ऋषिदेव बस्तीमा चिसोको कहर

Enepal Patra Pvt. Ltd. , ९८७  पटक हेरिएको

हरि कोइराला
कानेपोखरी(मोरङ), २२ पुस । मध्य पुसको ठिही,पश्चिमको चिसो सिरेटो । आकाशबाट एकोहोरो झरिरहेको शीत । न त खुट्टामा जुत्ता–चप्पल छन् । न जाडो छल्नेगरी आङभरि लुगा । आफ्नो खेतीपाती छैन्,अधिया ठेक्का गरेर जोहो गरेको अन्नले वर्षभरि खान पुग्दैन । दैनिक पेटभरि खाने अन्न नै नभएपछि तातो लुगा र ओढ्ने ओछ्याउने लुगाफाटो जुटाउन सक्ने त कुरै भएन ।
मोरङ कानेपोखरी– ५ को भौंसाबारी र ३ को राजगन्जका ऋषिदेवहरूको दैनिकी यतिबेला चिोको कहरले कष्टपूर्ण भइरहेको छ । भौंसाबारीका ऋषिदेवहरूको चार पुस्ता सोही स्थानमा बितिसक्यो । तर, न त उनीहरूले जग्गाधनीपुर्जा पाएका छन् । न सरकारी निकायबाट दिने सेवा सुविधा नै लिन पाएका छन् । चारपुस्ता बितिसके पनि धेरै जसो ऋषिदेव महिलासँग नागरिकता छैन् । कानूनी ज्ञान नहुँदा सय वर्ष पुराना बासिन्दा भएपनि उनीहरूले जन्मसिद्धको नागरिकता पाएका छन् ।
दुईवटा वस्तीमा ३२ घर छन् । ३२ घरमा कक्षा – ८ भन्दा माथि अध्ययन गरेका कोही छैनन् । सामान्य अक्षर चिनेपछि धेरै जसो युवा पञ्जाव जान्छन् । अधिकांश किशोरीहरू १८ वर्षको नपुग्दै २ सन्तानका आमा भइसकेका छन् । अशिक्षा,अन्धविश्वास र गरिवीका कारण पछि परेका ऋषिदेवहरूको कसैको घर गतिलो छैन् । छानो मात्रै होइन घरको बेरा पनि उक्किसकेको छ । दिन त घुर र दाउराको आगो तापेर दुखले बित्छ । रात बिताउन भने उनीहरूलाई झनै कष्ट हुन्छ । कानेपोखरी –५ को भौंसावारीमा १८ परिवार ऋषिदेवको सानो गाउँ छ । १५ कट्ठा ऐलानी जग्गामा बसेका उनीहरू पेटभरि खान पाए, जाडोको केही प्रवाह नहुने बताउँछन् । २५ वर्षीय दीपा ऋषिदेवले भन्नुभयो –‘भोट माग्न आउँदा सबैलाई जग्गा गरिदिन्छु भनेका थिए । तर,घरको छानो छैन् । बेरा भत्किसक्यो । पश्चिमको हावाले रातभर दुख दिन्छ । हामी त घुर तापेर दिनरात बिताउँछौं । बुढापाका र बालबालिकालाई धेरै गाह्रो छ । सरकारले आगो ताप्ने दाउरा समेत पुग्नेगरी नदिएको दीपाले गुनासो गर्नुभयो । भौंसावारीका अधिकांश बालबालिकाका खुट्टामा चप्पल छैन्,जुत्ताको कुनै भएन । आङभरि लुगा छैन् । पुसको चिसोमा पनि उनीहरू एकसरो लुगामा दैनिकी बिताइरहेका छन् ।
ननकुमारी ऋषिदेवका काखमा दुईवटा नानी छन् । उहाँलाई आफ्नो उमेर थाहा छैन । उहाँले भन्नुभयो– भोटको समयमा सुकुम्बासीलाई घर हुन्छ भन्थे तर न घर भयो न जाडोमा लुगा सम्म पायौं,उहाँले सरकारलाई खबर सुनाइदिन आग्रह गर्नुभयो । अझ,कानेपोखरी ३ राजगन्जको ऋषिदेव बस्तीको कथा झनै दुखदायी छ । १५ घर परिवारमा सय जना भन्दा बढीको बसोवास छ ,त्यहाँ । कसैको आफ्नो जग्गा छैन् । वर्षभरिको कमाईले कसैलाई खान पुग्दैन । त्यसैले उनीहरू कतिपय एकछाक मात्र खाएर सुत्ने गरेको बताउँछन् ।
राजगन्जका ऋषिदेवहरू कसैका घरमा खाट,पलङ छैन् । ४६ वर्षीय कन्हैया ऋषिदेवले भन्नुभयो – सरकारले जस्ता दियो । तर अरु केही पनि दिएन । पैसा छैन् । त्यसैले दिएको जस्ता पनि लगाउन सकिएन । उहाँले घर लथालिङ भएको बताउनु भयो । चुहिने घरमा बसेर बुढी भएकी आमा र नाति नातिनालाई स्याहार गरिरहेको उहाँको भनाई छ ।

प्रकाशित मिति: २०२०-०१-०७ , समय : २०:२७:४१ , ५ वर्ष अगाडि