सरकारको आम्दानी साढे ६९ अर्ब, खर्च दुई अर्ब १४ करोड रुपैयाँ

Enepal Patra Pvt. Ltd. , १६१९  पटक हेरिएको

काठमाण्डौ, ३ भदाै ।चालु आर्थिक वर्षको ३५ दिनमा सरकारले ६१ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउन एक गतेदेखि बुधबार ३ गतेसम्म ६१ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन र अन्य शीर्षकमा आठ अर्ब १२ करोड रुपैयाँ आम्दानी भएको छ । समग्रमा ३५ दिनमा ६९ अर्ब ५० करोड रुपैयाँ आम्दानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको लागि आठ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ । तर प्रदेश र पालिकाको एक खर्ब २२ अर्ब रुपैयाँसमेत जोड्दा सरकारको कुल राजस्वको लक्ष्य १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ हुन आउँछ ।

यस्तै सरकारले चालु आर्थिक वर्षमा ६० अर्ब ५२ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ । महालेखाका अनुसार अहिलेसम्म कुनै पनि अनुदान प्राप्त भइसकेको छैन ।

दुई अर्ब १४ करोड खर्च

३५ दिनसम्ममा सरकारले दुई अर्ब १४ करोड रुपैयाँ खर्च गरेको छ । चालुतर्फ एक अर्ब ८९ करोड र र पुँजिगततर्फ १३ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ ११ करोड ७५ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

सरकारले चालुतर्फ नौ खर्ब ४८ अर्ब, पुँजिगततर्फ तीन खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारको खर्च र आम्दानीको दैनिक विवरण सार्वजनिक गर्दै आएको महालेखा नियन्त्रकको कार्यालयले चालु आर्थिक वर्षदेखि दैनिक विवरण सार्वजनिक गर्न छाडेको थियो । तर आलोचना भएपछि कार्यालयले फेरि दैनिक विवरण सार्वजनिक गर्न थालेको हो ।

प्रकाशित मिति: २०२०-०८-१९ , समय : १५:२२:५२ , ४ वर्ष अगाडि