सुत्केरी पोषण खर्चले पशुपालनमा प्रोत्साहन

सुशील रेग्मी , ५६४  पटक हेरिएको

रामपुर (पाल्पा), ९ चैत ।  नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालीका सञ्चालक नरनारायण अर्यालले ३६ वटा भैँसी सुत्केरी भएवापत रु ३६ हजार रकम बुझ्नुभयो । सो रकम पशु सुत्केरी पोषण खर्चका निम्ति अर्याललाई उपलब्ध गराइएको हो ।

सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पामार्फत उपलब्ध सो रकम सुत्केरी पशुको आहार तथा पोषणमा खर्च गर्ने उहाँ बताउनुहुन्छ । “पशुको स्वास्थ्यलाई मध्यनजर राख्दै सुत्केरी पोषण खर्च उपलब्ध गराउन थालिएको छ, यो कार्यक्रम कृषकका निम्ति असाध्यै राम्रो छ, यस्ता कार्यक्रमले साना ठूला सबै वर्गका कृषकलाई समेटेको छ, सो रकम पशुको पौष्टिक आहारका निम्ति खर्चने छु”, उहाँले भन्नुभयो ।

अर्यालको फार्ममा हाल ७० वटा उन्नत जातका भैँसी छन् । बीमित पशुको सुत्केरी भएवापत उहाँले यस आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ३६ वटा भैँसी व्याएवापत पहिलो पटक पोषण खर्च रकम बुझ्नुभएको हो ।

पाल्पा जिल्लामै ठूलो पशुफार्म चलाउनुभएका अर्यालले हाल दैनिक २८ वटा दुहुना भैसीबाट मासिक रु दुई लाख ५० हजार आम्दानी गर्नुहुन्छ । दैनिकजसो २६० लिटर दूध उत्पादन गर्नुहुन्छ । अबको तीन महिनाभित्र १०० बढी माउ भैँसी पाल्ने उहाँको लक्ष्य छ ।

बोधराज ढुङ्गानाले पोषण खर्च पाएपछि पशुपालन व्यवसाय बढाउने सोँच राख्नुभएको छ । दुई भैँसी र एक गाईको पोषण खर्च रु तीन हजार रकम बुझ्नुभएका ढुंगानाले पशुपालनमा ऊर्जा मिलेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “किसानलाई यस कार्यले ठूलो ऊर्जा मिलेको छ, अब गोठको क्षमता बढाएर दशवटासम्म भैँसी थप्ने योजना बनाएको छु, यस्ता कार्यक्रमले व्यवसायमा कृषकको जोश जागर थपिदिएको छ ।” सुत्केरी पोषण खर्च रकमले पशु बीमामा लाग्ने खर्चमा राहत पुग्ने बताउनुहुन्छ अर्का व्यवसायी गणेश आचार्य । उहाँले ६ गाई र एक भैँसीको रु सात हजार पोषण खर्च रकम बुझ्दै यस कार्यक्रमले व्यावसायिक कृषकलाई प्रोत्साहनसँगै बीमा गर्न नसकेका कृषकलाई बीमा कार्यमा ठूलो सहयोग पुग्ने उहाँ बताउनुहुन्छ ।

रामपुर नगरपालिकाको समन्वयमा सहकारीले यसवर्ष रु पाँच लाख रकमबाट पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको अध्यक्ष कृष्णकुमार अर्याल बताउनुहुन्छ । अध्यक्ष अर्यालले १७ सुत्केरी पशुको रु १७ हजार रकम बुझेको बताउनुभयो । “सहकारीले संस्थामा आबद्ध कृषकलाई रु पाँच सयका दरले पोषण खर्च दिँदै आएका छौँ, यसवर्ष नगरपालिकाको सहयोगमा रु एक हजारका दरले नगरमा बीमित सबै पशुलाई रकम प्रदान गर्ने सम्झौता बमोजिम पोषण खर्च वितरण गरियो”, अध्यक्ष अर्यालले भन्नुभयो ।

नगरपालिका भित्रका बीमित ५०० गाईभँैसीलाई रु एक हजारका दरले रकम प्रदान गरिएको छ । यस कार्यक्रमबाट यहाँका ३६५ कृषक प्रत्यक्ष लाभान्वित भएका छन् भने बीमा नगरेका कृषकलाई बीमा गर्न प्रोत्साहित गरेको छ । यस्ता कार्यक्रम सञ्चालन हुँदा साना ठूला सबै कृषकले समान रुपमा व्यवसायको आधारमा निष्पक्ष तरिकाले राहत महसुस गर्न पाउने र यो कार्यक्रम कृषकमुखी रहेको हँुदा नगरपालिकाले निरन्तरता दिनुपर्ने युवा ऋषि पोखलेलको भनाइ छ ।

पशुलाई सुत्केरी भएको समयमा विशेष आहार, पोषणको आवश्यकता पर्दछ । पशुपालन व्यवसायलाई बढावा दिन यो कार्यक्रम अगाडि बढाएको र आगामी दिनमा रकम बढाउँदै जाने नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । सहकारीले आफ्नै लगानीमा विसं २०६४ देखि संस्थामा आबद्ध कृषकलाई रु पाँच सयका दरले पशु सुत्केरी पोषण खर्च कार्य सुरु गरेको हो । संस्थाले यस अभियानलाई निरन्तरता दिदै आएको छ । बिमाको प्रक्रिया पुगेका, बिमा कम्पनीले प्रमाणित गरेका नगरपालिका भित्रका सुत्केरी सबै गाईभैसीलाई रकम वितरण गरिएको हो ।

प्रकाशित मिति: २०२२-०३-२३ , समय : १५:३४:५२ , ४ वर्ष अगाडि