लेटाङ नगर अस्पताललाई डा. इन्दिरा सुन्दासद्वारा १ लाख सहयोग

ईनेपालपत्र संबाददाता , ४०  पटक हेरिएको

लेटाङ, ४ बैशाख । लेटाङ नगरपालिका–४ मा जन्मेर हाल काठमाडौं–१४ कुलेश्वरमा बसोवास गर्दै आउनुभएकी डा। इन्दिरा सुन्दासले लेटाङ नगर अस्पताललाई रु १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ। आफ्नी दिवंगत आमा विष्णुमाया सुन्दासको स्मृतिमा विपन्न बिरामीको उपचार सहयोग तथा अक्षयकोष स्थापना गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो। लामो समय नर्सिङ क्याम्पसमा प्राध्यापकको रूपमा सेवा गरेपछि हाल निवृत्त जीवन बिताइरहेकी सुन्दासले समाजप्रति आफ्नो दायित्व स्वरूप सहयोग गरेको बताइएको छ।

आज अस्पताल परिसरमै आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख भुपेन्द्र कुमार लावतीको अध्यक्षतामा उक्त रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा उपप्रमुख कृष्ण कुमारी निरौला, डा। धर्मेन्द्र यादव तथा अस्पतालका प्रशासन प्रमुख शिव यादव लगायतको उपस्थिति रहेको थियो।

नगर प्रमुख लावतीले यस्तो सहयोगले नगर अस्पतालको सेवा विस्तारमा टेवा पुग्ने बताउँदै अन्यलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। उपप्रमुख निरौलाले स्वास्थ्य क्षेत्रमा गरिएको सहयोग अत्यन्तै उदाहरणीय रहेको उल्लेख गर्नुभयो।
सहयोग हस्तान्तरणपछि डा। इन्दिरा सुन्दासले आमाको सम्झनामा समाजलाई केही योगदान दिन पाउँदा खुसी लागेको बताउनुभयो। “विपन्न बिरामीलाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको हुँ,” उहाँले भन्नुभयो।

अस्पतालका प्रसासन प्रमुख यादवले प्राप्त रकमलाई लक्षित वर्गको उपचार तथा अक्षयकोषमार्फत दीर्घकालीन रूपमा उपयोग गरिने बताउनुभयो ।

प्रकाशित मिति: २०२६-०४-१७ , समय : १८:४०:५३ , २ घन्टा अगाडि