‘नुनिलो भीर’

Enepal Patra Pvt. Ltd. , ५०३  पटक हेरिएको

सिन्धुपाल्चाेक, ५ माघ । अनौठो आकृतिको सेताम्मे भीर। जसको सेतो धुलो चाख्दा नुनको स्वाद आउँछ। स्थानीय चौरी गोठाला दिनहुँ त्यहाँ पुगेर नुन चाख्छन् र सेतो धुलो प्रसाका रुपमा घर लान्छन्। यो खबर आजको कान्तिपुर दैनिकमा सिन्धुपाल्चोकबाट अनिश तिवारीले लेखेका छन्।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ तेम्बाथान गाउँको जंगली भीरको भित्ताभरी स्वाद चाखेपछि त्यहाँका गोठालाले नामै ‘नुनिलो भीर’ राखेका छन्। भीरको तल्लो ढिस्को कडा छ। माथिल्लो भागबाट पानी भरिरहन्छ। प्राकृतिक नुन खुवाउन चौरी गोठाला भीरमै पुग्छन्। ‘तेम्बाथानका गाउँले नुन चाहिए त्यहीँ खोतलेर ल्याउँछन्,’ स्थानीय साइँला शेर्पा भन्छन्, ‘भीरमा पक्कै यो नुनकै खानी हुनुपर्छ।’

नुनको स्वाद पाइएकाले सेताम्मे रङको भीरलाई नुनिलो भीर भनेर चिनिने गरिएको उनले सुनाए। धेरै वर्ष अघि जापानी विशेषज्ञ टोलीले उक्त भीरको सेतो पदार्थ के हो भन्ने बारे खोजी गर्ने प्रयास गरेको थियो। टोली हेलिकप्टरबाट दुईपटकसम्म त्यहाँ आएको थियो। तत्कालिन सरकारले उत्खनन्को अनुममति नदिएको गाउँलेले सुनाए।

 

प्रकाशित मिति: २०२०-०१-१९ , समय : १०:४९:४८ , ४ वर्ष अगाडि