भारतमा चौकीदारी गर्नुभन्दा स्वदेशमै भकारो सोहर्नु जाती

Enepal Patra Pvt. Ltd. , ५०७  पटक हेरिएको

 

दाङ, ७ फागुन । जाँगर भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दाङको तुलसीपुर–६ का डाँगी दम्पत्ती बन्नुभएको छ । बैदेशीक रोजगारीका लागि २० वर्ष भारतका विभिन्न सहरमा बिताउनुभएका ठगेन्द्र डाँगीले व्यवसायिक भैँसीपालन गरेर मनग्य आम्दानी गरी जाँगर भए पैँसा कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण दिनुभएको छ ।

बैदेशीक रोजगारीका क्रममा भोगेका दुःख, कष्टबाट पाठ सिकेर स्वदेश फर्किएर व्यवसायिक भैँसीपालन व्यवसाय सुरु गरेको भन्दै ठगेन्द्रले स्वदेशको व्यवसायले पैँसा र इज्जत दुवै दिएको जानकारी दिनुभयो । ‘जाँगर चल्दासम्म भारतका विभिन्न सहरमा चौकीदारी गरियो । कहिले होटेलमा भाँडा माझियो । जति गर्दा नि परिवार पाल्न धौ–धौ पथ्र्यो’, ठगेन्द्रले भन्नुभयो, ‘भारतमा पाएका दुःखबाट पाठ सिकेर भैँसीपालन व्यवसाय सुरु गरेको छु । यसैले परिवार पाल्न सजिलो भएको छ । पैँसा र इज्जत दुवै मिलेको छ ।’

पहिले उपेक्षा गर्नेहरुबाट हिजोआज इज्जत मिलेको भन्दै व्यवसायी ठगेन्द्रले दुई वटा भैँसीबाट सुरु गरेको व्यवसायलाई बढाएर २५ वटा भैँसीमा पु¥याएको बताउनुभयो । ‘म भारतबाट आउँदा श्रीमतीले घरमा दुई वटा भैँसी पालेकी थिइन् । ती दुई वटा भैँसीबाट सुरु गरेको व्यवसायलाई बढाएर २५ वटा भैँसी पु¥याएको छु’, ठगेन्द्रले भन्नुभयो, ‘फर्ममा १४ वटा दुहुनासहित जम्मा २५ वटा भैँसी रहेका छन् । व्यवसाय बढाउँदै लैजाने विचार गरेको छु ।’

दैनिक एक सय लिटर दूध बिक्रि गर्ने गरेको भन्दै व्यवसायी ठगेन्द्रले मासिक सवा लाख आम्दानी गर्ने गरेको बताउनुभयो । दूधको माग बढेको भन्दै व्यवसायी ठगेन्द्रले माग अनुसारको दूध पु¥याउन नसकेको बताउनुभयो । ‘उत्पादित जम्मै दूध बिक्रि हुने गरेको छ । नजिकैको डेरीले सबै दूध किन्ने गरेको छ’, व्यवसायी ठगेन्द्रले भन्नुभयो, ‘प्रत्येक दिन एक सय लिटर दूध बेच्ने गरेको छु । खर्च कटाएर मासिक सवा लाख आम्दानी हुन्छ ।’

पहिलेका दुःखका दिन सम्झिदै व्यवसायी ठगेन्द्रले भन्नुभयो, ‘विगतका दिन सम्झिदा नरमाइलो लाग्छ । आफू भारतमा भोकभोकै सुत्नुपर्दथ्यो । यता घरमा छोरीहरुलाई हुर्काउन, पढाउन समस्या थियो । हिजोका जम्मै दुःख व्यवसायले भुलाइदिएको छ । भैँसीपालन व्यवसायले छ जनाको परिवारको लालनपालन गर्नुका साथै छोरीहरुको पढाई खर्च जुटाउन मद्दत गरेको भन्दै व्यवसायी ठगेन्द्रले जेठी छोरी बैंक म्यानेजर र माइली छोरीलाई प्लसटु पास गराउनुका साथै अन्य दुई छोरीलाई निजी विद्यालयमा पढाइरहेको बताउनुभयो ।

भैँसीपालन व्यवसायबाट नाम र दाम दुवै कमाएका डाँगी दम्पत्तीको शुभ भैँसी फर्म सबैको सिकाईको केन्द्र बन्दै गएको छ । भैँसीपालन व्यवसाय गर्न चाहनेहरु शुभ भैँसी फर्मको अवलोकन गर्न जाने गरेका छन् । करिव ३५ लाखको लगानीमा आफूले व्यवसाय सुरु गरेको भन्दै व्यवसायी ठगेन्द्रले कतैबाट पनि सहयोग प्राप्त नगरेको बताउनुभयो । प्रदेश सरकार र उपमहानगरपालिकाबाट कृषकका लागि भनेर करोडौं अनुदान दिने गरेको सुनेको भन्दै व्यवसायी डाँगीले बास्तविक कृषकको हातमा अनुदान पुग्न नसकेको बताउनुभयो ।

दाङ दूध उत्पादनका लागि अत्यन्तै सम्भावना बोकेको जिल्ला रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख बेदबहादुर केसीले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो समय भैँसी र गाईपालनतर्फ कृषकहरु अत्यन्तै आकर्षित भएको कार्यालय प्रमुख केसीले बताउनुभयो ।

प्रकाशित मिति: २०२०-०२-१९ , समय : १७:२८:४७ , ४ वर्ष अगाडि