सिक्किमलाई हराउँदै विराटनगर बिराट गोल्डकपको क्वार्टरफाइनलमा

Enepal Patra Pvt. Ltd. , ४५९  पटक हेरिएको

विराटनगर, २७ चैत । विराटनगरमा सुरु भएको छैटौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर–११ ले भारतको युनाइटेड सिक्किम फुटबल क्लबमाथि जित निकालेको छ ।
बिहीबार भएको उद्घाटन खेलमा विराटनगरले सिक्किममाथि २–१ गोलको जित निकालेको हो । विराटनगरस्थित सहिद रङ्गशालामा भएको खेलमा विराटनगरलाई जिताउन प्रकाश बुढाथोकीले दुई गोल गरे ।
खेलकाे दसाैँ मिनेटमा प्रकाशले गोल गर्दै विराटनगरलाई सुरुआती अग्रता दिलाएका थिए । खेलकाे १७औँ मिनेटमा सिक्किमले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा विराटनगरले एक गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । ४९औँ मिनेटमा प्रकाशले पुनः दोस्रो गोल गर्दै विराटनगरलाई जिताए ।
खेलमा दुई गोल गरेका विराटनगरका खेलाडी प्रकाश बुढाथोकी म्यान अफ द म्याच बने । जितसँगै विराटनगरले क्वार्टरफाइनमा स्थान पक्का गरेको छ भने सिक्किम पहिलो खेलबाटै बाहिरिएको छ । अब विराटनगरले क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी क्बलसँग सेमिफाइनलका लागि खेल्नेछ । यो खेल २८ चैतमा हुने छ । प्रतियोगिताअन्तर्गत शुक्रबार हुने खेलमा गोरखा ब्वाइज क्लब रुपन्देहीले भारतको पञ्जाब पुलिससँग खेल्नेछ ।

प्रकाशित मिति: २०२१-०४-०९ , समय : ०८:२०:०९ , ३ वर्ष अगाडि