हो जहाँ तीन हजार बर्ष पहिले नै चिकित्शासास्त्र र सल्यक्रियाको विकाश भएको थियो । चरक संहितामा यसको प्रमाण छ । बाँकी दुनियाँ त अन्धकारमा रहेका बेला यहाँ नवै ग्रहका अवस्थिती, १२ राशी अन्तरीक्ष, ग्रह, उपग्रह, नक्षत्र लगायतबारे हाम्रो पुर्खाले पत्ता लगाएका हुन । न्यूटनभन्दा कम्तिमा ५ सय बर्ष पहिले १२ औँ शताब्दीमै भाष्कराचार्यले गुरुत्वाकर्षणका सिद्धान्त पत्ता लगाएका थिए । तर यो कुराको प्रचार भएन । किनकी यहाँ कलेजहरुको विस्तार भएन ।

तपाईँलाई थाहा छ नालन्दामा किन आगो लगाइएको थियो ? किनभने त्यहाँका सम्राट विरामी भए तर धर्मका कारणले औषधी लिन मिल्दैन भने । नालन्दाका ऋषीले आइडिया लगाए र उनलाई एउटा मोटो किताब दिएछन् । केही दिन यो किताब पल्टारहनु भनेछन् । दुई चार दिनमा उनी ठीक भएछन् । तर उनी यो कसरि सम्भव भयो भनेर चकित परेछन् । उनले ऋषीमुनीहरुलाई सोधे यसको राज के हो ? ऋषीमुनीले भेद खोले कि किताबको पानामा औषधी लगाइएको थियो र थुक लगाउँदै पाना पल्टाउँदा त्यो औषधी सम्राटको मुखमा पर्थ्याे । यो थाहा पाएपछि यस्तो अवस्थामा कसरि हाम्रो धर्म विस्तार हुन सक्छ भनेर सम्राट बिचलित भए । अनि नालन्दामा आगो लाग्याे ।
त्यहाँ ९ लाख पुस्तक जले । चार बर्षसम्म आगो निभेन त्यहाँ । म धर्तिकाे यी भुखण्डकाे कुरा गरिरहेको छु । त्यसैले हामी अनावश्यक कुरामा अल्झिन आवश्यक छैन । हामी ठुलाे दिमाग लिएर अघि बढौँ । छिद्रमा औँला हालेर प्वाल झन् ठुलो नबनाउँ । त्यसलाई टालौँ र अघि बढौँ ।
यसैले भारतीय भाइबहिनीलाई अनुरोध गर्छु हामी कुनै असमझदारी नराखौं । हामी आकारमा सानो ठुलो हौँला तर देश त समान हौँ ।

प्रश्नः केही समयदेखि म तपाईलाई म नियालिरहेको छु । तपाई प्रधानमन्त्री र नेता त हो नै साथै तपाईँ इतिहास र दर्शनको प्राध्यापक पनि हो जस्तो लाग्छ । के अब भारत सरकारले एक प्रधानमन्त्रीसँग मात्र नभएर इतिहासका प्राध्यापकसँग पनि छलफल वा बादबिबाद गर्न आवश्यक छ ?

जवाफः हाँस्दै….जेएनयूले (भारतको जवाहरलाल नेहरु विश्वविद्यालय) ले यस्तो कार्यक्रम राखे हुने ठीक हुन्थ्यो । भारतमा पनि धेरै विद्वान छन् । उनीहरुको खोज विचार र अनुसन्धान अनि जुन पुर्वजका आविष्कार खोज अनुसन्धानको प्रचार जति हुनुपर्ने थियो त्यो भइरहेको छैन ।

प्रश्नः भारतमा सन् २०१४ पछि राष्ट्रबादको लहर आयो, अलग माहोल बन्यो । तपाईँ पनि नेपालमा राष्ट्रबादको चर्चा तथा आफ्नो देशको गौरबको बिस्तार गराउन खोज्दै हुनुहुन्छ ? तपाई बराबरीको सम्बन्धको कुरा गर्दै हुनुहुन्छ, भारतपनि पश्चिमी देश र चीनसँग यस्तै कुरा गरिरहेको छ । यहि क्रममा तपाईँको पहिलो नजर नै भारतमाथि नै परेको हो ?

