Enepal Patra Pvt. Ltd. , ९२५ पटक हेरिएको
काठमाडौं ,२८ माघ ।वैदेशिक रोजगारीमा जान नेपाल सरकारले एक सय १० वटा देशको गन्तव्य खुल्ला गरेको छ । तर, नेपाली युवाहरूले विभिन्न माध्यमबाट १ सय ७१ देशमा श्रम स्वीकृति लिएर जाने गरेको छ ।
हाल नेपालले गरेको श्रम सम्झौताअनुसार मलेसिया, कतार, साउदी अरेबिया, युएई र कुबेत मुख्य गन्तव्य रही आएको छ । जसमा युवाहरूको पहिलो गन्तव्य मलेसिया बनेको छ । वैदेशिक रोजगारीमा जानेमध्ये मलेसिया र कतारमा मात्रै ६० प्रतिशतभन्दा बढी युवाहरू जाने गरेको पाइन्छ ।
आर्थिक वर्ष २०७५-७६ मा ५ लाख ८ हजार युवाहरू रोजगारीको लागि विदेशिएका छन् । जसमा ४ लाख ७६ हजार हजार पुरुष र ३२ हजार दुई सय महिला रहेका छन् । उनीहरू १ सय ३६ देशमा श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएको आव २०७५-७६ को प्रतिवेदनमा उल्लेख छ ।
५९ लाख नेपाली विदेशिए
विगत लामो समयदेखि रोजगारीमा नेपाली युवाहरू विदेशिए पनि विभागसँग (सन् २००० अप्रिल २९ देखिको संस्थागत तर्फबाट र व्यक्तिगततर्फ सन् २००७ अगस्ट १ देखिको २०१९ जुलाई)सम्मको विवरण विभागको प्रतिवेदनमा समावेश गरेको छ । दुई दशकमा विदेशिनेको संख्या हेर्ने हो भने उल्लेखनीय छ । हालसम्म रोजगारीको सिलसिलामा विदेशिने नेपाली युवाहरूको संख्या ५९ लाख ५५ हजार (पुनः श्रम स्वीकृतिसहित) रहेको छ ।
विभागको श्रम स्वीकृतिसम्बन्धी तथ्याङ्को एकीकरण नभएकाले वैदेशिक रोजगारीमा जानेमध्ये कति व्यक्ति फर्किए, कति व्यक्ति दोहोराएर गए भन्ने यकिन तथ्याङ्क विभागसँग छैन । तर, हालै विभागले जाने र फर्केको युवाहरूको विवरण राख्ने काम अघि बढाएको छ । यसले गर्दा कति विदेशमा गए, कति नेपालमा रहे भन्नेको तथ्याङ्क स्पष्ट हुने विभागको विश्वास छ ।
नेपालीको प्रमुख गन्तव्य मलेसिया
विभागले समावेश गरेको विवरणमा हालसम्म संस्थागततर्फबाट विदेशिनेमा पहिलो गन्तव्य मुलुक मलेसिया रहेको छ । मलेसियामा १३ लाख ९१ हजार पुगेका छन् । जसमध्ये १३ लाख ६० हजार पुरुष छन् भने ३० हजार महिला रहेको छ । त्यसैगरी, नेपाली कामका लागि कतारमा १० लाख ६२ हजार पुगेका छन् । यस्तै, क्रमशः साउदी अरेबिया, युएई, कुवेत, बहराइन र ओमन गरी संस्थागततर्फबाट विदेशिएको संख्या ४० लाख १५ हजार जना रहेका छन् ।
आव २०७५-७६ मा भने प्रमुख गन्तव्यमा कतार र यूएई रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये कतारमा १ लाख ६१ र यूएईमा १ लाख १९ हजार पुगेका छन् । नेपाल सरकारले मलेसियामा जाने कामदारका लागि आर्थिक भार भएको भन्दै १५ महिना बन्द गरिएको थियो । सोही कारणले मलेसिया जाने कामदारको तथ्याङ्कमा गिरावट आएको विभागले जनाएको छ ।
विदेशिनेमा धनुषा अगाडि
रोजगारीको सिलसिलामा विदेशिनेको संख्या सबै जिल्लामा करिब समान भए पनि विभागको तथ्याङ्कअनुसार धनुषा जिल्ला अगाडि रहेको छ । विसं २०६८ को जनगणनाले जनाइएअनुसार ७ लाख ५४ हजार जनसंख्या भएको धनुषाबाट ३ लाख ४९ हजार युवाहरू विदेशिएका छन् । यसमा लगभग धनुषाको आधा जनसंख्या विदेशिएको देखिन्छ । जसमध्ये पुरुषको संख्या ३ लाख ४८ हजार रहेको छ ।
त्यसैगरी, ८ लाख १२ हजार जनसंख्या भएको जिल्ला झापा दोस्रो नम्बरमा छ । हालसम्म झापाबाट विदेशिनेको संख्या २ लाख ८३ हजार रहेको छ । त्यसैगरी, लाखभन्दा बढी रोजगारी विदेशिनेमा जिल्लाहरू क्रमशः सिराहा, महोत्तरी, मोरङ, नवपरासी, सुनसरीलगायत जिल्लाहरू रहेको छ ।
महिलाको प्रमुख गन्तव्य कुवेत
पछिल्लो समय पुरुष मात्र नभई महिला पनि वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । वैदेशिक रोजगारीमा जाने महिलाको संख्या उल्लेखनीय देखिएता पनि कम जिल्लाका महिलाहरू बढी विदेशिएको छ ।
