ईनेपालपत्र संबाददाता , ६ पटक हेरिएको
काठमाडौं, १० कात्तिक । सरकारले गायिका आनि छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेलगत्तै लुम्बिनी अशान्त बन्न थालेको छ । स्थानीयले दैनिक प्रदर्शन गरिरहेका छन् । राजधानी काठमाडौंमा समेत विरोध प्रदर्शन भइरहेको छ ।
नेपाली नागरिकता विवादमा परेको र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि यसको विरोध भइरहेको छ । आनि नियुक्तिको विरोध गर्दै लुम्बिनी बचाउ महाअभियानले उनलाई लुम्बिनी प्रवेशमा निषेधको घोषणा गरेको छ ।
महाअभियानले सोमबार संस्कृति मन्त्री खडकराज पौडेलको पुत्लादहन गरेको थियो । सोही कारण महाअभियानका संयोजक अक्रम खानलाई प्रहरीले मध्यराति उनकै घरबाट पक्राउ गरेको छ ।
महाअभियानका सहसंयोजक मेघनाथ आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै खानको पक्राउलाई गैरकानुनी र स्वेच्छाचारी कदमको संज्ञा दिएका छन्। लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारी निर्णयविरुद्ध नागरिकस्तरबाट भएका शान्तिपूर्ण विरोध प्रदर्शन तथा असहमतिलाई दबाउने उद्देश्यले खानलाई पक्राउ गरिएको महाअभियानको आरोप छ।
शान्तिपूर्ण ढंगले विरोध गर्ने र आफ्ना विचार राख्ने अधिकार नागरिकका मौलिक हकभित्र पर्ने बताउँदै सरकारको यस कदमले लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भीर प्रहार भएको विज्ञप्तिमा औंल्याइएको छ।
लुम्बिनी बचाउ महाअभियानले नेपाल सरकार, गृह मन्त्रालय तथा स्थानीय प्रशासनसँग संयोजक खानको तत्काल रिहाइको माग गरेको छ। माग समयमै सम्बोधन नभएमा तथा हिरासतमा कुनै प्रकारको शारीरिक वा मानसिक यातना दिइएमा त्यसबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयम् सरकार र प्रशासन हुने चेतावनीसमेत दिएको छ।
प्रहरीले भने संस्कृतिमन्त्री पौडेलको तस्बिर जलाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-१०-२७ , समय : ११:४९:१७ , १ घन्टा अगाडि