सुन्दरहरैंचाका ९ वटा सहकारी संस्था मर्ज हुने

Enepal Patra Pvt. Ltd. , १३७२  पटक हेरिएको

हरिप्रसाद कोइराला,
सुन्दरहरैंचा(मोरङ), ६ साउन । मोरङको सुन्दरहरैंचा नगरपालिका कार्यक्षेत्र भएका नौ वटा सहकारी संस्था बीच एकीकरण भएको छ ।
एकीकरण भएका सहकारीले आगामी असोज १ गते देखि एकीकृत कारोवार सुरु गर्ने सहमति भएको छ । २४ वटा बुँदामा सहमति गर्दै एकीकरण प्रयास सफल भएको गछिया बचत तथा ऋण सहकारी संस्था लिं का सचिव कृष्ण भुर्तेलले बताउनु भयो । एकीकृत भएको सहकारी संस्थाको नाम कनक लक्ष्मी बचत तथा ऋण सहकारी संस्था राखिएको छ । सबै सहकारी संस्थाको स्थायी लेखा नम्वर, दर्ता र कारोवार खारेज गरी असोज १ गते बाट नयाँ कारोवार सुरु हुने सचिव भुर्तेलको भनाई छ । प्रस्तावित संस्थाको समेत सचिव रहनु भएका भुर्तेलका अनुसार नौ वटा सहकारीको एकीकृत वासलात ६२ करोड रुपियाँको हुनेछ । त्यस्तै ८ हजार २ सय सदस्य हुनेछन् भने एक मुख्य कार्यालय र ६ वटा सेवा केन्द्रबाट २७ जना कर्मचारीले सदस्यलाई सेवा दिनेछन् ।
सहकारी ऐन २०७४ अनुसार आगामी असोज मसान्त भित्र एक ब्यक्तिले एउटै प्रकृतिको एक भन्दा बढी सहकारी संस्थाको सदस्य बन्न नपाउने नियमलाई लागु हुँदैछ । कानूनी ब्यवस्था नै आएपछि सहकारी बीच एकीकरण अभियान तीब्र रुपमा चलेको हो । ८ हजार २ सय सदस्यमा १ हजार ७ सय सदस्य दुई भन्दा बढी सहकारी संस्थामा सदस्य भएकोले एकीकृत सहकारी संस्थामा ६ हजार २ सय सदस्य हुनेछन् । सहकारी एकीकरण भएपछि कनकलक्ष्मी बचतको ९ करोड रुपियाँको शेयर पुँजी,७ करोडको कोष हिसाव हुनेछ ।
१७ सदस्यीय सञ्चालक समिति बनाउने प्रस्ताव गरिएको छ । जसमा ५ सय भन्दा कम शेयर सदस्य हुने संस्थाबाट १ जना सदस्य छानिने भएका छन् । १ हजारसम्म शेयर सदस्य हुने संस्थाबाट २ जना, २ हजारसम्म शेयर सदस्य हुने संस्थाबाट ३ जना र २ हजारभन्दा बढी शेयर सदस्य हुने संस्थाबाट ४ जना शेयर सदस्यले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ब्यवस्था मिलाइएको छ ।

एकीकरणको सहमतिपत्रमा सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद दाहाल, गछिया बचत तथा ऋण सहकारी संस्थाका अध्ययक्ष अर्जुंनराज अधिकारी, गुराँस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भक्ति ढकाल, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पोखरेल, न्यू नमुना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र पौडेल, पिण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्रकृष्ण श्रेष्ठ, घरआँगन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश उप्रेती र प्रारम्भ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष झमक कार्कीले हस्ताक्षर गर्नु भएको छ । ८ वटा सहकारी एकीकरणको हस्ताक्षर भएसँगै सुन्दरहरैचा १० को प्रसुन बचत तथा ऋण सहकारी संस्था पनि कनकलक्ष्मीमा एकीकरण प्रस्ताव लिएर गएको पिण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्रकृष्ण श्रेष्ठले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०७-२१ , समय : ०८:०३:३५ , ४ वर्ष अगाडि