बीरेन्द्र सभागृह आधुनिक स्वरुपमा पुननिर्माण हुने

Enepal Patra Pvt. Ltd. , ४८२  पटक हेरिएको

विराटनगर, ५ साउन । विराटनगरमा रहेको एकमात्र सभागृहलाई आधुनिक स्वरुप दिइने भएको छ । विराटनगर महागनरपालिकाले बीरेन्द्र सभागृहलाई रेक्ट्रोफिडिङको विधि मार्फत आधुनिक स्वरुपमा बदल्ने प्रकृया अगाडि बढाएको हो ।

महानगरपालिकाले बीरेन्द्र सभागृह पुर्ननिर्माणका लागि नेपाल सरकारको नगर विकास कोषसँग ऋण सम्झौता गरेको छ । महानगरपालिकाले कोषबाट १२ करोड ऋण सहयोग लिएर सभागृहको पुननिर्माण अगाडि बढाएको हो ।

बीरेन्द्र सभागृह पुनर्निर्माण गर्न करिव २७ करोड लाग्ने अनुमान गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन अनुसार सभागृहको अहिलेको स्वरुपमा व्यापक परिवर्तन गरिनेछ । सभागृहलाई रेक्ट्रोफिडिङ मार्फत मर्मत गरिने छ भने सभागृह भित्र बिशिष्ट पाहुना कक्ष, सञ्चार कक्ष९मिडिया क्याबिनेट०, केन्द्रीय वातानुकुलित सुविधा (सेन्ट्रल एसी) आदिको प्रवन्ध गरिने छ ।

सभागृहलाई आधुनिक र आकर्षक बनाउन अग्रभागमा रहेको आँगनलाई आकर्षक बनाइने छ भने पछाडि तर्फको खाली ठाउँ पूर्णरुपमा उपयोग गरिने विराटनगर महागनरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । ‘हामीले सभागृहलाई आधुनिक बनाउने प्रकृया अगाडि बढाएका छौं,’ प्रमुख पराजुलीले भन्नुभयो ‘भिआइपी कक्ष, मिडिया क्याबिनेट लगायत सबै प्रकारका सुविधाहरुको त्यहाँ प्रवन्ध गरिन्छ, भिआइपी कक्ष ‘स्वीट रुम’ झैं बन्नेछ ।’

सभागृह निर्माणका लागि महानगरपालिकाले बोलपत्र आब्हानको सूचना प्रकाशित गरेर आवेदन लिइसकेको छ । ठेकेदार कम्पन्नी छान्न र सम्झौता गर्न मात्र बाँकी रहेको प्रमुख पराजुलीले जानकारी दिनुभयो । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गर्ने महानगरको तयारी छ । असार अन्तिम साता प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहितको टोली लिएर काठमाण्डौ जानु भएका पराजुलीले नगर विकास कोषसँग ऋण सम्झौता गर्नुभएको हो ।

यसै यात्राका क्रममा महानगरको टोलीले लामो समयदेखि विवादका कारण संकटग्रस्त बनेको जनता नमुना माध्यामिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा अघि बढाउने सम्झौता पनि गरेको छ । शिक्षा मन्त्रालयसँग सम्झौता गरेर जनता स्कुल सूचना प्रविधि र सिभिल इन्जिनियरिङ सम्बन्धी विषयमा पढाउने गरी बहुप्राविधिक स्कुलको स्वीकृति लिएको उहाँले जानकारी दिनुभयो । यसका लागि शिक्षा मन्त्रालयले १ करोड रुपैयाँ बजेट उपलव्ध गराउने र त्यसबाट आवश्यक ल्याब र लाइब्रेरी आदिको प्रवन्ध गर्ने महानगरपालिकाले जनाएको छ ।

यस अघि विराटनगरको आदर्श बालिका विद्यालयलाई पनि बहुप्राविधिक विद्यालयमा रुपान्तरण गरिसकिएको छ । त्यहाँ आर्किटेक्ट र अमिन विषयमा अध्यापन हुनेछ ।

यस्तै विराटनगरमा विद्युत लाइन भूमिगत गर्ने विषयमा पनि यसै वर्ष विस्तृत अध्ययन हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङसँगको छलफलमा विराटनगरमा विद्युत लाइन भूमिगत गर्न सहमति जुटेको प्रमुख पराजुलीले जानकारी दिनुभयो । त्यसबाहेक विद्युत भोल्टेजको समस्या रहेका ठाउँहरुमा भोल्टेज सुधारका लागि प्रस्ताव ल्याउन पनि घिसिङले महानगरको टोलीलाई आग्रह गर्नुभएको छ । छलफलका क्रममा लाइन भूमिगत गर्ने विषयमा यो वर्ष डिपिआर तयार पार्ने सहमति भएको थियो भने विद्युत गुणस्तर सुधार र भोल्टेज व्यवस्थापनको काम यसै वर्ष सम्पन्न गर्ने समझदारी भएको प्रमुख पराजुलीले जानकारी दिनुभयो । उहाँले यस पटकको काठमाण्डौ यात्रा महानगरका लागि निकै महत्वपूर्ण र सफल बनेको बताउनुभयो ।

प्रकाशित मिति: २०२०-०७-२१ , समय : १२:३०:४० , ४ वर्ष अगाडि