रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी

मिनाक्क्षी राई , १३  पटक हेरिएको

खोटाङ, ६ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ले जैविक विविधता संरक्षण, प्रकृतिमा आधारित जीविकोपार्जन एवम् रोजगारी सृजना, दिगो विकास तथा पर्यापर्यटन प्रवद्र्धन, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, स्थानीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धतासहित सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी गरेको छ । दिक्तेल बजारस्थित सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न तीनदिने अन्तराष्ट्रिय सम्मेलनले परम्परागत अभ्यास, वैज्ञानिक ज्ञान र अन्तर्राष्ट्रिय अनुभवलाई एकीकृत गर्दै सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतासहितको दिक्तेल घोषणापत्र जारी गरेको हो ।

स्थानीय समुदायको सहभागितामा वनजङ्गल, बाँस–निगालो, खर्क, खोला खोल्सी, तालतलैया, जरीबुटी, पोखरी र जैविक मार्गको पुनः स्थापना तथा दिगो व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहको नेतृत्वमा लोपोन्मुख प्रजाति रेडपाण्डा (हाब्रे) र थारको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै सहभागितामूलक विशेष संरक्षण नमूना कार्यक्रम सञ्चालन गर्ने घोषणपत्रमा उल्लेख गरिएको छ । प्रकृति र संस्कृतिबीचको अन्तरसम्बन्धलाई सुदृढीकरण गर्दै किरात संस्कृति तथा मुन्दुमी सभ्यताको संरक्षण एवम् प्रवद्र्धन, मुन्दुम ट्रेल (पदमार्ग)सँग जोड्न रेडपाण्डा–थार पदमार्ग तथा अन्य ऐतिहासिक–साँस्कृतिक पदमार्गहरूको विकास, स्थानीय पथप्रदर्शक उत्पादनका लागि प्रशिक्षण तथा समुदायमा आधारित होमस्टे (घरवास) कार्यक्रमहरु सञ्चालन गरेर पर्यापर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।

परम्परागत ज्ञान, सीप र अभ्यासहरूलाई आधुनिक प्रविधिसग संयोजन गर्दै प्रकृतिमा आधारित समाधानका उपायहरूको अवलम्वन गरी जलवायु परिवर्तन र विपद्का जोखिम न्यूनीकरण गर्ने अन्तर्राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । बाँदरलगायत समस्यामा आएका जङ्गली जनावारको पहिचान गरी पूर्व सूचना प्रणाली, उपयुक्त छेकबार, समुदायमा आधारित बीमा एवम् क्षतिपूर्ति प्रणाली, वन्यजन्तुबाट कम हानीनोक्सानी हुने खेतीबाली तथा सामुदायिक द्रुत प्रतिकार्य टोली स्थापना गरी मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्दै सह–अस्तित्व कायम गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।

शैक्षिक तथा अनुसन्धानमूलक सङ्घसंस्थाहरूको सहकार्यमा पहिचान भएका वन्यजन्तुको अनुगमन तथा आहार–बिहार सम्बन्धी प्रभावकारी अध्ययन अनुसन्धान गर्दै हिमाली जैविक विविधताको संरक्षण, संवद्र्धन र ज्ञान अभिवृद्धि गर्नेसमेत अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी देशका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् । घोषणपत्रमा उल्लेख गरिएका संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्न सङ्घ, प्रदेश, स्थानीय सरकार, संरक्षण साझेदार संस्था, राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र र अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गर्ने जनाइएको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा लोपोन्मुख वन्यजन्तुहरुको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनीले सहभागिता जनाएको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँ, वन तथा भू–संरक्षण विभाग काठमाडौँ, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौँं, त्रिभूवन विश्व विद्यालयको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो ।

प्रथमपटक आफ्नो जिल्लामा आयोजना गरिएको ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ सफलतापूर्वक सम्पन्न भएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “विश्वमा जलवायु परिवर्तनमा आएको परिवर्तनका कारण वन्यजन्तु र जैविक विविधता सङ्कटमा पर्दै गएको छ । यो अवस्थामा दिक्तेलमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनले आवश्यक राष्ट्रिय नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देशका विषयविज्ञहरुलाई सहभागी गराइएको थियो । आफ्नो जिल्लामा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनले स्वरोजगार, स्थानीय सीप र रैथाने सामग्रीको प्रयोग तथा पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

वैशाख–४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिले दशवटा विषयगत कार्यपत्र प्रस्तुत गरेका थिए । जैविक विविधता संरक्षण र दीर्घकालीन योजना निर्माण, लोपोन्मुख वन्यजन्तु संरक्षित क्षेत्र र प्राथमिकतामा राख्नुपर्ने विषयहरूको पहिचान, जैविक विविधता संरक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरिएको हो ।

प्रकाशित मिति: २०२६-०४-१९ , समय : २१:१०:४५ , ३ घन्टा अगाडि