संयुक्त राष्ट्रसङ्घको आग्रह

rss , ७६८  पटक हेरिएको

संयुक्त राष्ट्रसङ्घ, १५ असार । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले शान्तिपूर्ण माध्यमबाट सबै प्रकारका समस्याहरुको हल गर्न सुडान र इथियोपियालाई आग्रह गर्नुभएको छ ।

उहाँले पछिल्ला दिनहरुमा सुडान र इथियोपियाका अधिकारीहरुका बीचमा बढ्दै गएको तनावलाई कम गर्ने विषयमा काम गर्न ती दुई देशलाई आग्रह गर्नुभएको हो ।

उहाँका प्रवक्ता स्टेफान डुजारिकले मङ्गलबार प्रकाशन गर्नुभएको एक विज्ञप्तिमा भन्नुभएको छ– आपसमा कुनै पनि तनाव नबढाउँ, शान्तिपूर्ण माध्यमबाट पनि सबै प्रकारका समस्याको समाधान खोज्न सकिन्छ ।

हालैमात्र यी दुई देशको सीमा क्षेत्रमा भएको विवादमा परेर सुडानी सैनिक मारिएका थिए । त्यसको सुडानले कडा विरोध गर्दै आएको छ । सुडानी अधिकारीहरुका अनुसार इथियोपियाका सेनाले आफ्नो सेनाको हत्या गरेको थियो र त्यसका विरुद्धमा सुडानले संयुक्त राष्ट्रसङ्घमा नै उजुरी दिने तयारी गरेको छ । तर यसरी विवाद नबढाई आपसमा वार्ता गरेर समस्या समाधान गर्न महासचिव गुटर्रेसले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: २०२२-०६-२९ , समय : १३:४०:३५ , २ वर्ष अगाडि