सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ।

निरोज ढकाल , ७  पटक हेरिएको

 

 

संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित यस्तो लक्ष्य निर्धारण गरिएको बताएका हुन्।

 

चालु आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान सार्वजनिक भइरहेका बेला सरकारले आगामी वर्ष त्यसलाई झण्डै दोब्बर बनाउने लक्ष्य अघि सारेको हो।

 

अर्थमन्त्री वाग्लेले आगामी वर्ष मूल्यवृद्धिदरलाई ६ प्रतिशतभन्दा तल सीमित राख्ने घोषणा पनि गरेका छन्। सरकारले उत्पादन वृद्धि, लगानी विस्तार, डिजिटल अर्थतन्त्र, पूर्वाधार विकास तथा रोजगारी सिर्जनामार्फत अर्थतन्त्रलाई चलायमान बनाउने योजना बजेटमार्फत सार्वजनिक गरेको छ।

 

सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ। बजेटमध्ये १२ खर्ब ७० अर्ब रुपैयाँ चालु खर्च, ४ खर्ब ३१ अर्ब रुपैयाँ पूँजीगत खर्च तथा ४ खर्ब २२ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ।

 

सरकारको यो लक्ष्यलाई महत्वाकांक्षी मानिएको छ। अर्थविद्हरूले भने लक्ष्य हासिल गर्न बजेट कार्यान्वयन, निजी क्षेत्रको विश्वास, लगानी वातावरण र उत्पादनमूलक क्षेत्रको सुधार निर्णायक हुने बताएका छन्।

प्रकाशित मिति: २०२६-०५-२९ , समय : १८:१६:५६ , २ घन्टा अगाडि