नोबेल र विराटनगर महानगरले पीसीआर मेशिन खरिद गर्दै

Enepal Patra Pvt. Ltd. , ९०९  पटक हेरिएको

विराटनगर, ३१ साउन। कोरोना भाईरस (कोभिड–१९) संक्रमण जोखिम बढ्दै जाँदा विराटनगर महानगरपालिका र नोबेल मेडिकल कलेजले पीसीआर मेशिन खरिद गर्ने प्रक्रिया बढाएका छन् ।
विराटनगरमा प्रादेशिक प्रयोगशाला र कोशी अस्पतालको प्रयोगशालाले मात्रै धान्न नसक्दा महानगरले संकलन गरेका स्वाब नमूनाको पीसीआर परीक्षण र रिपोर्ट ढिलो आउने गरेपछि मेशिन खरिद गर्ने योजनामा महानगर पुगेको हो ।

नोबेल मेडिकल कलेज मेडिकल कलेज एण्ड टिचिङ अस्पतालको ल्याबले समेत पीसीआर मेशिन खरिद गरेर सरकारले तोकेको मूल्यमा सर्वसाधारणको परीक्षण गर्ने तयारी गरिरहेको छ । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार चाँडै नै नोबेलमा पीसीआर मेशिन भित्र्याउने योजना अगाडी बढिसेकको हो ।

विराटनगर महानगरमा पछिल्लो २२ दिनयता समुदायस्तरमा संक्रमण फैलिएको छ । स्थानीय सरकारले कोरोना संक्रमण व्यवस्थापनका लागि लामो समयसम्म तयारी नगरेको आलोचना समेत बढ्दै गएपछि पीसीआर मेशिन खरिद गरेर नगरवासीको स्वाब संकलन र परीक्षणको प्रवन्ध मिलाउन महानगर आफैंले मेशिन खरिद गर्ने भएको हो ।

महानगरले सार्वजानिक निजी साझेदारीको अवधारणा अनुरुप पीसीआर मेशिन खरिद गर्नेछ । कोशी अस्पतालसँगको साझेदारीमा महानगरले ल्याब सञ्चालन गर्ने गरि खरिद प्रक्रिया अगाडी बढाइएको हो । महानगरले कोशी अस्पतालकै ल्याबलाई प्रयोगमा ल्याउने योजना अगाडी सारेको छ । तर, त्यस विषयमा अन्तिम निष्कर्ष भने निकालिसकेको छैन । सञ्चालन कार्यविधिको विषयमा अझै केहि छलफल गर्न बाँकी रहेको कोशी अस्पताल स्रोतले बताएको छ ।

महानगरले दैनिक २०० सय जनाको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशालामा पठाउँदै आएको छ । आवश्यकता भने ५०० जनाको दैनिक परीक्षण गराउनु पर्ने देखिएको छ । भईरहेका ल्याबको चाप व्यवस्थापनलाई सहजीकरण गर्नका लागि पीसीआर मेशिन खरिद गर्न लागको बुझिएको छ ।

प्रकाशित मिति: २०२०-०८-१५ , समय : १४:५३:३६ , ४ वर्ष अगाडि