मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Enepal Patra Pvt. Ltd. , ८५६  पटक हेरिएको

विराटनगर, १२ पुस । प्रदेश नं १ को सरकारविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यसहित ३७ सदस्यले नेपालको संविधानको धारा १८८ को उपधारा ४ एवं प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम १२९ बमोजिम प्रदेश सचिवालयमा आज बिहान १०ः४३ बजे अविश्वास प्रस्ताव दर्ता भएको हो ।
अविश्वासको प्रस्ताव पेश गर्ने प्रयोजनका लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम तत्कालै प्रदेशसभा बैठक बोलाउन पनि माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य शेरधन राईले नेतृत्व गरेको प्रदेश सरकारको विघटनपछि सदस्य आचार्यलाई नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।

सो प्रस्तावका प्रस्तावकमा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो र समर्थकमा प्रदेशसभा सदस्य लछुमण तिवारी हुनुहुन्छ । प्रदेशसभामा नेकपाका ६७, नेपाली कांग्रेसका २१, जनता समाजवादी पार्टीका तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकएक गरी कुल ९३ सदस्य छन् । नेकपा दाहाल– नेपाल समूह समर्थित ३७ र नेकपा समर्थित ३० सदस्य भएको जनाइएको छ ।

मन्त्री तथा राज्यमन्त्रीको राजीनामा
यसैबीच प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज बिहान आफ्ना पदबाट राजीनामा दिनुभएको उहाँका स्वकीय सचिव राम पोखरेलले जानकारी दिनुभयो । उहाँसँगै सामाजिक राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले पनि राजीनामा दिनुभएको छ ।
वर्तमान राष्ट्रिय राजनीतिमा आएको परिवर्तनका कारण आफूहरुले प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्रीमा रही काम गर्न असमर्थ रहेको कारण देखाई उहाँहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश नं १ को कार्यालय विराटनगरमा राजीनामापत्र बुझाउनुभएको छ ।
निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले वर्तमान राजनीतिक घटनाक्रममा समान धारण राख्ने राजनीतिक दलसँग कार्यगत एकता हुन सक्ने बताउनुभयो ।

प्रदेशसभा सचिवालयमा आज दर्ता भएको अविश्वासको प्रस्तावको प्रस्तावकसमेत रहनुभएका पूर्वमन्त्री आङ्बोले सङ्घीय सरकारले प्रतिनिधिसभा भङ्ग गरेपछि उत्पन्न परिस्थितिमा समान धारणा राख्ने राजनीतिक दलसँग बृहत् कुराकानी भइरहेको जानकारी दिनुभयो । आङ्बोलाई शनिबार मुख्यमन्त्री राईले पदमुक्त गर्नुभएको थियो ।
उहाँले आफूले दुई वर्ष १० महिना प्रदेश सरकारको मन्त्री भएर काम गर्दा सुखद् अनुभूति रहेको तथा मुख्यमन्त्रीसँग असल सम्बन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी संसद्मा बहुमत बनाएर अघि बढ्ने छौँ, मलाई शनिबार मन्त्री पदबाट मुक्त गरिएको विषय एकदमै प्राकृतिक एवं सामान्य हो”।
–––

प्रकाशित मिति: २०२०-१२-२७ , समय : १४:५२:५४ , ३ वर्ष अगाडि