Enepal Patra Pvt. Ltd. , ३८९ पटक हेरिएको
काठमाडौँ, १० चैत । प्रगतिशील लेखक सङ्घ नेपालका संस्थापक श्यामप्रसादको सालिक मोरङ बेलबारीमा स्थापना गरिँदै छ । प्रलेसको १२औँ राष्ट्रिय सम्मेलनका पूर्वसन्ध्यामा यही चैत १२ गते सालिकको अनावरण हुने भएको छ ।
केवलपुरे किसान, बालकृष्ण पोखरेल आदिको सहभागितामा विसं २००९ असोज ५ गते वीरगन्जमा साहित्यकार भवानी घिमिरेले संस्थाको उद्घाटन गर्नुभएको थियो । प्रलेसको नयाँ नेतृत्व चयनका लागि आगामी राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते काठमाडौँमा हुँदै छ । सम्मेलनका लागि आयोजक समितिसहित व्यवस्थापन, प्रकाशन, स्रष्टा सम्मान, प्रतिवेदन मस्यौदा, विधान मस्यौदा, प्रचारप्रसार, स्वयंसेवक परिचालन र अतिथि सत्कार उपसमिति गठन गरिएको छ । राष्ट्रिय सम्मेलनअघि हालसम्म ३३ जिल्ला सम्मेलन र ६ प्रदेश सम्मेलन भइसकेको प्रलेसका अध्यक्ष डा जीवेन्द्रदेव गिरीले बताउनुभयो ।
मुलुकका सबै वाम घटक आबद्ध लेखक एवं स्रष्टाको पुरानो संस्था प्रलेसका सम्मेलनका अवसरमा मुलुकका सात प्रदेशको इतिहास समेटिएको ‘प्रलेस’ २६ औँ विशेषाङ्कका साथै नेपाली, मैथिली, मगर, लिम्बू र गुरुङ भाषाको ‘प्रलेस इतिहास भाग १’ पनि सार्वजनिक गरिने छ । प्रलेसको प्रदेशगत इतिहास लेखन क्रमशः डा देवी दुलाल क्षत्री, रमेशरञ्जन झा, डा रजनी ढकाल, डा कृष्णराज अधिकारी, पद्मप्रसाद शर्मा, डा दीपक गौतम र डा पुष्करराज भट्टले गर्नुहुने छ । त्यस्तै ‘प्रलेस इतिहास भाग १’ का लागि कपिल लामिछाने र विनयकुमार कसजु, रोशन जनकपुरी, लोकबहादुर थापा, डा विजय सुब्बा, रत्नबहादुर गुरुङका लेख समाविष्ट हुने छ । प्रलेसले यसअघि ‘चालिस दशकका प्रगतिशील कविता’ प्रकाशन गरिसकेको छ ।
प्रलेस प्रतिभा पुरस्कारको अक्षयकोषमा वृद्धि गर्न पूर्वाध्यक्ष स्व आनन्ददेव भट्टकी जीवन सङ्गिनी सुशीलाले थप रु दुई लाख तथा प्रलेस युवा प्रतिभा पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापनार्थ अध्यक्ष डा गिरीले रु एक लाख प्रदान गर्नुभएपछि हाल प्रलेसको कुल कोष रु साढे ६ लाख छ । प्रलेसका लागि चार प्रदेशबाट पत्रिका प्रकाशन भइरहेका छन् । संस्थामा करीब दुई हजार सदस्य छन् ।
प्रकाशित मिति: २०२२-०३-२४ , समय : १५:०५:५४ , ४ वर्ष अगाडि