काग स्पर्शजनित दोष मेटाउन हजारौँ भक्तजन पुगे कागेश्वरी धाम

–पूर्णप्रसाद मिश्र , २८४  पटक हेरिएको

कागेश्वरी (काठमाडौँ), २९ भदौ ।  कागले छोएमा र शरीरमा कागको विष्टा परेमा अशुभ भयो भनी दोष मुक्तिको उपाय खोजी गर्ने प्रचलन प्राचीनकालदेखि हाम्रो समाजमा रहेको पाइन्छ । यो दोषबाट मुक्तिको पहिलो उपायका रुपमा राजधानीको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी महादेवको दर्शन हो भन्ने मान्यता छ ।

वर्षभर कागले छोएका मानिस भाद्र शुक्ल अष्टमीका दिन पूजा आराधना एवं दर्शनका लागि यहाँ आउने गर्छन् । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा रहेको काक गङ्गेश्वर घाटमा स्नान गरी त्यहाँको जल लिएर कागेश्वरी धाम जाने गरिन्छ । यसै मान्यताका आधारमा बिहानैदेखि हजारौँ भक्तजनको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमी अर्थात् कागेअष्टमीसमेत भनिने आजकै दिन काठमाडौँ जिल्लाको उत्तरपूर्वी कुनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल कागेश्वरी मन्दिरमा मेला लाग्ने गर्दछ ।

यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजाआराधना गरेमा कागको स्पर्शबाट हुने दोषबाटमुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् ।

कागेश्वरीलाई हरियो मकै

यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ । यस विश्वासका आधारमा हरियो मकै बोकेर आउन भक्तजनको पनि कागेश्वरी महादेव मन्दिर क्षेत्रमा भीड लागेको छ । श्रावण शुक्लपूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देशविदेशबाट भक्तजनको भीड लाग्छ । कोरोनाअघि नगरपालिकाले तीन दिनसम्म मेला गरी यो पर्व मनाउने गरेको थियो । कोरोना जोखिम कायमै रहेकाले गत वर्ष र यो वर्ष पनि मेला नगरी पूजा आराधना गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख कृष्णहरि थापाले बताउनुभयो । कागेश्वरी धामलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न नगरपालिकाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । धाम जान पहिलेको भन्दा सडक सुधार गरिएको छ । यहाँको महत्वका विषयमा प्रचारप्रसार गर्ने कामलाई नगरपालिकाले प्राथमिकता दिएको छ ।

नेपाल र विश्वकै ठूला कागका मूर्ति

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बताउनुभयो ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हाल वाग्मती प्रदेशसभा सदस्य फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते महोत्सव शुरुवात् गरिएको छ । यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।

नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । फागुनमा हुने महोत्सव एवं भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ । कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुली लगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोवास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् ।

कागेश्वरी उत्पत्तिको कथा

सत्य युगमा वन विहार गर्न निस्कनु भएका भगवान् महादेव धेरै दिनसम्म कैलाश फर्कनु भएन । खोज्न निस्कनु भएकी माता पार्वतीले धेरै तिर भौतारिँदा पनि महादेवलाई भेट्नुभएन । भगवती पार्वती निराश भएर कैलाश फर्कनै लाग्नुभएको थियो । त्यति नै बेला चिसो काग अहिले कागेश्वरी महादेव रहेको स्थानमा ध्यानमग्न महादेवलाई आफ्नो चुच्चोमा च्यापेको जल चढाउन का।।।का।।। गरेर कराएको सुनियो । माता पार्वतीले उक्त स्थानमा के रहेछ रु भनी हेर्दा भगवान् महादेवलाई फेला पार्नु भएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

कागले आजकै दिनमा काक गङ्गेश्वर घाटमा स्नान गरी ध्यान गरिरहनु भएका महादेवलाई जल अर्पण पश्चात् भगवानको दर्शन गरेको विश्वास रहेको स्थानीय सुशील सिम्खडाले बताउनुभयो । यो घाट हाल गोकर्णेश्वर नगरपालिका वडा नं। १ मा पर्छ । कागेश्वरीलाई स्कन्द पुराणको हिमवत्खण्ड महापुराणअन्तर्गत नेपाल माहात्म्यमा महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा उल्लेख गरिएको छ ।

प्राचीनकालदेखि नै कागेश्वरी धाम र सुन्दरीजल स्थित काक गङ्गेश्वर घाटबीच अन्योन्याश्रित धार्मिक सम्बन्ध छ । आज कागेश्वरी जाने सबै भक्तजन काक गङ्गेश्वर घाटमा पहिले स्नान गरेर जल लिई चढाउन जाने गर्छन् ।

प्रकाशित मिति: २०२१-०९-१४ , समय : १३:०१:१८ , ३ वर्ष अगाडि