पृथ्वी जयन्तीमा विभिन्न कार्यक्रम

Enepal Patra Pvt. Ltd. , ५५६  पटक हेरिएको

कानेपोखरी,२७ पुस । नागरिक समाज मोरङ क्षेत्र नं. २ ले सोमबार मोरङको कानेपोखरी ३ सलबले चौकमा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाएको छ ।
राष्ट्रिय एकता दिवशका अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व सह सचिव गोपालबहादुर थापाले सरकारको परराष्ट्र नीति प्रति शंका प्रकट गर्नुभयो । उहाँले कहिले भारत तिर ढल्कने र कहिले चीन तिर फर्किने सरकारी नीतिले नेपालको अस्तित्व सङ्कटमा परिरहेको बताउनु भयो । सरकारले राष्ट्रिय एकताका प्रतीक पृथ्वी नारायण शाहलाई बिर्सिएको भन्दै खेद प्रकट गर्नुभयो । भारतले आज सम्म पनि महात्मा गान्धीलाई सम्मान दिई रहेको उल्लेख गर्दै परराष्ट्र विज्ञ थापाले पृथ्वी नारायण शाहलाई अपमान गर्नु भनेको बैदेशिक हस्तक्षेप बढ्दै जानुको सङ्केत भएको बताउनु भयो । पृथ्वी नारायण शाहले काठमाडौं उपत्यकामा पादरीहरूलाई छिर्न नदिएका कारण उनीप्रति पश्चिमा राष्ट्रहरू कहिल्यै सकारात्मक नभएको उहाँको भनाई थियो ।
कार्यक्रम संयोजक सुवासचन्द्र निरौलाले एउटा धार्मिक राजालाई हटाएर हजारौं छोटे राजाहरू जन्माएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले मुलुकलाई अस्थिर बनाउँदै लगेको आरोप लगाउनु भयो । जब मुलुकमा सङ्कट पर्छ , तब नागरिकहरू राजा आउ देश बचाउको नारा लगाउँछन्, भन्दै निरौलाले राजा बाहेक अरु कसैलाई देशको माया नरहेको ठोकुवा गर्नुभयो । निरौलाले पृथ्वी नारायण शाहले साना साना राज्य एकीकरण गरेर बनाएको बिशाल नेपाल आज अनेक बहानामा टुक्क्र्याउने राजनीतिक खेल भइरहेको उहाँको भनाई थियो ।
मोहन खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा बासुदेव कार्की ,सविता खतिवडा लगायतले बोल्नु भएको थियो । कानेपोखरी –३ सलबले चौकको सूर्य विनायक मन्दिरमा भएको कार्यक्रममा विभिन्न भजन कीर्तन मण्डलीले राष्ट्रिय भावनाले ओतप्रोत भएका भजन सुनाएका थिए । भजनमा उत्कृष्ठ प्रस्तुति गर्ने टोलीलाई नागरिक समाजका अध्यक्ष सुवास चन्द्र निरौला र प्रमुख अतिथि गोपाल बहादुर थापाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभयो ।
भजन कीर्तन प्रतियोगितामा आदिवासी हिन्दू भजन कीर्तन मण्डली प्रथम भएको थियो । कार्यक्रम राजकुमारी तामाङले सञ्चालन गर्नु भएको थियो ।

 

प्रकाशित मिति: २०२१-०१-११ , समय : १९:४९:११ , ३ वर्ष अगाडि