प्रसिद्ध हलेसी मन्दिरमा ३ लाख २६ हजार भेटी संकलन

Enepal Patra Pvt. Ltd. , ५१९  पटक हेरिएको

खोटाङ, १० माघ । खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा महिना दिनको अवधिमा ३ लाख २६ हजार ४ सय भेटीघाटी संकलन भएको छ । गत पुस ८ गतेदेखि माघ ८ गतेसम्मको अवधिमा हलेसी महादेवस्थान शिव र पार्वती थानबाट २ लाख ५४ हजार ४५० रुपैयाँ र मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ७१ हजार ९५० रुपैयाँ भेटीघाटी संकलन भएको हो ।

कोभिड–१९ को त्रासकाबिचमा पनि हलेसीमा दर्शन गर्न र भ्रमण गर्न आएका स्वदेश तथा विदेशका तिर्थयात्रीबाट महिना दिनमै लाखौं भेटीघाटी संकलन भएको हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीमा महिना दिनकै अवधिमा भारु ५ हजार ७६० र अमेरिकन २ डलर चढाइएका छन् ।

यस्तै, हलेसी आएका दर्शनार्थीले ७३।२२० ग्राम चाँदी र १।३१० ग्राम सुन चढाएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताउनुभयो । यस अवधिमा त्रियुगा नगरपालिका–६ जलजलेकी प्रभा राईले १ तोला ४ लालको सुनको सिक्री चढाएको हलेसी सूचना केन्द्रले जनाएको छ ।

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा गत मंसिर १६ गतेदेखि पुस ८ गतेसम्मको अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ५ लाख ६४ हजार २९० रुपैयाँ भेटीघाटी संकलन भएको थियो । कोरोना भाइरसको महामारीका कारण गत चैत ८ गतेदेखि रोक लगाइएको हलेसी गुफा ९मन्दीर० प्रवेश गत मंसिर १६ गतेदेखि खुला गरिएको थियो ।

प्रकाशित मिति: २०२१-०१-२३ , समय : २०:१९:४५ , ३ वर्ष अगाडि