पशुपतिनाथ मन्दिर क्षेत्रमा दर्शन गर्न आएका भक्तजनको सुनको सिक्री लुटपाट गर्ने आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ

निरोज ढकाल , ९  पटक हेरिएको

पशुपतिनाथ मन्दिर क्षेत्रमा दर्शन गर्न आएका भक्तजनको सुनको सिक्री लुटपाट गर्ने आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्।

 

पक्राउ पर्नेहरूमा भारतको गोरखपुर नौसर घर भएकी ३५ वर्षीया अन्जु चमार, २९ वर्षीया रुपसना चमार, ३० वर्षीया आरति चमार, ३५ वर्षीया रिंकु चमार तथा १८ वर्षीया नन्दनी चमार रहेका छन्।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका श्रद्धालुहरूले घाँटीमा लगाएका सुनका सिक्री लुटपाट गर्ने गतिविधिमा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

लुटपाटको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिहरूको साथबाट चोरी गरिएको सुनको सिक्री दुई थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

 

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका पाँचै जनाविरुद्ध थप अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

 

पशुपतिनाथ मन्दिर परिसरमा दैनिक हजारौं भक्तजनको भीड हुने भएकाले मूल्यवान् गहनाको सुरक्षामा विशेष सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २०२६-०६-१० , समय : ०९:४१:०७ , २ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्