आफ्नो कमाइले ३ महिना मात्र खान पुग्नेलाई बेलबारी नगरको विशेष कार्यक्रम

Enepal Patra Pvt. Ltd. , ३४९  पटक हेरिएको

हरिप्रसाद कोइराला,
बेलबारी (मोरङ), ६ साउन । मोरङको बेलबारी नगरपालिकाले गरिवसँग नगरपालिका कार्यक्रम सञ्चालन गर्ने भएको छ । विपन्न परिवारलाई राहत सहयोग तथा सीप प्रदान गर्ने एवं सामान्य पुँजीको अभावमा जीविकोपार्जन गर्न कठिन भएका ब्यक्ति वा समुहरुलाई उद्यम शिलतामा अग्रसर गराउनका लागि नगरले १ करोड ९६ लाख ५० हजार रुपियाँ छुट्याएको छ ।
कोरोनाका कारण बैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई स्वरोजगार बनाउनका लागि नगरले १ करोड रुपियाँ विनियोजन गरेको छ । बोयर बोकाको स्रोत केन्द्र बिस्तार गर्नका लागि समेत १ करोड २५ लाख रुपियाँ नगरपालिकाले छुट्याएको नगर प्रवक्ता योगेन्द्र सुवेदीले बताउनु भयो । नगरपालिकाले आफ्नो आम्दानीले ३ महिना भन्दा बढी समय खान नपुग्ने अति विपन्न परिवारका लागि खाद्य सुरक्षा र विपत सहजताका लागि १ करोड रुपियाँ विनियोजन गरेको छ । एक वडा एक उत्पादन कार्यक्रम सफल बनाउन प्रत्येक वडाले न्यूनतम ५ लाख रुपियाँ र वडाले नै फलफुल उत्पादनमा आत्मनिर्भर बनाउन २ लाख रुपियाँ बजेट छुट्याउनै पर्ने नियम नगर सभाले नै पारित गरेको छ ।
यस्तै नगरले पशु स्वास्थ्यलाई प्रभावकारी बनाउनका लागि २२ जनालाई पशु प्राविधिक बनाउने भएको छ । नगरपालिकाले आफ्नो गौरवकै आयोजनाका रुपमा लिभ्रा कम्पनीसँगको सहकार्यमा फोहोरमैला ब्यबस्थापनको कामलाई अघि बढाउने भएको छ ।

नगरले सोमबार १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपियाँको बजेट पारित गर्दै छैठौें नगरसभा सम्पन्न गरेको हो ।

प्रकाशित मिति: २०२०-०७-२१ , समय : ०८:१७:०० , ४ वर्ष अगाडि