जवाफः हेर्नुस् कुरो यस्तो हो । अहिलेको समय औपनिबेशिकता र औपनिवेशबादको होइन । अब त्यो सकियो उसको अवशेष पनि मन र मस्तिस्कबाट अब हटाउनुपर्छ । देशको उत्पत्ति इतिहास गौरब र हामीले के दियौँ भन्नेबारे ध्यान दिन आवश्यक छ ।
मन्त्रको पनि मन्त्र मानिने गायत्री मन्त्र नेपालको कोशी नदीको किनार चताराधाममा कौशिक ऋषीले लेखेको हो । यसमा नेपालले गर्व गर्नुपर्छ । ब्यास ऋषीले यहाँ तपस्या गर्थे । त्यो तपोभूमिका साथै ज्ञान भूमि र ध्यान भूमि पनि हो । योग ध्यानको आविष्कार यहीँबाट भएको हो । हाम्रो सामु गौरब गर्ने धेरै कुरा छन् ।

प्रश्नः भारतमा कतिपय मानिस यो क्षेत्रलाई अखण्ड भारतको अवधारणमा समेट्नुपर्ने बनाउँछन् । तपाईँ यसमा सहमत हुनुहुन्छ ?

जवाफः अहँ छैन । इतिहास पछाडी जाँदैन । अखण्ड भारत भन्ने कुरा कहिँपनि र कहिल्यैपनि थिएन । छँदै थिएन । तपाईँले इतिहासमा पढेको हुनुपर्छ, परापुर्व कालमा पनि द्रुपद, विराट, जनकका आ आफ्नै देश थिए । अरुपनि हजारौँ देश थिए । तर यो क्षेत्र एउटै देश त कहिल्यै थिएन …….

प्रश्नः हाँस्दै तपाईँ अयोध्याको बारेमा पनि कुरा उठाउनुहुन्छ नि……..

जवाफः हामीले अयोध्याका बारेमा पनि विवाद सिर्जना गर्न खोजेको होइन । यसमा पुर्वाग्रह छैन । कुनै झमेला गर्न खोजेको होइन । रामको पवित्र भूमि जहाँ हो त्यसको खोज गरौँ र त्यही पवित्र भूमिकै माटोको टीका लगाउँ भनेकाे हाे । अर्को ठाउँलाई अयोध्या भनेर मान्नु टीका लगाउनु त राम्रो होइन नि ।

प्रश्नः तपाईँ कुनै ऐतिहासिक विषयलाई राजनीति र कुटनीतिमा प्रयोग त गर्न खोजिरहनुभएको छैन ?

जवाफः होइन, होइन । म तपाईँलाई यहि कुरा भन्न खोजिरहेको थिएँ । भारत बर्ष भन्नु र अखण्ड भारत भन्नु एकै कुरा होइन । भारत बर्षभित्र हजारौँ राज्य थिए । एकै मात्र राज्य थिएन । ‘कल्चरल्ली युनिफाइड भारत’ भयो होला तर याे भूभागमा त्रेयायुग द्वापर युगमा पनि एक मात्र राज्य थिएन । त्यसबेला राज्य बन्ने र टुट्ने भइरहन्थ्यो । त्यसैले भारत एक राज्य कहिल्यै थिएन । भारत बर्ष भनेको अफगानस्तानदेखि म्यानमारसम्म अहिलेको दक्षिण एशिया हिमवत खण्डको अन्तर्गत थियो ।
तपाईँलाई थाहा छ भारतमै जब बृटिश आयो त्यसबेला ५५६ राज्य राजौटा थिए । भारत पनि धेरै राज्य मिलेर देश बनेको हो नि । अहिलेपनि पञ्जाव, बंगाल, लगायत प्रदेशको भाषा, भेषभुषा, संस्कृति एक अर्कोसँग मिल्दैन नि । नेपालमा पनि १ सय २३ भन्दा धेरै भाषाभाषी छन् ।

