टमाटरको विऊ र टनेल वितरण

Enepal Patra Pvt. Ltd. , ८३५  पटक हेरिएको

डम्बर सिन्चिउरी
जाँते, २३ साउन । उत्तरी मोरङमा रहेको लेटाङ्ग नगरपालिका वडा नं. ९ को कार्यालय जाँतेले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत विनियोजित बजेट बाटै खरिद गरेर व्यावसायीक रुपमै टमाटर खेती गर्दै आएका स्थानिय कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा टमाटरको विऊ र टनेल आज एक विशेष कार्यक्रमको आयोजना गरी वितरण गरेको छ ।

वडा कार्यलय कै प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम वडाले आफ्नै आयोजनामा सम्पन्न गरेको हो । १२ सय घरधुरी भएको सो वडामा विभिन्न मापदण्ड बमोजिम छनौट भएका स्थानिय कृषकहरुलाई मात्र उक्त सामाग्री वितरण गरिएको वडाले जनाएको छ । सो सामाग्री प्राप्त गर्न कृषकले व्यावसायीक रुपमै टमाटर खेति गर्दै आएको हुनुपर्ने प्रावधान रहेकोछ । यसै गरी खेतिका लागि हाल जग्गा खाली भएको साथै टनेलका लागि टहरा निर्माण गरिसकेको अवस्था समेत हुनुपर्ने जनाईएको छ । कार्यक्रममा उल्लेखित मापदण्ड पुरा गरेका ३० जना कृषकलाई १०(६ नाप भएको टनेल वितरण गरिएको थियो भने ९० प्याकेट भारत बाट आयातित त्रिशूल जातको ८।७ ग्राम तौल भएको टमाटरको विऊ समेत वितरण गरिएको वडाध्यक्ष कृष्ण लुईटेलले बताए ।

वडाध्यक्ष भन्छन् :- टमाटर बाट मात्र वडामा वार्षिक साढे सात करोड भित्रिन्छ

वडाध्यक्ष लुईटेलका अनुसार ७ वटा टोल विकास रहेको यस वडामा अन्दाजी ५० विगाहा जमिनमा टमाटर खेती गरिदै आएको छ । विगतमा प्रति कठ्ठा ५० हजार देखि एक लाख सम्म आम्दानी गर्ने गरेका कृषकले १ सिजनमा मात्र पनि सरदर हिसाब गर्दा ७ करोड ५० लाख सम्मको आम्दानी वडामा भित्रिने गरेको छ ।
तर आम्दानीको हिसाब भने बजार भाउमा निर्धारित हुने गरेको स्थानिय टमाटर खेतिमा सक्रिय कृषक भिम सेन्दाङ्गले जनाए । कृषक सेन्दाङ्गग भन्छन् , “ विगतमा त खासै प्रकोप नबेहोरी खेति गर्ने गरेको आफुहरुले यसपाली भने फौजि किरा देखि सलह लगायत कोरोनाको समेत कहर रहेकाले उत्पादन देखि बजार भाउ समेत घट्ने देखिएको छ । यस बाट आम्दानी घट्ने सम्भावना समेत रहेको छ । त्यसैले यस पटक कृषकले लगाउने टमाटरको खेतिको क्षेत्रफल समेत३ ० देखि ४० प्रतिशत सम्म घट्ने अनुमान हाम्रो रहेको छ ।“
कार्यक्रममा कृषकलाई आई पर्ने प्राविधिक सम्बन्धि जस्तो सुकै अप्ठ्यारोका लागि आफू २४ सै घण्टा खटिरहेको तर कृषकले आफू सम्म पुग्ने गरी समस्याको जानकारी भने बेलैमा दिनु पर्ने सुझाउनु हुन्छ लेटाङ्ग नगर कृषि शाखा प्रमुख करण श्रेष्ठ । प्रमुख श्रेष्ठले खेति लगाएर ढुक्कसँग बस्दा फल नआउने तर रात दिन आफुले लगाएको बाली सम्म पुगेर त्यसको विवरण संकलन गरेर विज्ञसम्म पुर्याउने गरेको खण्डमा भने अवश्य सहि फल पाउने कार्यक्रममा मन्तव्य राख्ने क्रममा वताए ।

यसै गरी सामाग्री वितरण कार्यक्रममा वोल्दै नगर उपप्रमुख कृष्णकुमारी निरौलाले विगतमा नगरले निशुल्क सामाग्री वितरण गर्दा निकै गुनासो खेप्नु परेको तर त्यसै बाट पाठ सिकेर अहिले आएर २५ प्रतिशत सम्मको साझेदारीमा वितरण गरेको बताइन् । तर आगामि दिनमा भने नगरले ५० प्रतिशत साझेदारीमा मात्र सामाग्री वितरण गर्ने योजना लिएको छ । “विना लगानीमा कृषकले अपनत्व विना खेति गर्दा उचित आम्दानी गर्न नसकेकोले पनि नगरले सो योजना अघि सारेको उपप्रमुख निरौलाको तर्क छ।
कोरोना कहरको पुर्ण मापदण्ड अनुरुप सञ्चालन भएको उक्त वितरण कार्यक्रममा नगर उपप्रमुखको प्रमुख आतिथ्य रहेको थियो । साथै वडाध्यक्षको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई वडा सचिव प्रेम सिन्चिउरीले सन्चालन गरेका थिए ।

प्रकाशित मिति: २०२०-०८-०७ , समय : १७:१९:५५ , ४ वर्ष अगाडि