महाशिवरात्रि पर्वमा ‘जलधारी’ गरिँदै

Enepal Patra Pvt. Ltd. , ३९८  पटक हेरिएको

महोत्तरी, १७ फागुन । मिथिला क्षेत्रमा आज महाशिवरात्रि पर्वका अवसरमा माङ्गलिक उत्सवका बीच ‘जलधारी’ मनाइँदै छ । पर्वका दिन मध्यरातयता शिवालयमा भक्तजन ‘जयशम्भो’ को करतल ध्वनिबीच शिवलिङ्गमा पवित्र जल, गाईको दूध, जौँ, बेलपत्र र धतुरो चढाएर ‘जलधारी’ गर्दैछन् । भगवान् शिवलाई पवित्र जल र दूधको धाराले स्नान गराउने परम्परालाई मिथिलामा ‘जलधारी’ भन्ने गरिएको हो । त्यस्तै जौँ, बेलपत्र र धतुरो भगवान् शिवका अतिप्रिय वस्तु रहेका विश्वासमा अर्पण गर्ने हिन्दू मैथिल परम्परा छ ।

पर्वका अवसरमा महोत्तरीको अति प्राचीन जलेश्वर–१ स्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा मध्यरातयता दर्शनार्थी भक्तजनको अपार भीड देखिँदो छ । बितेका पछिल्ला दुई वर्ष कोरोना महाव्याधिको जगजगीले महाशिवरात्रि पर्व पनि प्रभावित भएको थियो । तेस्रो वर्ष पर्व मनाइरहँदा आम श्रद्धालुले महाव्याधि कष्ट निवारण गर्न भगवान् शिवको पुकारा गरेका सुनिन्छ ।

श्री जलेश्वरनाथ अनादिकालमा भगवान शिव आफैँले प्रतिस्थापित गर्नुभएको महालिङ्ग भएको शिव पुराणमा वर्णन छ । त्यसैगरी जिल्लाकै बर्दिवास–५ स्थित चुरे पर्वत काछको श्री टुटेश्वरनाथ मन्दिरमा हजारौँ श्रद्धालु मन्दिर परिसरमा ‘जयशम्भो’ भन्दै जलधारा गर्न आफ्नो पालो पर्खेर पङ्क्तिबद्ध छन् । पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोकबाट आठ किलोमीटर सघन वनक्षेत्र पैदलयात्रा गरेपछि पुगिने चुरे पहाडी शृङ्खलाअवस्थित टुटेश्वरनाथ मन्दिरमा वर्षेनी लाखौँ दर्शनार्थी धार्मिक प्रयोजनले पुग्ने गरेका बर्दिवास–५ का वडाध्यक्ष दलबहादुर थापामगर बताउनुहुन्छ ।

यस्तै भङ्गाहा–५ सिद्धपुरस्थित श्री सिद्धनाथ, सोनमा गाउँपालिकाको मगरथानास्थित श्री मङ्गलनाथ र जिल्लाका २० भन्दा बढी शिवालयमा ‘जलधारी’ गर्नेहरूको घुइँचो छ । महाशिवरात्रि पर्वसँगै जोडिएर मिथिलामा मिथिला माध्यमिकी परिक्रमा र लगत्तै सँगसँगै फागु (होली) पर्व मनाइने परम्परा हुँदा महाशिवरात्रिलाई धार्मिक र सांस्कृतिक उत्सवको प्रारम्भका रूपमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ ९संस्कृत क्याम्पस०का साहित्य विषयका सहप्राध्यापक ध्रुव रायको भनाइ छ ।

पर्वका अवसरमा श्रद्धालुले चढाउने पूजा सामग्रीको महाशिवरात्रि मेलामा राम्रो व्यापार चलेको छ । फूल, बेलपत्र, जौँ र धतुराको फूल र फल बेचेर नै आज सामान्य गरिबले मनग्गे आम्दानी गरेका छन् । त्यसैगरी भाकलमा भाण्टाको भार चढाउने मैथिल परम्परा छ । यो भाकलसँग जोडेर पर्वमा भाण्टाको भारको बिक्री पनि निकै देखिन्छ । मिथिलामा महाशिवरात्रिका दिन शिवलिङ्गमा ‘जलधारी’ गरेर उपवास बस्ने परम्परा छ । महाशिवरात्रिको उपवासले इच्छित फल प्राप्त हुने र मृत्युपछि कैलाशवास हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति: २०२२-०३-०१ , समय : ०८:०८:३६ , २ वर्ष अगाडि