काङ्ग्रेस सांसद थापाद्वारा सेल्फीरोडलाई ५ लाख दिने घोषणा

Enepal Patra Pvt. Ltd. , १३४७  पटक हेरिएको

पथरीशनिश्चरे(मोरङ),६ साउन । नेपाल तरुण दल पथरीशनिश्चरेले मङ्गलबार बीपी स्मृति दिवसको अवसर पारेर स्थानीय चौतारी सामूदायिक वन उपभोक्ता समूहलाई डस्टविन प्रदान गरेको छ । डस्टविन प्रदेश सभा सदस्य शेखरचन्द्र थापाले बन समूहका अध्यक्ष मेघराज चापागाईलाई प्रदान गर्नुभयो ।
पथरीशनिश्चरे २ मा पर्ने सेल्फीरोडको आकर्षण ह्वात्तै बढेपछि त्यहाँ हुने फोहोर ब्यवस्थापन गर्न डस्टविन प्रदान गरिएको तरुण दल पथरीशनिश्चरे नगर समिति अध्यक्ष सन्तोष कट्वालले बताउनु भयो । डस्टविन हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद थापाले सेल्फीरोडको आकर्षण थप गर्न सांसद विकास कोषबाट ५ लाख रुपियाँ दिने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो – चौतारी सामूदायिक वनले संरक्षण गरेको बन क्षेत्र अत्यन्तै आकर्षक छ । यस क्षेत्रमा शौचालय आवश्यक देखियो , त्यसका निमित्त ५ लाख रुपियाँ दिने घोषणा गर्दछु । ’
तरुण दलका नगर सभापति सन्तोष कट्वालको सभापतित्वमा भएको कार्यक्रममा चौतारी सामूदायिक वनका पूर्व अध्यक्ष रत्नबहादुर बस्नेत,अध्यक्ष मेघराज चापागाई , तरुण नेता सन्तोष कार्की, विद्यार्थी नेता विक्रम लिम्बू लगायतले बोल्नु भएको थियो ।सोही अवसरमा तरुण दलले पथरी स्पोर्टिङ क्लवलाई ५ थान फुटबल प्रदान गरेको थियो । कार्यक्रम तरुण दलका क्षेत्रीय सचिव पर्शु गुरुङले सञ्चालन गर्नु भएको थियो ।
                                                                   सांसद आफै अघि सरे फोहोर भेला गर्न
कार्यक्रम सकिए लगत्तै सांसद थापा नै अघि लागेर फोहोर सङ्कलन अभियान सुरु गरियो । झण्डै १ किलो मिटर सडकमा दैनिक आउने हजारौं सेल्फी प्रेमीले गरेको फोहोर सङ्कलन गर्न एक घण्टा समय लागेको थियो ।
पहिले सामान्य काम काजका लागि मात्र स्थानीय ओहोर दोहोर गर्ने सेल्फी रोडमा हाल दैनिक हजार बढी मानिस फोटो खिच्न आउने गरेका छन् । मानिसको आवागमन बढेसँगै थुप्रिएको फोहोर सङ्कलन भएपछि सेल्फी रोड थप सुन्दर भएको छ ।यसैबीच नेपाली काङ्ग्रेस पथरीशनिश्चरे नगर समितिले बीपी स्मृति दिवको अवसरमा साँझ पथरीको जाँते मोडमा दीप प्रज्जवलन गरेको छ ।

प्रकाशित मिति: २०२०-०७-२१ , समय : १९:२१:०७ , ४ वर्ष अगाडि