बालिकाको शल्यक्रिया सफल ,एनएमसीले गरिदियो निशुल्क उपचार

enepalpatra , १५८  पटक हेरिएको

दुई तलाबाट झरेर गम्भिर २ वर्षीय बालिकाको केएमसीमा सफल शल्यक्रिया

काठमाडौं,  चैत २७। घरको २ तलामाथिबाट खसेर गम्भिर घाइते भएकी २ वर्षीया बालिकाको टाउकाको काठमाडौं मेडिकल कलेजले सफल शल्यक्रिया गरेको छ । शनिबार भक्तपुर गठ्ठाघरको निर्माणाधिन एक घरको दुई तलाबाट खसेर दुई वर्षीया एक बालिका गम्भिर घाइते भएकी थिइन् ।

उक्त घर निर्माणमा संलग्न उदयपुर रौतामाईका श्याम तामाङको २ वर्षीय छोरी खेल्ने क्रममा निर्माणाधिन घरको छतबाट खसेकी थिइन् । टाउकोमा गम्भिर चोटका कारण अर्धबेहोस अवस्थामा ती बालिकालाई तत्कालै केएमसी ल्याइएको थियो । अस्पताल ल्याउने क्रममै २ पटक छारे रोग समेत देखा परेको अवस्थामा केएमसीका दक्ष चिकित्सकहरुले छारे रोग नियन्त्रण गर्दै बालिकाको सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । ती बालिकाको टाउकोको सिटी स्क्यान गरेर हेर्दा देब्रे भागमा रगत जमेको, हड्डी समेत धसिएको अवस्थामा थियो ।

त्यसपछि अस्पतालका न्यूरोलोजी विभागका डा. सन्दिप बोहरासहित डाक्टरहरुको टोलीले शल्यक्रिया गरेको थियो । ‘इमरजेन्सीमा बालिकालाई ल्याउँदा उनी अर्धवेहोस थिइन्, टाउकोको देब्रे मस्तिस्कको हड्डी धसिएको थियो, दाहिने मस्तिस्कमा गम्भिर चोट थियो । हामीले कुनै रिस्क नलिइकन तत्कालै शल्यक्रिया गर्यौं ।’ कलेजका न्यूरोलोजी विभागका डा. बोहराले भने ।

शल्यक्रियामा चिकित्सकहरुले ती बालिकाको टाउकोमा जमेको रगत निकाल्नुका साथै, धसिएको हड्डीलाई समेत साइजमा ल्याउँदै २ वटा पाता राखिदिएका छन् । ‘हड्डी थेप्चिएकोले त्यसलाई काटेर २ वटा पाता फिक्स गरिदिएका छौं, उनको मस्तिस्कको झिल्ली नच्यातिएकोले रगत पसेर संक्रमित हुन पाएको रहेनछ । अहिले बालिकाको अवस्था नर्मल हुँदै गएको छ ।’ डा. बोहराले भने ।

उनका अनुसार बयस्क मान्छेको हड्डी धसिँदा टुक्राटुक्रा हुन्थ्यो तर, बालबाबालिकाहरुको हड्डी बढ्ने क्रम अनुसार नरम रहेकाले फिक्स साइजमा ल्याउन सकिएको हो । शल्यक्रिया पश्चात बालिकालाई एक दिन आइसियूमा राखेर अहिले हाईकेयरमा सारिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । बालिकाकाे स्वास्थ्यवस्था सामान्य बन्दै गएकाे छ ।

बालिकाको शल्यक्रियामा केएमसीका न्यूरोलोजी विभागका लेक्चरल डा. बोहरालाई माल्दिभ्सका डा. जैदन आटी, एनेस्थेसियाका कन्सल्टेन्ट डा. शुशिला लामा, डा. स्वागत तथा डा. परा लगायतको टोलीले साथ दिएको थियो ।

अस्पतालमा ल्याउने वित्तिकै चिकित्सकहरुले तत्कालै उपचार सुरु गरेकाले आफ्नो छोरी बाँच्न सफल भएको बुबा श्याम तामाङले बताए । ‘छोरीको माया मारिसकेको थिए, डाक्टरहरुले बचाउनु भयो ।’ उनले भने ।

केएमसीले पछिल्लो समय स्वास्थ्य सेवाहरुलाई गुणस्तरीय प्रविधिमैत्री बनाउँदै लगेको छ । २ वर्षअघि मात्र विराटनगरका समाजसेवी, राजनीतिज्ञ डा. सुनिल शर्माले केएमसीको स्वामित्त लिएपछि अस्पताल सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै लगिएको थियो । हाल डा. शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर गइसकेका छन् । डा. शर्माले केएमसीलाई मुलुककै उच्च प्रविधिको स्वास्थ्य संस्था बनाउने भनेका थिए । सोही अनुसार दक्ष जनशक्ति, उच्चस्तरीय प्रविधि र स्वास्थ्य उपकरण भित्र्याइएको छ ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : १८:२२:५४ , १ वर्ष अगाडि