माग पूरा नभए आमरण अनसन बस्ने चेतावनी, धर्मेन्द्रकुमार कर्णद्वारा सरकारसमक्ष ५ बुँदे प्रस्ताव

प्रशान्त निराैला , १३  पटक हेरिएको

जनकपुर, ६ बैशाख। जनकपुरधामका अभियन्ता तथा सत्याग्रही धर्मेन्द्रकुमार कर्णले आफ्ना मागप्रति सरकार गम्भीर नदेखिएको भन्दै आमरण अनसन बस्ने घोषणा गर्नुभएको छ। अर्थतन्त्रको लागत घटाउने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रस्तावमा कुनै सुनुवाइ नभएको आरोप उहाँको छ।

कर्णले प्रधानमन्त्री बालेन्द्र साह र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव समक्ष आफ्ना माग राखे पनि बेवास्ता गरिएको दाबी गर्नुभयो। उहाँका अनुसार माध्यमिक तहमा गुणस्तरीय शिक्षा प्रवर्द्धन र शिक्षा क्षेत्रको लागत घटाउने वैकल्पिक शिक्षण विधिबारे सरकार स्पष्ट हुनुपर्छ र मुख्यमन्त्रीले यस विषयमा सार्वजनिक रूपमा जवाफ दिनुपर्ने माग गरिएको छ।

उहाँले संघीय सरकारले निजी क्षेत्रबाट अघि सारिएको लागत घटाउने पहलमा देखिएका अवरोध हटाउनुपर्ने, सञ्चार क्षेत्रसँग सम्बन्धित नीतिगत भ्रष्टाचारका विषयमा प्रधानमन्त्रीसहित सम्बन्धित पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने तथा जनप्रतिनिधिसमक्ष राखिएका गुनासा र निवेदनमाथि ४८ घण्टाभित्र प्रतिक्रिया दिने व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ।

त्यसैगरी, जानकी मन्दिर लगायत मठ–मन्दिरका जग्गा दर्तासम्बन्धी समस्या तत्काल समाधान गर्न, रोक्का आदेश खारेज गर्न र साना टुक्रा जग्गाको वित्तीय तरलता बढाउन प्रभावकारी पहल गर्नुपर्ने माग पनि उहाँले अघि सार्नुभएको छ।

कर्णले जनकपुर–१० स्थित आफ्नै कार्यस्थलबाट आन्दोलनको तयारी सुरु गरिसकेको जानकारी दिँदै मागहरू समयमै सम्बोधन नभए अनसनका क्रममा उत्पन्न हुन सक्ने कुनै पनि अप्रिय अवस्थाको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिनुभएको छ।

प्रकाशित मिति: २०२६-०४-१९ , समय : १८:२९:०१ , ३ घन्टा अगाडि