चितवनमा ‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ हुने

Enepal Patra Pvt. Ltd. , ७४४  पटक हेरिएको

काठमाडौं , २०७५ माघ ८ मंगलबार — नेपाल औषधि उत्पादक संघले आगामी फागुनमा ‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ गर्ने भएको छ।

चितवनमा हुने एक्स्पोमा औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, मेसिन, ल्यावहरुको प्रदशर्नी गरिने छ। दुईवर्षको अन्तरमा हुदैँ आएको एक्स्पो पहिलोपटक राजधानीबाहिर हुन लागेको हो। संघले गर्न लागेको यो सातौं एक्स्पो हो।

संघले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै यो पटकको एक्स्पोबाट अंगदान गर्ने अभियानमा सहकार्य गर्न लागेको जानकारी दिएको छ।

नेपाल फर्मा तथा हेल्थ एक्स्पोका संयोजक नारायणबहादुर क्षेत्रीले एक्स्पोका क्रममा एक हजार व्यक्तिलाई अंगदान गर्न प्रेरित गर्ने लक्ष्य रहेको बताए। उनले भने, ‘हामीले अंगदानका लागि धेरैभन्दा धेरै जनतालाई जानकारी गराउने लक्ष्य राखेका छौं।’ संघले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरसँग त्यसका लागि सहकार्य गरेको छ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपक प्रसाद दाहालले नेपाली औषधि उत्पादनमा प्रयोग भइरहेको प्रविधिबारे जनमानसलाई जानकारी दिने एक्स्पोको उद्देश्य रहेको बताए ।

दुई सय स्टल रहने सो एक्स्पोमा विभिन्न ३० बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय, १० चिनियाँ कम्पनीको सहभागिता रहने बताइएको छ। नीजि क्षेत्रका १० अस्पतालको पनि सहभागिता रहने आयोजकले जनाएको छ। ५० हजारले एक्स्पो अवलोकन गर्ने अनुमाग गरिएको एक्स्पोका मिडिया कोअर्डिनेटर विप्लव अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: २०१९-०१-२२ , समय : १९:२४:४४ , ५ वर्ष अगाडि