युट्युवलाई स्वनियमन गर्नुपर्नेमा जोड

Enepal Patra Pvt. Ltd. , २७४  पटक हेरिएको

काठमाडौं, ३१ चैत । नेपालका अनलाइन टिभीहरुको शुद्धिकरण र सुदृढीकरण आफ्नो कार्यकालको प्राथमिकताको विषय भएको नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुले बताएका छन् । अनलाइन टीभी पत्रकार संघले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनिहरुले उदाउँदो सञ्चार क्षेत्रलाई तत्काल व्यवस्थापनको खाँचो रहेकोमा जोड दिए । कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले युट्युव पत्रकारितालाई नियन्त्रणका लागि सरकारलाई आह्वान गर्नुभन्दा स्वनियमनमा जानु उपयुक्त हुने धारणा राखे । ‘पत्रकारिता क्षेत्रलाई राज्यको नियन्त्रणभन्दा सञ्चार माध्यमले आफैँ नियमन गर्ने हिसाबले जानु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिकोणले उपयुक्त हुन्छ’, अध्यक्ष पोखरेलले भने । उनले अनलाइन टिभी पत्रकार संघले बनाएको स्वनियमन निर्देशिका उच्चस्तरको रहेको र त्यसलाई कार्यान्वयन गर्न सकेमा मुलुधारका पुराना सञ्चार माध्यमभन्दा अनलाइन टिभी क्षेत्र थप गुणस्तर हुने देखेको बताए । कार्यक्रममा महासंघकी महिला उपाध्यक्ष बाला अधिकारीले गाउँ–सहर, देश–विदेश जताततै अनलाइन टेलिभिजन लोकप्रिय हुँदै गएको तर यसको गुणस्तरमा भने सुधार गर्नुपर्ने अवस्था रहेको बताइन् । महासंघका एशोसिएट सचिव पवन आचार्यले महासंघले विधागत पत्रकारिताको विकासका लागि एशोसिएट सदस्यताको प्रावधान गरेकाले अनलाइन टेलिभिजन पत्रकार संघलाई पनि एशोसिएट सदस्य बनाए यस क्षेत्रको विकासमा थप सजिलो हुने विश्वास व्यक्त गरे । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले न्यू मिडियालाई बेलैमा व्यवस्थापन गर्न सकिएन भने प्रेस स्वतन्त्रता नै खतरामा पर्न सक्ने चेतावनी दिए । न्यू मिडिया प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नयाँ माध्यम भएकाले महासंघले यसको संरक्षणका लागि अभियान नै चलाउनुपर्नेमा उनले जोड दिए । संघका अध्यक्ष जीवन भण्डारीले नवनिर्वाचित सबै केन्द्रीय पदाधिकारीलाई माला, खादा र अविर लगाएर बधाई तथा शुभकामना दिँदै सहकार्यका लागि आह्वान गरेका थिए । संघले जारी गरेको स्वनियमन निर्देशिकालाई महासंघले पनि ग्रहण गरी सबै पत्रकारलाई यसबारेमा अभिमुखीकरण गर्न महासंघले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । स्वनियमन निर्देशिका मान्न तयार अनलाइन टेलिभिजन पत्रकारलाई अन्य पत्रकार सरह नै पहिचान र पहुँच दिनुपर्ने, स्वरोजगारमूलक भएकाले व्यवसाय प्रवर्धनका लागि सहयोग गर्नुपर्ने, क्षमता वृद्धिका कार्यक्रम ल्याउनुपर्ने, जोखिमपूर्ण कार्य भएकाले सुरक्षा र बीमाको व्यवस्था गर्नुपर्ने अवस्था रहेकाले महासंघले सरोकारवालालाई झकझक्याइदिन पनि अध्यक्ष भण्डारीले आग्रह गरे । गत वर्षको माघ २४ गते पहिलो भेला गरेर सङ्गिठत भएका अनलाइन टेलिभिजन पत्रकारले अहिले आफैँ व्यवस्थित र जिम्मेवार हुने प्रयास गरिरहेका छन् । युट्युवमा राम्रो काम गरेकाले एक अर्कालाई सिकाउने, समीक्षा गर्ने र सुधार गर्दै लैजाने प्रयास गरिरहेको अध्यक्ष भण्डारीले उल्लेख गरे । सो अवसरमा महासंघका अध्यक्ष पोखरेल र संघका अध्यक्ष भण्डारीमार्फत संघका झण्डै ५० सदस्यलाई परिचयपत्र र प्रेस ज्याकेटसमेत विवरण गरिएको थियो ।

प्रकाशित मिति: २०२१-०४-१३ , समय : ०७:०८:५३ , ३ वर्ष अगाडि