पद र ठाउँ नपाउँदा म्याउँम्याउँ पाए पछि भ्याउँभ्याउँ ?

मणिराम दाहाल , ४२२  पटक हेरिएको

बिराटचौक , १३ साउन । स्थानीय कार्यक्रममा स्थानीय मिडिया तथा सञ्चारकर्मीलाई स्थान दिएर यसको विकास गर्नुको सट्टा बाहिरको मिडियालाई बोलाएर कतिपय कार्यक्रममा स्थान दिइन्छ । आफु ठूलो मान्छे जस्तोगरि आफुखुसी खर्च गरेर मेरो ठूलो कार्यक्रम हो भने जस्तो गरि धाक देखाउने सोच भएको कारणले गर्दा स्थानीय मिडिया तथा सञ्चारकर्मीको विकास हुन नसकेको हो । शुरुमा आफुलाइ आवश्यक पर्दा जतिखेर पनि प्रयोग गर्ने अनि काम बनेर फाइदा हुन थालेपछि, प्रचारप्रसार भए पछि ठूलो पल्टिने र असहयोग गर्ने व्यावहारमा परिवर्तन आउँन जरूरी छ । राम्रो काम गर्न खोज्ने स्थानीयलाई उपेक्षा तथा पक्षपात गर्ने र कहिले काहिँ झुल्कनेलाई सपोट गरि उसको पछि लाग्ने सोचको अन्त्य होस

म मिडियामा अब केहि बोल्दिन भनेर ठूलो नपल्टिदा हुन्छ, हिजो अप्ठ्यारो पर्दा अनि ठाउँ नपाउँदा सपोर्ट गरेर मेहेनतको पसिना बगाएर माथि पुयाउँने स्थानीय मिडिया र सञ्चारकर्मी पनि थिए भन्ने नबिर्सनु । राम्रो काम गर्ने मान्छेलाई अघि बढ्न तथा हरेक गतिविधिमा मिडियाको प्रचारप्रसार र साथ सहयोग पनि चाहिन्छ ।

पद र ठाउँ नपाउँदा म्याउंम्याउँ, पद पाए पछि भ्याउभ्याउँ, के गर्न खोजेको ? एका दुईले ठूला ठूला क्यामरा तेर्साएको भरमा मख्ख नपरे हुन्छ तेस्तो समाचार र विषयबस्तु कसरी र कुन हिसाबले प्रसारण हुन्छ । त्यो पनि राम्रोसँग बुझेको छ समाजले । कतिपयले ठूला-ठूला क्यामरा चहि तेर्साउँने अनि समाचार चहि खल्तीमा हालेर प्रसारण नगर्ने पनि हुन्छन् भन्ने कुरा पनि ख्याल राख्न जरुरी छ

अरु सबै कुरामा बजेट तथा पैसा छुट्टाएर काम गर्ने अनि मिडिया र श्रमजीवीको रुपमा रहेको सञ्चारक्षेत्रलाई चाहिं शुन्य बनाएर जहाँ पनि उसको खल्तीको पैसा खर्च गरि काम गर्नुपर्ने वातावरणको अन्त्य हुनु जरूरी छ । सञ्चारकर्मीले बिक्न मिल्दैन भने उसले टिक्न त मिल्छ होला नि ? स्थानीयस्तरको विज्ञापन स्थानीय मिडियाले पाउँनु उसको पहिलो अधिकार हो तर स्थानीय मिडियालाई हावा खुवाएर कमिसनको खेल तथा व्याक्तिगत स्वार्थमा स्थानीय तहले समेत किन विज्ञापनबाट बन्चित गर्छ यहाँ ?

मोफसलमा रहेको अनि कसै कसैले उपेक्षा गरेको मिडिया तथा सञ्चारकर्मीलाई पो आफ्नो स्थानीय ठाउँको बारेमा माया हुन्छ र हौसला पाउँदा राम्रो समाचार लेखेर विषय बस्तु पनि उठान गर्छ त बाहिरको लागि खासै के माया र महत्व हुन्छ र ? तर यहाँ कस्तो चलन हुन्छ कहिले काहिँ आफ्नो ठाउँकोलाई वाईवाई अरुलाई हाईहाई ।

मिडिया र सञ्चारकर्मीले पनि सहि काम पत्रकार आचारसंहिताको परिधि र अनुशासन भित्र रहेर गर्न जरूरी छ । जो पनि पत्रकार हुने अनि आफु अनुकुलको मिडिया संचालन गरेर जे पायो तेहि गर्नेको कारणले गर्दा राम्रो काम गर्ने मिडियाको गरिमा तथा प्रतिष्ठामा समेत प्रश्न चिन्ह खडा भएको छ

कसैले कसैलाई केही दिनु पर्दैन तर व्यवहार राम्रो गरे पुग्छ कसैबाट कुनै ठूलो आश पनि राख्ने होइन् तर कर्मको मैदानमा श्रमजीवीको रुपले अगाडि बढ्दा पैताला र हातमा उठेका ठेलाहरूको सम्बोधन होस भन्ने चाहना चहि छ । स्थानीय भएर स्थानीयको कामलाई कदर अनि सकेको सपोट गर्न सिकौं । यसबाट आफुलाई पनि सपोट मिल्नुको साथै आफुसँगै अरुको पनि विकास हुन्छ। यहि भन्न खोजेको हो, गलत अर्थ नलागोस, यस्तो गलत प्रवृतिको सोच र व्यावहारमा परिवर्तन आउन जरूरी छ ।

प्रकाशित मिति: २०२२-०७-२९ , समय : ०७:१७:२० , २ वर्ष अगाडि