विभागको आव २०७५/७६ को प्रतिवेदनमा ३२ हजार महिला श्रम स्वीकृति लिई विदेशिएका छन् । देशगत हिसाबले व्यक्तिगत श्रम स्वीकृति लिई विदेशिनेमध्ये सबैको मुख्य गन्तव्य कुवेत रहेको छ । कुवेतमा घरेलु कामदारमा जाने नेपालीको संख्यालाई छाड्ने हो भने खाडी मुलुकबाहिरका देशमा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएको संख्या न्यून छ ।
हालसम्म रोजगारीका लागि कुवेतमा मात्रै २४ हजार ३ सय महिला पुगेका छन् । महिलाको प्रमुख गन्तव्य बनेको कुवेतले ८३ प्रतिशत ओगटेको छ । कुवेतपछि महिलाको प्रमुख गन्तव्य युरोपियन मुलुक जर्मनी रहेको छ । आव २०७५(७६ मा जर्मनीमा मात्रै १ हजार ८ सय ६० जना पुगेका छन् । त्यस्तै क्रमशः माल्दिभ्स, माल्टा, डेनमार्क, टर्कीलगायत अन्य देशहरू रहेको छ ।
महिला विदेशिनेमा १० जिल्लाले ओगट्यो ९२ प्रतिशत
समग्रमा महिलाहरूको जिल्लागत विवरण हेर्दा १० जिल्लाको महिलाले मात्रै ९२ प्रतिशत ओगटेको छ । त्यसमध्ये पनि सबैभन्दा बढी झापाको महिला विदेशिएका छन् । विगत वर्षहरूमा पनि झापा अगाडि थियो । झापामा रहेका ४ लाख २७ हजार महिलामध्ये २३ हजार महिला विदेशिएका छन् । त्यसपछिको जिल्ला सिन्धुपाल्चोकबाट १८ हजार ५ सय महिला विदेशिएका छन् ।
१० जिल्लाको तुलनामा क्रमशः मोरङ, काठमाडौं, मकवानपुर, काभ्रेपालञ्चोक, सुनसरी, नुवाकोट, चितवन, इलाम रहेको छ । हालसम्म संस्थागत तर्फबाट ७५ जिल्लाको कुल श्रम स्वीकृति लिएको संख्या १ लाख ३२ हजार ९ सय ९५ रहेको छ । यीमध्ये १० जिल्लाको मात्र १ लाख २२ हजार ६ सय ९८ महिला विदेशिएका छन् । यसमा ९२ दशमलव २६ प्रतिशतमा ८ दशमलव ७४ प्रतिशत ६७ जिल्लाले ओगटेको छ ।
२९ प्रतिशत मात्र दक्ष कामदार
वैदेशिक रोजगारीमा जानेमध्ये २९ प्रतिशत मात्र दक्ष कामदार विदेशिएका छन् । त्यसैगरी, शून्य दशमलव शून्य ५ प्रतिशत उच्च दक्षतायुक्त रहको छ भने पेशाविद शून्य दशमलव १२ प्रतिशत रहेको छ । साथै, १४ दशमलव ९४ प्रतिशत अर्ददक्ष र ५५ दशमलव ८२ प्रतिशत अदक्ष कामदार विदेशिएका छन् । यस तथ्याङ्कले के स्पष्ट पार्दछ भने वैदेशिक रोजगारीमा जानेमा आधा संख्याभन्दा बढी अदक्ष कामदार विदेशिने गर्दछ ।
अदक्ष भएका कारण नेपाली कामदारको मृत्यु भएको संख्या पनि भयावह रहेको छ । पछिल्लो समय अदक्ष कामदार विदेशिएका कारण धेरै जोखिम हुने भएकाले विभिन्न निजी सरकारीसँग सहकार्य गर्दै तालिम दिँदै आइरहेको छ । तर, पूर्ण रुपमा दक्ष कामदार पठाउन भने सकेका छैनन् ।
कुल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारीको योगदान
वैदेशिक रोजगारीले नेपालहरूको जीवनस्तरमा मात्र सुधार गरेको छैन । सरकारको कुल ग्राहस्थ उत्पादनमा पनि ठूलो योगदान पुगेको छ । विगत दुई दशकदेखि वैदेशिक रोजगारी नै अर्थतन्त्रमा समेत मेरुदण्डको रुपमा रही आएको छ । वैदेशिक रोजगारीको योगदानको आधारमा आव २०६६(६७ देखि २०७५(२०७६ को तुलनात्मक अध्ययन गर्दा विप्रेषण आयमा निरन्तर वृद्धि भएको विभागको प्रतिवेदनमा उल्लेख छ ।
आव २०७५-२०७६ मा वैदेशिक रोजगारीमा जानेको संख्या १५ दशमलव ७ प्रतिशतले घटेतापनि विप्रेषणमा गिरावट आएको देखिँदैन् । वैदेशिक रोजगारीको योगदानमा आव २०६६-६७ मा १९ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, आव २०६७-६८ देखि आव २०७२-७३ सम्म निरन्तर वृद्धि १८ प्रतिशतबाट २९ प्रतिशत पुग्यो ।
त्यसपछिको वर्षहरूमा भने यो अनुपात क्रमशः घट्दै गएर आव २०७५-७६ मा २२ प्रतिशतमा ओर्लेको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वैदेशिक रोजगारीमा घट्दो जनसंख्याले गर्दा नेपालको अर्थतन्त्रमा असर पर्ने निष्कर्ष निकालेका छन् । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: २०२०-०२-११ , समय : १८:२१:१७ , ५ वर्ष अगाडि