चिसो बढेसँगै विपन्न परिवारको बिचल्ली

Enepal Patra Pvt. Ltd. , २२९  पटक हेरिएको

उदयपुर, २१ पुस । अचानक चिसो बढ्दै गएपछि त्रियुगा र चौदण्डी गढी नगरपालिका क्षेत्रका गरिब विपन्न परिवारलाई समस्या परेको छ । न्यानो लुगा र ओढ्नेको अभावमा ती परिवार समस्यामा परेका हुन् ।

त्रियुगा–३ मोतिगडा, त्रिनपा–१ जोगिदह, त्रिनपा–६ देउरी उत्तराई र चौदण्डी गढीको हँडियाका मुसर चिसोबाठ पीडित बनेका जनाइएको हो । त्रियुगा–३ मोतिगडा ठाडी मुसहर टोलका गुदर सदाले गतिलो ओढ्ने कपडा नहुँदा रातका समयमा आगो र घुर तापेर रात काट्न बाध्य भएको बताउनुभयो ।

दुई वर्षअघि त्रियुगा नगरपालिकाले वितरण गरेको केही ओढ्नेहरु कपडाहरु फाटिसकेको र लामो समयसम्म कोरोनाको प्रभावले आफूहरुले रोजगारी गुमाउन पर्दा नयाँ कपडाहरु किन्न पनि नकसकेका उनीहरुको गुनासो छ । त्रिनपा देउरी–६ जलजले उत्तरराई टोलका देवीराम सदाको पनि गुनासो गुदर सदाको जस्तै छ । उहाँले भन्नुभयो, “पुरानो कपडाहरु फाट्न थाले, नयाँ कपडाहरु किन्न सकिएन, झन्डै दुई वर्ष कोरोनाका कारण काम गुमाउन पर्दा घरमा खान र परिवार पाल्न नै धौ–धौ प¥यो, सातजनाको परिवारमा दुईवटा ओढ्ने कम्मल छ, चिसो बढेपछि राति पालैपालो सुत्ने र पहिलो सुत्ने उठेपछि अरू सोही लुगा ओढेर सुत्ने गरेका छौँ ।”

त्रिनपा–१ जोगिदह मुसहरी टोलका सदा परिवारहरुको पनि यस्तै समस्या छ । स्थानीय सामाजिक अभियन्ता जानुका सदाका अनुसार अधिकांश जोगिदहका मुसरहरु ओइलेनी जग्गामा बस्न र रातको समयमा घरको आँगन परिसरमा आगो तापेर रात काट्न बाध्य छन् ।

चौदण्डी गढी –९ हँडियाको मुसहर टोलका झन्डै ३५ घर मुसहर बस्तीमा पनि चिसो बढेसँगै ओढ्नेको अभाव हुन थालेको छ । उनीहरु रात्रिका समयमा आगो ताप्ने र घुर तापेर रात कटाउन बाध्य छन् । यस पटक स्थानीय पालिकाहरु र सामाजिक सङ्घसंस्थाले पनि न्यानो कपडा वितरणमा अहिलेसम्म सहयोग नगरेको ती परिवाहरुले गुनासो गरेका छन् ।

प्रकाशित मिति: २०२२-०१-०५ , समय : ११:३३:५७ , २ वर्ष अगाडि