मोरङमा चियाको ब्यावसायिक खेती

Enepal Patra Pvt. Ltd. , ११३४  पटक हेरिएको

हरि कोइराला
सिंहदेवी(मोरङ), १५ मङ्सिर । चियाको ब्यावसायिक खेती भन्ने वित्तिकै आम नेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवी(केराबारी–२)मा २०५५ देखि स्थानीय नारायण राईले सुरु गर्नु भएको चिया खेती हाल आएर पूर्ण ब्यावसायिक भइसकेको छ ।
विकासको कुनै पूर्वाधार नभएको बेला २२ वर्ष अघि राईले ५० रोपनीमा सुरु गर्नु भएको चिया खेती हाल २५० रोपनीमा विस्तार भएको छ । गाउँमा ब्यावसायिक कामको कुनै सम्भावना नभएको बेला चिया खेतीमा लाखौं रुपियाँ खर्चिनु भएका राई बल्ल लगानीबाट चित्त बुझ्न थालेको बताउनु हुन्छ ।बैदेशिक रोजगारमा ओमन पुगेर ११ वर्ष कमाएको सबै आर्जन उहाँले चिया खेतीमा लगाउनु भएको छ । लेटाङ बजारमा उहाँको सुबिधा सम्पन्न घर छ । त्यँही बसेर ब्यवसाय गर्न सकिने प्रसस्त सम्भावना थियो । तर,नारायणले गहत सम्म नफल्ने डाँडालाई चियाले हरियो बनाउनु भएको छ । नारायणलाई रात दिन नभनी सहयोग गर्नु हुने उहाँकी पत्नी विना खजुम भन्नुहुन्छ–‘सुरुका दिनमा चिया रोप्दा धेरैले हाँसि उडाए । उराठ लाग्दा अनिकाले डाँडामा चिया रोप्दा कहिल्यै खुशी र सन्तुष्ठि हुन नसकेको बताउँदै विनाले भन्नुभयो–द्वन्द्वको समयमा सबैलाई मिलाएर काम गर्नै कठिन थियो ।
उहाँको आफ्नो मातृभूमि टि स्टेट कम्पनीले वार्षिक ५ हजार केजी ग्रीनटि उत्पादन गरिरहेको छ । आफ्नै प्रशोधन मेसिनले प्रशोधित ग्रीनटि (हरियो चिया)को माग उच्च भएपनि माग अनुसार उत्पादन गर्न नसकेको सञ्चालिका विना खजुमले बताउनु भयो ।चिया बगानमा हाल गाउँ कै ५० जनालाई रोजगार पाएका छन् ।
चिया खेतीमा लगातार लाग्नु भएका राईलाई २०७१ मा सरकारले राष्ट्रपति सम्मानबाट पुरस्कृत ग¥यो । पुरस्कृत भएछि चिया खेती प्रति उहाँको झनै लगानी र झुकाव बढेको छ । विना भन्नुहुन्छ–‘धेरै जिम्मेवारी थपिएको छ । उहाँ त आजभोलि सामाजिक काम र चिया खेती विस्तार मै ब्यस्त हुन थाल्नु भएको छ ।’ ०७१ मा पुरस्कृत भएपछि उहाँहरूले थप ५० रोपनीमा चिया बिस्तार गर्नु भएको हो । नारायण राईको दम्पतीले चियाबाट चमत्कार देखाएपछि स्थानीय वुद्धमान राई,डकलसिंह राई लगायतका थुपै्र किसानले आफ्नो पाखो बारिमा पैसा फलाउन थाल्नु भएको छ । डकलसिंहले भन्नुभयो–भरखरै सुरु गरेको छु । राम्रो भइरहेको छ ।
उत्तरी मोरङका साविक ८ वटा पहाडी गाविस मध्ये सबैभन्दा दुर्गम गाविस थियो सिंहदेवी । २०६८ सालको जनगणना अनुसार जम्मा २ हजार ४ सय ७८ जनसंख्या रहेको सिंहदेवीमा ५६६ घरधुरी रहेका छन् । नारायण राई लगायतका किसानले सिंहदेबीका पाखोवारीमा पैसा फलाउन थालेपछि अहिले तराईबाट सिंहदेबी तिर घडेरी खोज्न जाने क्रम सुरु भएको छ । स्थानीय मनोज अधिकारीले भन्नुभयो –सिंहदेवीमा जेफाल पर्यटन विकास संस्थाको गठनसँगै होमस्टे सुरु भयो । होमस्टे,नगदेबालीको खेतीमा आकर्षण र सडक जोडिएपछि हाल आएर तराईका मानिसहरू यहाँ जग्गा किन्न थालेका छन्।’उहाँले सँगै जोडिएको लेटाङ नगरपालिकाको वार्ड नं.१ र ७ का गाउँमा अझै विद्युतीकरण हुन नसकिरहेको बेला सिंहदेवीमा लोडसेडिङ हुँदैन । सडकसँगै विद्युत र पानीको सहज आपुर्ति भएपछि सिंहदेवी र आसपासका गाउँबाट बसाई सर्ने क्रम पुरै रोकिएको स्थानी भीमबहादुर ठकुरीले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-११-३० , समय : १९:०२:१४ , ३ वर्ष अगाडि