लेटाङको थामडाँडामा पहरा फोरेर भलिबल कोर्ट

Enepal Patra Pvt. Ltd. , ८३९  पटक हेरिएको

लेटाङ(मोरङ), १५ मङ्सिर । उत्तरी मोरङको लेटाङ –१ थामडाँडाका भलिवल प्रेमीहरूले पहरो फोरेर भलिवल कोर्ट निर्माण गरेका छन् ।
पहाडी भूगोलमा अवस्थित थामडाँडाका युवाहरू गाउँमा भलिवल कोर्ट नहुँदा २ घण्टा टाढा गएर चिसाङ खोलाको किनारमा खेल खेल्ने गर्थे । जिल्ला र प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउने थामडाँडाका खेलाडीहरूको हरियाली युवा क्लबले धेरै पटक उपाधि जितिसकेको छ । अझ कोरोना भाइरसका कारण बैदेशिक रोजगारबाट फर्किएका युवाहरू समेत भलिबल खेलमा आकर्षित भएपछि उनीहरूले गाउँमै पहरा फोरेर मैदान बनाउन थालेका हुन् ।
पहाडमा फुटबल खेल्ने मैदान हुँदैन् । अरु खेल प्रति खासै चासो छैन् । त्यसैले भलिबल खेल्ने कोर्ट निर्माणमा लागेका हौं – क्लबका अध्यक्ष मनोज राईले बताउनु भयो । राईका अनुसार प्रति घण्टा २ हजार ४ सय खर्चेर उहाँहरूले २२ घण्टा जेसीवी लगाउनु भयो । एउटा बिशाल पहरा फोरेर हामीले भलिबल कोर्ट त बनायौं । तर, अझै ब्यवस्थित गर्न नसकेपछि नगरपालिकालाई गुहार मागेका छौं । हाल सम्म स्थानीय सहभागिताबाटै सबै काम भएको छ । अब नगरको सहयोग अपेक्षा गरेका छौं,अर्का खेलाडी मनिराज राईले भन्नुभयो ।
खेलकुद पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेर नगरको प्रमुखमा निर्वाचित हुनु भएका नगर प्रमुख शङ्कर राईले लेटाङ नगरपालिकाको पहाडी क्षेत्रमा भलिवलका लोभलाग्दा र आशा गर्न सकिने खेलाडी उत्पादन भइरहेको बताउनु भयो । उहाँले नगरले भलिबल कोर्ट निर्माणमा यसै वर्षको बजेट बाट सहयोग गर्ने बताउनु भयो । नगरसँग समन्वय गरेर काम गर्नु पर्ने उहाँको सुझाव छ ।
मोरङ जिल्लाको नगरपालिका भएर पनि अझै विजुली सम्म नपुगेको थामडाँडामा १९ घर परिवारका ३ सय सदस्य बस्दै आउनु भएको छ ।

प्रकाशित मिति: २०२०-११-३० , समय : १८:३७:२० , ३ वर्ष अगाडि