गोलमाल बन्दै उखु किसानको भुक्तानी

Enepal Patra Pvt. Ltd. , ५७३  पटक हेरिएको

काठमाडौं १० फागुन । उखु किसानको बक्यौता भुक्तानीमा पुनः गडबडी देखिएको छ । किसानहरु सम्पर्कमा नआएका कारण उद्योगीले दिएको रकम बैंकमै थन्किएको दाबी सरकारको छ तर किसान प्रतिनिधिहरुले भने सरकारले भुक्तानीको विवरण लुकाएको आरोप लगाएका छन् ।

चार वटा चिनी मिलबाट किसानले ८ करोड एक लाख रुपैयाँ मात्रै भुक्तानी पाउन बाँकी रहेकोमा अहिले सबै रकम बैंकमा दाखिला भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा।नारायण प्रसाद रेग्मीले बताए ।

रकम बैंकमा आएको छ तर किसानको कागजात नमिलेको तथा प्रमाण नपुग्दा वितरणमा समस्या भएको उनले बताए । ‘किसानको भुक्तानी निश्चित भएको छ तर प्रमाण नपुगेका कारण पैसा बैंकमा थन्किन पुगेको छ,’ सहसचिव एवं प्रवक्ता डा।रेग्मीले भने । किसानको बैंक खाता नभएको, मिलसँग लिनुपर्ने रकमबारे प्रमाण नभएको जस्ता समस्याका कारण भुक्तानी प्रभावित भएको उनको भनाइ छ ।

रकम खातामा पुगेर पनि वितरण हुन नसकेपछि किसान संघर्ष समितिमार्फत सहजीकरण प्रयास भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयलाई प्राप्त विवरणमा पनि मोटामोटी भुक्तानी सुनिश्चित भएको पाइएको मन्त्रालयले जनाएको छ । अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिलको भुक्तानी बाँकी रहेकोमा उद्योगी पक्राउ गरेपछि भुक्तानी सुनिश्चित भएको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले बताए ।

उद्योगीबाट भुक्तानी सुनिश्चित भए पनि किसानकै समस्याका कारण शतप्रतिशत भुक्तानी भने बाँकी रहेको उनले बताए । ‘सबै उद्योगको गरेर ८५ प्रतिशत रकम भुक्तानी भएको छ, बाँकी रकम भुक्तानी गर्न किसानको कागजी प्रक्रिया बाधक बनेको छ,’ सूचना अधिकारी लामिछानेले भने ।

किसानहरुलाई आफ्नो कागज पत्रसहित भुक्तानीका लागि आग्रह गर्ने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । किसानको भुक्तानी नदिएका कारण पक्राउ परेका दुई जना उद्योगीहरुको अदालती प्रक्रिया जारी रहेको प्रवक्ता लामिछानेले बताए ।

कुल ६५ करोड ३१ लाख बक्यौतामध्ये ५७ करोड ३० लाख रकम माघ पहिलो सातासम्म किसानहरुको खातामा पठाइएको र बाँकी भुक्तानी ८ करोड एक लाख रुपैयाँ पनि किसानले पाउने निश्चित भएको सरकारी दाबी छ ।

‘सरकारले भुक्तानी तथ्यांक लुकायो’

कुन किसानको के कारणले भुक्तानी रोकिएको भन्नेबारे सरकारले तथ्यांक लुकाएको आरोप किसान प्रतिनिधिहरुले लगाएका छन् । सबै किसानको भुक्तानी सुनिश्चित भएको सरकारले दाबी गरे पनि किसानहरु भने अझै पैसा नपाएर छटपटाइरहेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।

‘किसानहरुको भनाइमा अझै पाँच करोडभन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ तर सरकारले बैंकमा भएको भनिएको रकम कति हो र के कारण रोकिएको भन्ने विवरण अझै हामीलाई दिएको छैन,’ संरक्षक मिश्रले भने । डकुमेन्ट मिलेको छैन भन्ने कुरा सरकारले हल्ला मात्रै गरेको तर किसानहरुलाई जानकारी नै नभएको उनको भनाइ छ ।

प्रकाशित मिति: २०२१-०२-२२ , समय : ०९:२३:५० , ३ वर्ष अगाडि