ग्रामीण स्वास्थ्य र उपचारको घुइँचो एउटा अनुभूति  –युवराज बास्कोटा

enepalpatra , ५७३  पटक हेरिएको

जग्गादाता बाबुराम राईसँग आचार्यजी

मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत छाला रोग सम्बन्धी विशेषज्ञ डाक्टर अनीलराज तिमिल्सिना प्रत्येक शुक्रबार पथरी नगर अस्पताल आउनुहुन्छ । उहाँ यो रोग सम्बन्धी विषय विशेषज्ञ डाक्टर हुनुहुन्छ भनेर अलि पहिल्यै सुनेको थिएँ । नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यको सल्लाहअनुसार असार २९ गते बिहानै साढे ९ बजे अगावै पथरी शनिश्चरे नपा वडा नं. २, छ्यालिस बिघेस्थित नगर अस्पताल पुगेँ ।
मैले चाहेको चिकित्सक आउनु भएको थिएन । चिनजानका धेरैजना साथीहरू– कोही स्वयम् बिरामी भएर र कोही आफ्ना आफन्तजन लिएर आउनु भएको थियो । उपस्थित मध्ये सय भन्दा बढी त ठाडो चिनजानकै हुनुहुन्थ्यो । दर्जायानी नमस्कार सहित सञ्चो बिसञ्चो सोधसाध गर्दै प्रशासन कक्षमा पुगेर डाक्टर तिमिल्सिनाबारे बुझेँ । बिहानैदेखि आएको लगातार झरी, ओझिलो बादल र मध्यबर्खा भएकोले नआउनुभएको हुनसक्छ– प्रतिउत्तर पाएँ ।
अस्पतालबाहिरै दर्जनौँ अट्टो रिक्सा, टेम्फो, सस्याना सवारी साधनहरूदेखि लिएर प्रशासन कक्षसम्म मोटरबाइक र स्कुटरहरू बग्रेल्ती राखिएका थिए । जनही गाडी प्रयोग भएजस्तो ! सस्याना बालबालिकादेखि लिएर लट्ठिको साहरामा त्यहाँ पुग्नुभएका बुबा–आमालाई झरीबादलका कारण ओतलाग्दो ओबानो ठाउँमा ढुक्कसँग आरामविश्रामको राम्रो प्रबन्ध अभाव देखिन्थ्यो । यो तहको घुइँचो भीड लागेको देखेर मेरो पीडामा मल्हम लाग्यो, अलिकति भए पनि सञ्चो भएको अनुभूति भयो । यस्तो घना झरीबादलमा पनि साढे ३ सय माथिको यो उपस्थिति, उपचारको लालसा र विश्वासले सम्मोहित मानिसको जमघट आफैंमा सम्झन र सम्मान गर्न लायक थियो ।
हस्याङफस्याङ ढंगले आत्तिँदो र हतारिँदो मिजासमा नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र फार्मेसी कक्षको भाइ सञ्जीव गुप्ताको व्यवहार कार्यालयमुखी कर्मचारी र व्यवसायिक धर्मको मात्र थिएन । सेवाग्राहीप्रति सेवाभावका साथ समर्पित थियो । जिम्मेवारी बोधको यो पक्ष कतिपय असाहय र अशक्त बिरामीको व्यवस्थापन र व्यवस्थापनमा सहजीकरणको भूमिका लोभलाग्दो थियो । सम्भवतः यो पनि एउटा कारण हुनसक्छ– यो भीड हुनमा भन्ने मनमा लाग्यो । सधैँभरि एकनास मानवीय सेवामा देखिनुहुने समाजसेवी बाबुराम राई आज यहाँ देखिनुभएन, भेटिनुभएन ।
