चुनावमा केन्द्रित भएर पार्टीको गतिविधि सञ्चालन गर्न ओलीको निर्देशन

Enepal Patra Pvt. Ltd. , ७५१  पटक हेरिएको

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (ओली)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आगामी वैशाख १७ र २७ मा हुने प्रतिनिधिसभा चुनावमा केन्द्रित भएर पार्टीका गतिविधि अघि बढाउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।

पार्टीका स्थायी कमिटीका सदस्यहरु तथा विभिन्न प्रदेश इन्चार्जसँग प्रधानमन्त्री ओलीले अनौपचारिक छलफल गरेको प्रदेश नम्बर १ का इन्चार्ज सुवास नेम्वाङले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘चुनावमा केन्द्रित भएर पार्टीका गतिविधि सञ्चालन गर्ने विषयमा छलफल भएको छ।’

सरकारले प्रतिनिधिसभा विघटन गरि वैशाख १७ र २७ मा दुई चरणमा म्यावधि निर्वाचनको मिति घोषणा गरेको छ। र सरकारको यो निर्णयमाथि अहिले सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ।

प्रधानमन्त्री ओलीले चुनावी माहौल तयार गर्नका लागि पनि पार्टी नेताहरुलाई निर्देशन दिएका छन्। र अहिले औपचारिक रुपमा पार्टी विभाजन नभए पनि दुई गुटमा विभाजन भएकाले देशभरका कार्यकर्ताहरुको अवस्थाबारे पनि प्रधानमन्त्रीले जानकारी लिएको बताइएको छ। ओलीले पार्टी संगठनलाई चुनाव केन्द्रित सञ्चालन गर्दै संगठन सुदृढीकरण गर्नसमेत निर्देशन दिएका छन्।

प्रतिनिधिसधा विघटनपछि माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एउटा समूह र ओलीको नेतृत्वमा अर्को समूह क्रियाशील छन्। नेकपाको आधिकारिकताको विवाद निर्वाचन आयोगसम्म पुगेको छ। तर, दुबै समूहले पार्टी विभाजन भएको स्वीकार गरेका छैनन्। र निर्वाचन आयोगले पनि पार्टी विभाजनलाई आधिकारिकता दिएको छैन।

प्रकाशित मिति: २०२१-०१-१४ , समय : २०:३२:२९ , ३ वर्ष अगाडि