होमस्टेको आकर्षणले तराई झर्ने क्रम रोकियो

Enepal Patra Pvt. Ltd. , १५२३  पटक हेरिएको

हरि कोइराला
जेफाले(सिंहदेवी) १९ पुस । पूर्वी नेपालको मोरङ जिल्ला भन्ने वित्तिकै औषत नेपालीले समथर भूभागको कल्पना गर्छन । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग । गाउँ गाउँमा स्वास्थ्य,शिक्षा,सु्रक्षा र सडकको पहुँच विस्तार भएको होला भन्ने ठान्छन । तर,उत्तरी मोरङका विकट पहाडी गाउँ सिंहदेवी,याङशिला,पाटी र वारङ्गीका बासिन्दाले वर्षमा मुस्किलले ६ महिना मात्र मोटर चढ्न पाउँछन् । सञ्चार र सुरक्षाको त त्यहाँका बासिन्दाले अनुभूति गर्न पाएकै छैनन ।
अभाव,संकट र समस्या भएपनि ति गाउँहरू यतिबेला आन्तरिक र बाह्य पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गएका छन् । खासगरी जेफाले सामूदायिक होमस्टेको स्थापना भएपछि सिंहदेवीको बिहीबारे र हावेचौरी पुग्ने पर्यटकको संख्या ह्वात्तै बढेको हो । होमस्टेले स्थानीयलाई रोजगार दिएको छ । त्यति मात्र होइन । अभाव झेल्न नसकेर तराई झर्नेको लर्को लाग्ने गाउँमा मानिसहरू घडेरी खोज्दै पुग्न थालेकाछन् ।
होमस्टेका लागि सुविधा सम्पन्न पाँच वटा घर र सम्पूर्ण पूर्वाधार तयार भएको छ । त्यहाँ सम्म पुग्ने सडक,सञ्चार र सुरक्षाको ब्यवस्था खासै राम्रो छैन् । तर पनि जेफाले सामूदायिक होमस्टेले अप्ठ्यारो सडकको जोखिमपूर्ण यात्रा भुलाई दिन्छ ।
धनकुटाको नाम्जेमा पनि सामूदायिक होमस्टे छ । जो जो नाम्जे र भेडेटार पुगेका छन् ति सबै एक पटक जेफाले पुगेरै छाड्छन् । जेफाले सुगम जिल्लाको दुर्गम गाउँमा रहेपनि पूर्वमा पर्यटकको आकर्षक गन्तब्यका रुपमा विकसित भइरहेको छ । जेफालेमा निर्माण गरिएको भ्यू टावरबाट पूर्वाञ्चलका १६ वटै जिल्लाको अवलोकन गर्न सकिन्छ । मेचीपारिका भारतीय शहरहरूको दृष्य हेर्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण जेफाले भ्यू टावरबाट सगरमाथा,कन्चनजंघा र मकालु हिमाल सजिलै देखिन्छन ।
धनकुटाको भेडेटार–नाम्चे समेवा हुँदै पनि जेफाले पुग्न सकिन्छ । एउटै बाटो भएर पुगिने भेडेटार, नाम्जे र जेफाले पूर्वका आकर्षक गन्तब्य बनेका छन् । नाम्जे र जेफालेको मौसम एउटै प्रकृतिको छ । छिनमा हुस्सु लाग्छ, अनि निमेषमा नै घामले प्रिति गाँस्छ । आकाश माथिको कुहिरो छिनभरमा पाहुनाको स्वागतमा तल सम्म ओर्लन्छ । पाहुनाहरूले सेल्फी खिच्न क्यामरा निकाल्न नपाउँदै पाहुनालाई कुहिरोले छोपी दिन्छ । एकदिनमा सयौं पटक घाम झुल्किएको र अस्ताएको अनुभूति हुन्छ । अझ रमाइलो पक्ष त छिन–छिनमा पानी पर्नु हो । खासगरी गर्मीमा खलखल पसिना बग्ने मोरङ, सुनसरी र झापामा झण्डै ३४ किलोमिटर उत्तरलाग्दा लुकलुक जाडो हुने ठाउँ छ । गुराँस फूलेको देख्न पाइन्छ ,भन्दा धेरैलाई पत्यार लाग्दैन । तर गर्मी छल्न नाम्जे र जेफाले जानेहरूको संख्या फागुन पछि बाक्लिने गरेको छ ।
जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाँचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ । स्थानीय अर्गानिक मकै, कोदो र फापरको ढिंढो , सिस्नुको साग र गुन्द्रुकको अचार त्यहाँको पहिलो रोजाई हो । रातपरेपछि मौलिक हुर्राबाचबाट पाहुनाको स्वागत गरिन्छ । जेफाले होस, वा नाम्जे दुई वटै होमस्टेमा सुविधा सम्पन्न घरबास र खानाको प्रबन्ध मिलाइएको छ । जेफाले सामूदायिक होमस्टेका सचिव युवराज ठकुरीले भन्नुभयो – पाहुनाको रोजाईमा खाना खाजा र वासको प्रबन्ध मिलाएका छौं ।
खानामा सबै स्थानीय उत्पादन मात्र प्रयोग गर्ने उहाँले बताउनु भयो ।
जेफालेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउन सक्ने व्यवस्था मिलाइएको छ । त्यस्तै नाम्जेमा २ सय जना सम्मलाई खाना,र वासको प्रबन्ध छ ।
सुनसरीको धरान २० मा सुरु भएको मानेडाँडा होमस्टे स्थानीय तामाङ जातिका महिलाबाट सञ्चालित छ । धार्मिक पर्यटकीय क्षेत्र विष्णुपादुका मन्दिर नजिकै रहेको मानेडाँडा होमस्टेले विष्णुपादुका सम्म पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढाएको छ । होमस्टे कै कारण सो क्षेत्रका महिलाहरू उद्यमी बन्दै गएको तथा त्यस क्षेत्रका माछामारा,चिण्डेडाँडा,कोकाहा बाघ खोप ,दानावारी,बसन्तटार र सर्गे गाउँमा पुग्ने आन्तरिक र वाह्य पर्यटक बढेको होटल व्यवसायी बासुदेव बराल बताउनु हुन्छ । होमस्टे सुरु हुनु भन्दा अघि सम्म धरानको परिचय विजयपुर क्षेत्रका मन्दिर र ऐतिहासिक क्षेत्रले मात्र दिँदै आएकोमा हाल आएर धरान बिशाल र फराक बन्दै गएको बरालले बताउनु भयो ।
सेकहा सामूदायिक,भाङखर्क सामूदायिक र मङ्गादेवी सामूदायिक होमस्टे सङ्खुवासभाका सबैभन्दा चलेका होमस्टे हुन् । होमस्टे एसोशिएसन नेपालका प्रदेश नं. १ का अध्यक्ष विनोद सुब्बा गुरुङका अनुसार सङ्खुवासभामा ५ वटा होमस्टे छन् । स्थानीय संस्कार र संस्कृतिको प्रवद्र्धन एवं स्थानीय अर्गानिक खाना, खाजाले स्वागत गरिने होमस्टेमा बाह्रै महिना पाहुनाको अभाव नहुने अध्यक्ष गुरुङको भनाई छ ।
पछिल्लो समय स्वदेशी र विदेशी पाहुना उत्तिकै आउने गरेका छन् । हरेक होमस्टेले नौला नौला प्रस्तुति दिने गरेका छन् । पाहुनाको माग अनुसार स्थानीय जातका धान ,मकै, कोदो र फापरको भात, ढिंढोसँग स्थानीय जातका माछा, खसी,कुखुरा, बंगुरको मासु तत्काल प्रबन्ध गरिन्छ । खाना र नास्ताको ब्यवस्थापन,स्वागत र सरसफाईमा सञ्चालकहरू आफैं खटिनु हुन्छ ।
साँझपख विभिन्न जातका मौलिक पहिरन लगाएका जातीय नृत्यहरूले पाहुनालाई मनोरञ्जन प्रदान गरिन्छ । गाउँलेहरू समेत भेला भएर जाडोमा आगो ताप्ने, गर्मीमा खोला किनारमा पौडी खेल्ने स्नान गर्ने समेत व्यवस्था हुन्छ ।
इलामका होमस्टेले पाहुनालाई सत्कार गर्ने प्रक्रिया अलि भिन्न छ । होमस्टे एसोशिएसन नेपालका प्रदेश नं. १ का उपाध्यक्ष एवं अन्तुडाँडा सामूदायिक होमस्टेका सञ्चालक धरणी घिमिरे अन्तुडाँडा होमस्टे देश कै सबैभन्दा ठूलो भएको बताउनु हुन्छ । घिमिरेले भन्नुभयो–अन्तुडाँडा पर्यटन क्षेत्रमा ५३ वटा घरमा होमस्टे सञ्चालन भएको छ । ५३ घरमा २५० भन्दा बढी पाहुनालाई घरबासको सुविधा छ । पाहुनाको माग अनुसार बस्ने खाने सुविधा मात्रै होइन । सूर्योदयको दृष्यावलोकन, अन्तुपोखरी अवलोकन र चियावारी भ्रमणको समेत व्यवस्था छ । घिमिरेले भन्नुभयो–‘पाहुनाले माग गरेको अवस्थामा भारतको मिरिक स्थित विश्वको सबैभन्दा पुरानो चिया बगान समेत घुम्ने ब्यवस्था मिलाइएको छ ।