मानिसको जीर्ण स्वास्थ्य र स्वास्थ्योपचारको मूल्यमा तर्सिएको यहाँको राजनीति र त्यो भीडलाई निकैबेर गमेर सम्झिएँ । मनमिल्दा कतिपय व्यक्ति व्यक्तित्वसँग संवाद आदानप्रदानमा रमाएँ । मानिस बिरामी हुनु राम्रो कुरा किमार्थ होइन तर बिरामी पर्दा घरपायक क्षेत्रमा उपचार पाउनु चाहिँ असाध्यै राम्रो कुरा हो । राज्यले यसको व्यवस्थापन गर्न सकेको छ । अपवादबाहेक अधिकांश रोग सम्बन्धी उपचार यहिँ पाइन्छ । मनमा अगाध सम्मान जाग्यो र असाधारण खुशी लाग्यो ।
बीमा व्यवस्थापन, बीमामार्फत उपचार र बीमाबाटै औषधीको प्रबन्धले आकर्षित यो अस्पताल मोरङमै विराटनगरपछिको स्थानमा आउँछ भनेर पटकपटक विराटनगर धाएकाबाट आफ्नो नगर अस्पतालबारे सुन्दा खुशी लागेर आयो । बढ्दो सेवाप्रवाहका दृष्टिकोणले यतिबेला यो अस्पताल चर्चाको शिखरमा छ । २६ कठ्ठा जग्गामा फैलँदो आकार लिएको यो नगर अस्पताल सञ्चालनको छोटो समयमै यहाँसम्म आइपुग्दा सर्वसाधारणको पहुँचमा उत्कृष्ट सेवा प्रदान गर्ने संस्थाको रूपमा चर्चा बटुल्न सफल भएको छ ।
बाबुराम राईलगायत स्थानीय जग्गादाताको सहयोगमा निर्मित अस्पतालमा गत वर्षयता आकस्मिक सेवा सञ्चालित छ । सेवाप्रवाहमा दत्तचित्त र एकाग्र मनका साथ खट्नुभएका राईजी, आचार्यजी लगायत स्थानीयजन यहाँको भौतिक व्यवस्थापन, व्यवस्थित संरचना विकास, यसअनुरुप बिरामीको चापमा सन्तुलन नमिलेकोमा चासो लिएको मात्र होइन, चिन्तित रहने गर्नुभएको देखिन्छ ।
सुरुका दिनमा निर्मित १५ शैयाको सानो अस्पतालबाट सेवाप्रवाह सुचारु भएको यो नगर अस्पतालमा फिजियोथेरापी, स्त्रीरोग, आँखाको रोग र दाँत रोग सम्बन्धी छुट्टाछुट्टै कक्षमा अत्याधुनिक सेवा आरम्भ हुने भएको छ, अहिलेसम्म ९ वटा ओपीडी सेवा सञ्चालनमा छन्, स्थानीय आवश्यकता अनुसार सर्पदंश उपचार केन्द्र पनि आरम्भ गर्ने हो भने यहाँ चाहिने सेवा र सेवाप्रवाहका दृष्टिकोणले यो आधारभूत रूपमा पर्याप्त हुने विश्वास आचार्यको छ ।
संघीय सरकारको प्रस्तावमा गत वर्षमै विनियोजित १८ करोड लागतको भवन बनेसँगै आरम्भ हुने सेवा र सुविधा र नगरको चालू वर्षमा स्वास्थ्य शीर्षकमा विनियोजित बजेट १ करोड ८९ लाख ८५ हजार रकमको समोचित प्रयोग भएको दिन आफ्नो पालिका आधारित सेवाग्राहीलाई मात्र होइन, अन्तरपालिकाका समेत बिरामीको चाप दोब्बर बढ्ने विश्वास अध्ययनको खाका आचार्यजीमा छ ।
आमरूपमा सर्वसाधरणको पहुँचमा आधारित स्वास्थ्यसेवा थप बढी प्रभावकारी बन्न सकोस् ! यसका निम्ति तपाई सबैको अविश्रान्त प्रयासप्रति नमन र सम्मान सहित सफलताको लागि हार्दिक शुभकामना !

प्रकाशित मिति: २०२३-०७-१५ , समय : १७:११:५७ , १० महिना अगाडि