वन क्षेत्रबाट जडिबुटीका प्रजाति हराउँदै

इनेपालपत्र , १८३  पटक हेरिएको

वराहक्षेत्र,२ असार। रामधुनी जङ्गल क्षेत्रबाट पछिल्लो समय विभिन्न प्रजातिका रुख विरुवा लोप भएको पाइएको छ । वन क्षेत्रमा पाइने जडिबुटी, पोथ्रा लगायत ठुला रुखहरु लोप हुँदै गएको पाइएको हो ।

सुनसरीको उत्तरी क्षेत्रमा पर्ने रामधुनी वन क्षेत्र रामधुनी, इनरुवा, वराह क्षेत्र नगरपालिका र भोक्रहा नरसिंह गाउँपालिकाको सीमा क्षेत्रमा रहेको जङ्गल क्षेत्रमा पाइने विभिन्न प्रजातिका रुख विरुवा लोप हँुदै गएका हुन् । वनमा जताततै पाउने गरेका रानीकुसुम, साज, करम, कुसुम, खयर, पलाँस, साँदन, चाँप, वेल राजवृक्षा, हर्रो, वर्रो, भोरला, फडिर, जामुन, अँगेरी, बनकेरा, बनआँप, लगायतका वनस्पतिहरु जङ्गल क्षेत्रमा भेटीन छाडेका छन् ।

वन क्षेत्रमा मानव अतिक्रमण बढेपछि पछिल्ला एक दशक यता साज, खिरोँ, टुनी, दवदवे, डुम्री, सिंधुरे, तेजु, पलाँस, साँदन, टाँटरी, कुसुम, कुम्भी, बनकेरा, वनआँप लगायतका नयाँ बिरुवा देखिन छोडेको स्थानीयको भनाइ छ । अझ ठुलो रुख नहुने पोथ्रा प्रजातिका बुट्यान कुट्मिरो, औलिया, रनबाँस सङ्कटापन्न अवस्थामा छ ।

वन संरक्षणका लागि समुदायलाई हस्तान्तरण गरिद आए पनि वन क्षेत्रका ठुला रुखहरु मासिदै जानु, बुढा भएर ढल्नु, डढेलो लाग्नु, घाँस दाउराको रुपमा प्रयोग हुनुजस्ता कारणले घना वन पातलिदै गएको छ ।

राज्यले वन संरक्षण गर्ने नीति नियम ल्याए पनि वन मानव सिर्जित र प्रकृतिक प्रकोपका कारण पातलिदै गएको छ । रामधुनी संरक्षित वन परिषद्का अध्यक्ष डिल्ली कार्कीका अनुसार जङ्गल क्षेत्रमा हुने आगोलागी, चोरी पैठारी र रुखहरु घाँस दाउराका रुपमा काटिदा विभिन्न जातका रुख विरुवाहरु वन क्षेत्रबाट लोप हँुदै गएका हुन् ।

आगोको ताप सहनशक्ति कम भएका बोटविरुवा जंगलमा अगोलागीमा परी मर्ने हुँदा त्यस्ता बिरुवाहरु वन क्षेत्रबाट मासीदै गएका छन् । “मानिसको चाप वन क्षेत्रमा बढी भएकै कारण रुख विरुवाहरु मासिदै छन्” कार्कीले भन्नुभयो ।

बनसँग आश्रित बाख्रापालक किसानले साना बुट्यान हुर्किन नपाउँदै काटेर लान थालेपछि बनमा जडबिुटी र घाँस प्रजातिका वोट विरुवाहरु मासीदै गएका छन् । विरुवा अवस्थामै घाँसको प्रयोगका लागि साना बोट विरुवा काटिदा बीउँ नपाक्ने र अरु नयाँ बिरुवा उम्रिन नपाउँदा घाँस र जडीबुटीका विरुवा जंगल क्षेत्रबाट लोप हुने अवस्थामा पुगेको वन अधिकृत सुरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

“वनमा जताततै पाइने हर्रो, बर्रो, कुसुम, ऐसेलु, कोइरालो, अमलालगायतका जडिबुटी र फलफूलजन्य बोटविरुवा आजकल देखिदैनन्” वराह क्षेत्र १० का रामप्रकश कोइरालले भन्नुभयो । ५३ वर्र्षीय कोइरालाले विगत सम्झदै रामधुनी मन्दिर जाँदा कुसुम, फँडिर खाने गरेको तर अव त रुख पनि देखिन छाडेको दुखेसो पोख्नुभयो ।

साना बुट्यान नै काटेर घाँसका रुपमा किसानले प्रयोग गर्दा बहुमूल्य प्रजातिका वनस्पति सकिँदै गएको छ । वनमा आश्रित किसानलाई सचेतना कार्यक्रम र लोपोन्मुख प्रजातिका बिरुवाको वृक्षारोपणमा जोड दिनु पर्ने वन अधिकृत कार्कीले बताउनुभयो । रामधुनी जङ्गल २२ सय हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा १५ सय हेक्टर क्षेत्रफलमा सामुदायिक वन र सातसय हेक्टर क्षेत्रफलमा वन परिसद रहेको छ ।

 

गाेरखापत्र वाट

प्रकाशित मिति: २०२४-०६-१६ , समय : १९:२१:२६ , १२ महिना अगाडि