पाहुनालाई एक दिन मात्रै होइन, कम्तीमा तिन दिन सम्म बस्ने व्यवस्था मिलाउन सके पाहुनालाई आफ्नै हातले टिपेको चिया चखाएर कोशेली समेत लाने व्यवस्था मिलाउने तयारी भइरहेको उपाध्यक्ष घिमिरेले बताउनु भयो । पाहुनालाई २ घण्टा चिया टिप्ने अनुभव दिलाउने । त्यो चिया सुकुन्जेल घुमाउने र तीन दिनपछि त्यो अर्गानिक चिया पकाएर खान दिने अनि फर्कदा अर्गानिक ग्रीन टिको कोशेली समेत लिएर फर्कने व्यवस्था भइरहेको उहाँको भनाई छ । श्रीअन्तु पर्यटकीय क्षेत्रमा २ वटा होमस्टे छन् । होमस्टे सुरु भएसँगै स्थानीयको आम्दानी समेत बढेको उपाध्यक्ष घिमिरे बताउनु हुन्छ । घिमिरेका अनुसार इलाममा ४ वटा सामूदायिक र ३ वटा नीजि होमस्टे रहेकाछन् ।
झापाको दमकमा प्रथम नागरिक धिमाल सामूदायिक होमस्टे सञ्चालनमा छ । धिमाल समूदायको संस्कुति, परम्परा, खानपान र पहिरनको जगेर्ना गर्ने उदेश्यले सञ्चालन भएको होमस्टेमा पुग्ने जो कोहीले धिमाल जातिको बारेमा अध्ययन गर्न, बुझ्न र पढ्न सक्छन् । धिमालहरूको परम्परागत खानपान र बासका लागि धिमाल मात्र होइन, गैर धिमाल पनि पुग्ने गरेको होमस्टे सञ्चालक हरिलाल धिमाल बताउनु हुन्छ । धिमाल भन्नुहुन्छ–होमस्टे सञ्चालन भएयता पाहुनाको अभाव छैन् ।
प्रदेश नं. १ मा जम्मा ९३ वटा होमस्टे सञ्चालनमा छन् । जसमध्ये ७३ वटा सामूदायिक होमस्टे रहेका छन् । प्रदेश अध्यक्ष विनोद गुरुङले भन्नुभयो – प्रदेश नं. १ का होमस्टे दर्ता कार्य विधि तयार नगरेकोले धेरै होमस्टे दर्ता नभई सञ्चालन भइरहेका छन् । होमस्टे सञ्चालनका लागि सरकारले खासै सहयोग नगरेको गुरुङको भनाई छ । यद्यपि प्रदेश सरकारले होमस्टे प्रवद्र्धनका लागि १६ लाख रुपियाँ बराबरका विभिन्न कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनु भयो । विभिन्न गैर सरकारी संस्था र स्थानीय निकायले समेत होमस्टेको विकास र प्रवद्र्धनका लागि २५ लाख बढी लगानी गरिसकेका छन् ।
सामूदायिक र नीजि क्षेत्रमा गरी कुल डेढ करोड रुपियाँ लगानी भइसकेको अध्यक्ष गुरुङले बताउनु भयो ।
सहुलियत ब्याजदरमा ऋण पाउने
होमस्टे सञ्चालकहरूलाई सेवा बिस्तार र प्रवद्र्धन गर्न कृषि विकास बैंकले बढीमा २० लाख रुपियाँ सम्म सस्तो ब्याजदरमा सहुलियत ऋण दिने भएपछि होमस्टे सञ्चालकहरू खुसी भएकाछन् । इलाममा होमस्टे सञ्चालन गर्दै आएका सर्वसाधरणहरूले आर्थिक अभावमा ब्यवसाय बिस्तार गर्न नसकिरहेका बेलामा कृषि विकास बैंकले ऋण दिने सम्झौता गरेपछि सञ्चालकहरू खुसी भएका हुन् । श्रीअन्तु पर्यटकीय क्षेत्रमा मै ठूला ठूला लगानीक सुविधा सम्पन्न होटल खुल्न थालेपछि होमस्टेको मौलिकता सङ्कटमा पर्ने स्थानीयको चिन्ता थियो । तर, अब पैसा कै अभावमा होमस्टे सङ्कटमा पर्दैनन् , अध्यक्ष गुरुङले भन्नुभयो ।
भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश नं. १ का सबै होमस्टेले २० प्रतिशत छुट दिने ब्यवस्था गरेका छन् ।

प्रकाशित मिति: २०२०-०१-०४ , समय : १०:२५:३१ , ४ वर्ष अगाडि