गरिखान छेकेन अपाङ्गताले

Enepal Patra Pvt. Ltd. , ६८५  पटक हेरिएको

हरि कोइराला ,
रतुवामाई(मोरङ), २४ असार । सामान्य अपाङ्गता भएका मानिसहरू पनि राज्यसँग रातो कार्ड लिएर भत्ता लिने गर्छन् । पहुँच भएका कतिपय सरकारी जागिरेहरू समेत एकल महिलाको सामाजिक सुरक्षा भत्ता लिन्छन् । तर, दक्षिणपूर्वी मोरङको रतुवामाई –४ कटघराका ६९ वर्षीय बादल गिरी दुई वटै खुट्टा नभएपनि आफ्नै श्रम बेचेर घर चलाइरहनु भएको छ ।
उहाँको पेशा हो ,तरकारी ब्यापार । ४५ वर्षयता उहाँ तरकारी ब्यापार गरिरहनु भएको छ । २५ वर्ष अघि २०५१ सालमा दुबै खुट्टामा खटिरा निस्क्यो । त्यही खटिरा बढ्दै बढ्दै जाँदा उहाँले दुबै खुट्टा गुमाउनु प¥यो । झण्डै ३ वर्ष उपचार गर्दा उहाँको ४ लाख बढी खर्च भयो । मधुमेहका रोगी बादल भन्नुहुन्छ–कसैले सहयोग गरेन । ऋणपान गरेर नै उपचार खर्च तिरें । तर, उहाँको दुख यति मै पूर्ण बिराम लागेन । साथ सहयोग दिने एकमात्र लक्काजवान छोरो पनि उहाँले गुमाउनु प¥यो । उहाँ भन्नुहुन्छ – रोग पत्ता नलाग्दै बित्यो । अहिले उहाँ रोगी श्रीमतीसँग बस्दै आउनु भएको छ । श्रीमतीको उपचार खर्च, आफ्नो औषधि खर्च मात्र होइन । दाल भात तरकारीको जोहो पनि ब्यापारबाटै गर्नु हुन्छ बादल गिरी । उहाँसँग जग्गाको नाममा घामपानी छल्ने सानो टहरो भएको १५ धुर जति जमीन छ ।
पहिले साइकलमा तरकारी ओसार पसार गर्ने गिरी अचेल ह्विल चेयर प्रयोग गर्नुहुन्छ । एउटा गैर सरकारी संस्थाले ह्विल चियर दिएपछि उहाँ २०५४ सालमा पुन ब्यापारमा फर्किनु भयो । गिरीले भन्नुभयो–‘दुई वटै खुट्टा गुमेपछि महिला विकास कार्यलय विराटनगरले नीलो कार्ड दियो । नीलो कार्डले भत्ता पाउँदैन भन्ने बुझेपछि उतै फालिदिएर आएँ ।’
गिरीको दैनिक ब्यापार ४÷५ हजार सम्म हुन्छ । मौसम अनुसारका तरकारीहरूको ब्यापार गर्ने गिरी दैनिक ४÷५ सय रुपियाँ नाफा हुने बताउनु हुन्छ । दक्षिणाी मोरङका आमबारी, शनिश्चरे, डाइनियाँ लगायतका बजारमा उहाँ तरकारीके ब्यापार गर्नुहुन्छ । बजार नभएको दिन आमबारी बजारको गुद्रीमा तरकारी फिंजाउनु हुन्छ । भारतीय सीमावर्ती नेपाली गाउँ कटघरामा बस्दै आउनु भएका गिरी भारतमा आलु, प्याज, लसुन सस्तो भएको बेला उतैबाट ल्याएर बिक्री गर्नुहुन्छ । ह्विलचियरमा जाने आउने गरेकोले उहाँलाई न भारतीय प्रहरीले दुख दिन्छ , न नेपाली प्रहरीले । गिरीले भन्सारमा आफूलाई छुट दिएपनि आफ्नो घर चलाउन बाहेक अरु केही बस्तु नेपाल नभित्राएको बताउनु भयो ।
त्यसो त उहाँले रोतो कार्डका लागि धेरै जना नेता लगाउनु भयो । उहाँले एउटा खुट्टा गुमाएका , सामान्य दृष्टिबिहीन र एउटा हात गुमाएसँग रातो कार्ड भएको प्रमाण जुटाउँदा पनि भत्ता आउने रातो कार्ड नपाएको बताउनु भयो ।

प्रकाशित मिति: २०२१-०७-०८ , समय : ०९:२१:१७ , ३ वर्ष अगाडि