प्रश्नः भारत र नेपालको साँस्कृतिक र ऐतिहासिक ‘एलाइटमेन्ट’ कसरि कायमै राख्न सकिएला ? यो विवाद कसरि सुल्झन सक्छ ताकि उही पुरानो सम्बन्ध कायम गर्न सकियोस ? किनकी चीन निकै नै विस्तारबादी रुपमा आइरहेको छ । तपाईको सल्लाह के छ ?

जवाफः चीनका बारेमा भारतका बुझाइ र अनुभव (रिडिङ फिलिङ) केही फरक हुन सक्छ । यसमा सहमति असहमति पाईले सोध्नुपनि भएन मैले बताउन पनि ठिक भएन……

प्रश्नः तपाईं भारतको यो दृष्टिकोणसँग सहमत हुनुहुन्छ कि हुनुहुन्न ?

जवाफः हामी भारतका बारेमा कुराकानी गरिरहेका छौँ । भारतसँग धेरे नै भाषा हामीसँग मिल्दाजुल्दा छन् । जस्तो कि म यो अन्तवार्ता हिन्दीमा दिइरहेको छु । टुटेफुटेको हिन्दीमा । मैले हिन्दी पढेको होइन, यसै जानेर बोलेको । धेरै नेपालीले हिन्दी बोल्छन् । उनीहरुले नेपाली बुझ्दैनन् । हाम्रा कोशी गण्डकी कर्णाली नदीका माछालाई देशको सीमा थाहा हुन्छ र ? हाम्रो सिमामा चरा यताबाट उता उताबाट यता आउँछन्, जान्छन् । उनीहरु एक अर्को देशका धान गहुँ खान्छन् । रुखमा बस्छन्….

बिचैमा प्रश्नः……ब्यँग्यात्मक रुपमा तीनिहरुलाई तपाईको यो नयाँ नक्सा देखउन पर्ला कि ?

उनीहरुलाई देखाउन जरुरी छैन । नक्सा त तपाईहरुले हेर्न जरुरी छ । ता कि सही कुरा के हो भन्ने थाहा होस् । हामी यो मात्र भनिरहेका छौं कि सत्यलाई मानौं , तथ्यलाई मानौं । यसकै आधारमा सोचाई र मान्यता बनाउँ । भारतले पनि त विवादित क्षेत्रका नक्सा छाप्छ । पाकिस्तानसँग विवाद छ भारतले त्यो क्षेत्र मेरो हो भनेर नक्सा छापेको छ । पाकिस्तानले पनि त्यो क्षेत्रलाई आप्mनो मानेर नक्सा छापेको छ । विवाद छ भनेर देशले नक्सै नछाप्ने कुरा त हुँर्दैन जब विवाद समाधान हुन्छ अनि एकै प्रकारको नक्शा आउँछ । यो सीमा आधिकारिक हो भन्ने हुन्छ ।

प्रश्नः यदि चीनले पनि यस्तै गरेको भए (नेपालले) चीनसँग पनि यसै गर्नुहुन्थ्यो?

जवाफः तपाईँलाई म तपाईंलाई यो भन्छु कि हामी एक सार्वभौम देशका रुपमा भौगोलिक सिमाका विषयमा कसैसँग बढी र कसैसँग कम सम्बन्ध राख्दैनौँ । कसैले अकुपाई गरे ठीक र कसैले गरे गलत भन्दैनौं । कसले गलत गर्यो भने त्यो ठीक र कसैले गरेको सबै गलत भन्ने हाम्रो इन्साफ होइन । हामी सबैसँग समान ब्यवहार गर्छौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.