स्टार्टअप एण्ड इन्नोभेसन मेलामा रोबोटको फुटवलदेखि सेटेलाइटसम्मको आकर्षण

Enepal Patra Pvt. Ltd. , ३१४  पटक हेरिएको

काठमाडौं १३ पूस । लिभिङ विथ आइसिटीले आयोजना गरेको फ्युजमेशिन आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला सम्पन्न भएको छ । दुई दिने मेला थापागाँउ स्थित प्रेसिडेन्टियल स्कुलमा आयोजना भएको थियो । कार्यक्रममा ५० भन्दा बढि स्टार्टअप तथा कलेजका विद्यार्थीहरुका प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो ।

शुक्रवार मोबाइलबाट पानसमा बत्ति बालेर कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले उद्घाटन गरेका थिए । सरकार डिजिटल नेपालको अभियानमा हिडिरहेको र यस प्रकारका कार्यक्रमले उद्धेश्य पूरा गर्न सहयोग गर्ने बताएका थिए ।

सुचना प्रविधि मन्त्रालयका सह सचिव बिरेन्द्र मिश्र क्यान महासंघका पूर्व अध्यक्ष विनोद ढकाल र प्रोफेसर डा। सुवर्ण शाक्यले उद्यमशिलता र सरकारको डिजिटल नेपालको अभियानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक राजन लम्सालले भने “हामीले पुर्वको पाँचथरदेखि पश्चिम रोल्पासम्म पुगेर आइटीका कार्यक्रम गरेका छौ, स्टार्टअप, उद्यमिलाई प्रवद्धन गर्दै डिजिटल नेपालको अभियानलाई सहयोग पुर्याउनको लागि कार्यक्रम गरेका हौ ।”

प्रविधिको यो मेलामा स्टार्टअप कम्पनीका नयाँ प्रडक्टहरु, विद्यार्थिले बनाएका इन्नोभेटिभ प्रोजेक्ट, रोबोटहरुको फुटवल प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबट तथा नेपालीका नयाँ इन्नोभेसनहरु विशेष आकर्षण रहेका थिए ।

यसैगरी शुक्रवार एआई र क्लाउड प्रविधि विषयमा वर्कशप सञ्चालन भएको थियो । त्यस्तै शनिवार ब्लकचेन, आइओटी र पाइथनमा वर्कशप सञ्चालन भएका थिए । स्टार्टअप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स पनि सञ्चालन भएको थियो ।

यस मेलाको शिर्ष प्रायोजन फ्युज मेसिन्सले गरेको थियो । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणको विशेष सहयोग रहेको थियो ।

लिभिङ विथ आइसिटीले यसअघि नै बैशाख र जेठमा बिराटनगर, बुटवल र नारायणगढमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आयोजना गरिसकेको छ भने विगत ४ वर्षदेखि आइसिटी अवार्ड आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २०१९-१२-२९ , समय : १३:०५:५७ , ४ वर्ष अगाडि