प्रशान्त निराैला , ३२ पटक हेरिएको
लेटाङ, १८ जेठ । शारीरिक अपाङ्गतालाई कमजोरी होइन, अवसरमा बदल्न सकिन्छ भन्ने जीवित उदाहरण बनेका छन् लेटाङ नगरपालिका–५ निवासी टंक बहादुर विश्वकर्मा। पाँच वर्षकै उमेरमा पोलियोबाट प्रभावित भई शारीरिक अपाङ्गता भोगे पनि उनले जीवनलाई कहिल्यै सीमित सोचमा बाँधेनन्। कठिन परिस्थितिमा हुर्किए पनि आत्मविश्वास, मेहनत र लगनशीलताले उनलाई आज सयौँका लागि प्रेरणाको स्रोत बनाएको छ।
विपन्न परिवारमा जन्मिएका टंक बहादुरको बाल्यकाल सहज थिएन। गाउँघरमा रोजगारीको अवसर न्यून थियो भने शारीरिक अपाङ्गताका कारण समाजको दृष्टिकोण पनि चुनौतीपूर्ण रहन्थ्यो। तर उनले परिस्थितिलाई दोष दिएर बस्नुको सट्टा अवसर खोज्ने निर्णय गरे। वि.सं. २०५० सालतिर रोजगारी र भविष्यको खोजीमा घर बाट भागेर उनी काठमाडौं पुगे। अनिश्चित यात्राबीच भौतारिँदै हिँड्दा एक दिन उनी आकस्मिक रूपमा समाज कल्याण परिषद्को कार्यालयमा पुगे, जहाँबाट उनको जीवनले नयाँ दिशा पायो।
समाज कल्याण परिषद्मा उनले सीपमूलक तालिमबारे जानकारी पाएपछि सिलाइ–कटाइ तालिममा सहभागी हुने अवसर पाए। एसएलसी उतिर्ण गरेका उनी तालिममा सक्रिय, अनुशासित र आत्मविश्वासी रूपमा प्रस्तुत भए। करिब ३०३५ जना सहभागी रहेको उक्त तालिम उनले सफलतापूर्वक पूरा गरे। छ महिनाको तालिमले उनको जीवनमा परिवर्तनको ढोका खोलिदियो। प्रशिक्षकहरूले उनको क्षमता र लगनशीलता देखेर उनलाई त्यही संस्थामा प्रशिक्षकको अवसर प्रदान गरे, जुन उनको जीवनकै महत्वपूर्ण मोड सावित भयो।
त्यसपछि रोज क्लब कोरिया र समाज कल्याण परिषद्को संयुक्त लगानीमा सञ्चालित व्यावसायिक तालिम तथा उत्पादन केन्द्रमा उनले करिब १० वर्षसम्म प्रशिक्षकका रूपमा काम गरे। अपाङ्गता भए पनि उनले सयौँ युवायुवतीलाई सिलाइ–कटाइ सीप सिकाउँदै आत्मनिर्भर बन्न प्रेरित गरे। उनी आफैं उदाहरण बने—“सिक्ने मान्छेले सिकाउन पनि सक्छ” भन्ने प्रमाणका रूपमा। उनको प्रशिक्षणबाट धेरैले रोजगारी पाए, स्वरोजगार सुरु गरे र जीवनस्तर सुधार गरे।
राजनीतिक परिवर्तनपछि उक्त संस्था बन्द भए पनि टंक बहादुरले हिम्मत हारेनन्। बरु आफ्नै लगानी र अनुभवका आधारमा “उत्तरी मोरङ गार्मेन्ट सिलाइ प्रशिक्षण केन्द्र” दर्ता गरी सञ्चालन सुरु गरे। त्यसयता उनी निरन्तर रूपमा सिलाइ–कटाइ तालिम सञ्चालन गर्दै आएका छन्। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गर्ने सीपमूलक कार्यक्रमहरूमा पनि उनी प्रशिक्षक तथा सहजीकरणकर्ताका रूपमा सक्रिय छन्। उनको मेहनतले आज पनि धेरै युवाले सीप सिकेर आत्मनिर्भर बन्ने अवसर पाएका छन्।
टंक बहादुरको अनुभवमा रोजगारीका प्रशस्त अवसर छन्, तर सीप र लगनशीलता आवश्यक छ। उनी भन्छन्, “विदेश जाने मोह धेरै छ, तर यहाँ काम गर्ने जनशक्ति अभाव पनि छ। सीप सिक्ने हो भने आफ्नै देशमा राम्रो जीवन सम्भव छ।” उनको जीवन कथाले यही यथार्थलाई व्यवहारमै प्रमाणित गरेको छ।
सिलाइ–कटाइ पेशाले मात्रै होइन, उनले कृषिलाई पनि आफ्नो जीवनको महत्वपूर्ण हिस्सा बनाएका छन्। घर नजिकैको करिब दुई कट्ठा जमिनमा उनले मौसमी तरकारी खेती गर्दै आएका छन्। करेला, काक्रो, भिण्डी, फर्सी लगायतका तरकारी उत्पादन गरेर उनले घरखर्च व्यवस्थापनमा सहयोग पुर्याएका छन्। शारीरिक चुनौतीका बाबजुद पनि उनी खेतबारीमा सक्रिय देखिन्छन्, जसले उनको मेहनत र आत्मबललाई झन् स्पष्ट बनाउँछ।
आज टंक बहादुर विश्वकर्मा एक अपाङ्गता भएका व्यक्ति मात्रै होइनन्, उनित आत्मनिर्भरता, संघर्ष र प्रेरणाको प्रतीक बनेका छन्। उनले जीवनमा देखाएको अडिगता र सकारात्मक सोचले धेरैलाई जीवन बदल्ने प्रेरणा दिएको छ। अवसर खोज्ने हो भने जीवनमा कुनै पनि अपाङ्गता बाधा बन्न सक्दैन भन्ने सन्देश फैलाउँदै उनी अझै पनि सीप सिकाउँदै, कृषि गर्दै र समाजमा प्रेरणा बाँड्दै आफ्नो यात्रा निरन्तर अघि बढाइरहेका छन ।
प्रकाशित मिति: २०२६-०६-०१ , समय : २१:२९:०२ , ५२ मिनेटutes अगाडि