केरा खेतीले जसले किसानलाई दाम दियो, गाउँलाई नाम

टीकाराम उप्रेती , ६७३  पटक हेरिएको

किसानचोक असोज १५ गते । हाम्रो खेतमा हरियोको नाममा झार तितेपातीमात्र उम्रन्थ्यो । केही खेतीपाती हुदैनथ्यो । घरमा बसोबास मात्र हुन्थ्यो ।
खतेबारीमा बाँदर कुद्ने गर्दथे । आम्दानीको कुनै स्रोत नभएपछि हातमुख जोड्न जुरुक्क उठेर कामको खोजीमा निस्कनु पर्ने बाध्यता थियो । केही बर्षदेखि यो समस्या जादुजस्तै भएर हटेको छ । मोरङको मिक्लाजुङ ५ निवासी रामबहादुर लिम्बुले बताउनुभयो ।
उहाँले अगाडि भन्नु भयो, “मेरो लगभग १५ रोपनी यस्तै बारी थियो । यहाँ अहिले केरा खेती गर्न थालेपछि राम्रो आम्दानी हुनथालेको छ । यसैबाट परिवार चलाउन थालेको छु ।” सोही जिल्लाको उर्लावारी नगरपालिका ३ स्थित किसान चौकमा केरा बिक्री गरिरहनु भएका लिम्बुका अनुसार आज पनि ३३ घरी केरा बिक्री गर्न ल्याएको छु । दशैंको मौकामा धेरै माग हुन्छ । बजारमा ल्याइसक्न पाउदिन सबै भनेजस्तो दाममा बिक्री गर्न पाइन्छ लिम्बुले बताउनुभयो ।
उहाँ जस्तै सोही स्थानका पिताम्बर श्रेष्ठ समेत यही मौका छोपेर केरा बिक्री गर्न आउनु भएको छ । हरेक हप्ताको मंगलवार यहाँ केरा बिक्री गर्न कै लागि बजार लाग्ने गर्दछ । किसानले धेरै केरा बिक्री गर्ने भएकाले यो चौकको नाम नै किसान चौक रहेको स्थानीयको भनाइछ ।
पूर्वपश्चिम राजमार्गको उर्लाबारीबाट करिव १० किलो मिटर उत्तरमा रहेको मिक्लाजुङ गाउँपालिकाको वाड्न ४, ५ र ६ वडामा केरा उत्पादन हुने गर्दछ । यो क्षेत्रमा केरा उत्पादन राम्रो हुन थालेपछि मिक्लाजुङ गाउँपालिकाले समेत यो क्षेत्रलाई केरा पकेट क्षेत्रको रुपमा बिकास गर्न थालेको छ ।
केरा खेतीमा किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले किसानलाई अनुदानको कार्यक्रम समेत अघि बढाएको मिक्लाजुङ गाउपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताउनुभयो । गापाले यि तीनैवटा वडालाई प्रतिवडा पाँच लाख रुपियाँ अनुदानका लागि समेत छुट्याको छ । अनुदान प्राप्त गर्न एउटा वडामा दश कठ्ठाभन्दा माथि केरा खेती गर्ने किसानलाई प्रति किसान एक लाख रुपियाँ अनुदाको व्यवस्था गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
यो गापाको सबैभन्दा बढी केरा उत्पादन हुने वाड् नं ४ र ५ हुन् । यसबाहेक वाड्न ६ को केही भागमा समेत केरा खेती गरिएको छ । सिजन अनुसार प्रति हप्ता दश हजार घरी केरा किसान चौकको केरा बजारबाट मात्र बिक्री हुने गरेको निकासी ठेक्का लिएका सोही गापाका थामप्रसाद राईले जानकारी दिनुभयो । केराको निकासी वापत प्रति घरी पाँच रुपैयाँ लिने गरिएको छ ।
यहाँ केराको घरी अनुसार न्युनतम २५० रुपैयाँ प्रति घरी देखि १५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यहाँ चिनीचम्पा, मर्चमोली, भुटानी, जहाजी, लगायतको जातका केरा खेती हुने गरेको छ । पुर्ण व्यवसायिक भइ नसकेपनि किसानले एक पछि अर्कोले खेती गर्दै जाँदा अहिले यो क्षेत्रमा घरै पिच्चे केरा खेती गर्न थालिएको छ ।

source: gorkhapatra

प्रकाशित मिति: २०१९-१०-०२ , समय : १२:३०:५० , ५ वर्ष अगाडि